Monday, March 10, 2014

निजी विद्यालयको शुल्क बढाउने प्याब्सनको निर्णय

  • निर्णय सर्वोच्चको आदेशविपरीत




pabson
काठमाडौं, फाल्गुन २६ - निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन)ले सर्वोच्च अदालतको आदेशविपरीत शुल्क बढाउने घोषणा गरेको छ । प्याब्सनको १२ औं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी घोषणा गरेको हो ।
'मूल्य वृद्धिसँगै सरकारले शिक्षक, कर्मचारीको तलबभत्ता वृद्धि गरेकोले निजी विद्यालयहरु पनि शुल्क बढाउन बाध्य छौं,' नवनिर्वाचित अध्यक्ष लक्ष्यबहादुर केसीले भने, 'तलब बढाउन शुल्क वृद्धिको विकल्प छैन । शैक्षिक सत्र ०७१ बाट शुल्क बढाउने छौं ।'
सर्वोच्च अदालतले ०६९ जेठमा तीन वर्षसम्म कुनै विद्यालयले शुल्क बढाउन नपाउने आदेश गरेको थियो । जसअनुसार निजी विद्यालयले ०७२ बाट मात्र शुल्क बढाउन पाउँछन् । प्याब्सनका निवर्तमान अध्यक्ष बाबुराम पोखरेलले भने सर्वोच्चले निजी विद्यालयलाई नभई सरकारलाई आदेश दिएको दावी गरे ।
सरकारले ०६२ मा पहिलो पटक निजी विद्यालयको शुल्क निर्धारण गरेको थियो । विद्यालयलाई सुविधाका आधारमा क, ख र ग श्रेणीमा विभाजन गरिएको हो । जसअनुसार सहरी क्षेत्रका ग श्रेणीका प्राथमिक तहमा ५ सय, निमाविमा ६ सय र माविमा ७ सय रुपैयाँ तोकेको थियो । त्यसयता उपत्यकाका निजी विद्यालयले प्राथमिकमा १२०, निमाविमा १०८ र मावि तहमा १४२ प्रतिशत शुल्क बढाइसकेको नेपाल अभिभावक संघक अध्यक्ष सुप्रभात भण्डारीले बताए । 'सर्वोच्चको आदेश पालना नगरी शुल्क बढाएमा निजी विद्यालयको शुल्क उठाउने कक्ष तालाबन्दी गर्न बाध्य हुनेछौं,' उनले कान्तिपुरसित भने ।
प्याब्सनले शिक्षा ऐन तथा नियमावलीमा व्यवस्था गरिएको विद्यालय वर्गिकरण र त्यसैका आधारमा गरिएको शुल्क निर्धारणको मापदण्ड अव्यवहारिक र अवैज्ञानिक रहेको दावी गरेको छ । उसले उपलब्ध भौतिक तथा शैक्षिक सुविधाका आधारमा स्वयं विद्यालय व्यवस्थापन समितिले नै शुल्क निर्धारण गर्ने भनेको छ । साथै, आफ्ना सदस्य विद्यालयहरुलाई शिक्षक, कर्मचारीलाई अनिवार्य नियुक्तिपत्र र परिचयपत्र दिन भनेको छ ।
प्याब्सनले निजी लगानीका शिक्षण संस्थाको सम्मानजनक अस्तित्व, लगानीको सुरक्षा तथा सुरक्षाको ग्यारेन्टी संबैधानिक रुपमा गरिनुपर्ने माग राखेको छ । त्यस्तै, शिक्षा ऐनभित्र निजी विद्यालय सञ्चालन सम्बन्धी विस्तृत प्रावधानसहितको छुट्टै खण्ड व्यवस्था गरिनु पर्ने माग गरेको छ ।  
केसीको नयाँ नेतृत्व बाह्रौं महाधिवेशनले लक्ष्यबहादुर केसीलाई अध्यक्षमा निर्वाचित गरेको छ । ५५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विजय सम्बाहाम्फे एवम् उपाध्यक्षमा गोविन्द लम्साल (पूर्वाञ्चल), आशिस श्रेष्ठ (मध्यमाञ्चल), लोकनाथ उपाध्याय (पश्चिमाञ्चल), हिरा चन्द (सूदूरपश्चिमाञ्चल), कृष्ण अधिकारी (काठमाडौं) र दिपीका थापा (महिला) छन् । यसैगरी महासचिव डिके ढुंगाना, उपमहासचिव राजेन्द्र बानिया, कोषाध्यक्ष ईश्वरबहादुर गुरुङ, सह-कोषाध्यक्ष उद्धव पोखरेल तथा सचिवमा विष्णुलक्ष्मी सिकर्मी, भुवनलाल श्रेष्ठ र टंक भट्टराई छन् । प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष बाबुराम पोखरेल, विशेष सल्लाहकारमा उमेश श्रेष्ठ, भोजबहादुर शाह, राजेश खड्का र सानु अमात्य रहेको प्याब्सनले जनाएको छन् । देशभरिमा आठहजारभन्दा बढी निजी विद्यालय छन् । तीमध्ये करिब छसय विद्यालय प्याब्सन सदस्य रहेको जनाइएको छ ।

0 comments:

Post a Comment