भूकम्पले रामेछापका दुई नगरपालिका र २९ गाविसका ७३ वस्ती जोखिममा परेका छन् । जिल्लाका निर्वाचित
सभासदहरुको टोलीले जोखिममा परेका बस्तीको लगत लिएका छन् । जिल्ला दैवीप्रकोप उद्धार समितिले जोखिममा रहेका बस्तीहरुको भौगर्भिक अध्ययनका लागि विज्ञ टोली पठाउनका लागि केन्द्रमा अनुरोध गरेको छ । समितिले जोखिममा परेका बस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा राख्नका लागि ठाउँ पहिचान गर्न नगरपालिका र गाविसलाई निर्देशन समेत दिएको छ । सभासदहरुले रामेछापको कुभुकास्थली गाविसको लाफ्रा, कोरन्दू, सल्लेखरी निस्तली, खिम्तीको केउरीनी विर्ता र गैरी, गागलको गोगने, गुन्सीको सिमटार, विर्ता र गुन्साल, गुप्तेश्वरको चुलेपु र ढुंगे, गुम्देलको लाहाछेवर, पेकरनास र कोरम, गेलुको जल्केनी र पेटासी, गोठगाउँका तीनवटा वडा, गौश्वाराको टेक्सिङ, तामाङदर्घा, चनखुको पाथरवुटा, चुचुरेको गर्जाङ र शिवालय, टोकरपुरको तिनकुवा पहिरो, ठोसेको ठोसेवजार, दिमीपोखरीको जांते, दुरागाउंको होपिना, नामाडिको भित्तरी मझुवा र चाचलालाई जोखिम भनेका छन् । यसैगरी पुरानागाउको बाहुनचुरा, फर्पुको ओख्रे दुधिले र मझुवा , वाम्तीको ठाडोखोला, थाप्रा र रोशी , बेथानको केउरीनी, लोप्राङ, भलवाडि र वेथान, भिरपानीको लाक्पा, भुजीको चार वटा वडा, मझुवाको चुल्ठेपानी, मन्थली नगरपालिकाको गैह्राथोक, माकादुमकको गोगनेचौर र आंगेटार, रस्नालुको सल्ले, रामेछाप नगरपालिकाको फलाटेखोला, ओख्रेनी होदिल, वादीखोला, भिरपानी र मुडाजोर, लखनपुरको डिरखानी लप्सीवोटे, सैपुको ज्यागवादी, पुलु , अमलवोटे र डुम्रे र हिलेदेविको साउने केउरीनी जोखिममा रहेको भनिएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीका अनुसार सबै क्षेत्रमा भनेको जस्तो जोखिम हो होईन भूगर्भविदहरुको परीक्षणपछि टुंगोमा पुग्ने छ । भुजि, कुभु, गैह्राथोक, केउराली, लप्सीवोट, होपिना, होदिल जलकिनी, पुलु लगाएतको स्थानमा पहिरोको उच्च जोखिम रहेको जनाईएको छ । धेरै स्थानको जमिन फाटेर धांजा परेपछि त्यस क्षेत्रका बासिन्दा आतंकित वनेका छन् । तर उनीहरुलाई हाल सम्म गाविस र नगरपालिकाले अन्यत्र बसोवासको प्रवन्ध गराएका छैनन् । केहि स्थानमा भने गाउँ भन्दा तल माथिबाट पहिरो चल्न थालेको छ ।
0 comments:
Post a Comment