नयाँ देशमा रेमिटान्स कम्पनी खोल्नेले बैंकिङ सहुलियत पाउने
१९ फागुन, काठमाडौं । वैदेशिक रोजगारीमा गएका व्यक्तिले पठाएको रकम नेपालमा परिवारका सदस्यले सहज रुपमा पाउनका लागि नेपाल सरकारले ‘पि्रपेड रेमिटान्स कार्ड’ लागू गर्ने तयारीलाई तिव्रता दिएको छ ।
यस्तो कार्डका लागि सरोकारवालासँग छलफल भई परिपत्र जारी गर्ने सम्बन्धमा टिप्पणीसमेत पेश भइसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ । रेमिटान्स कारोबार गर्न तोकिएका कम्पनीहरुले रेमिटान्सवापत संकलन गरेको रकम विदेशबाट पैसा पठाउनेको परिवारले सहज रुपमा भुक्तानी प्राप्त गर्न उनीहरुले यस्तो कार्ड प्रयोग गर्न सक्ने छन् । यो व्यवस्था चाँडै कार्यान्वयनमा आउनो राष्ट्र बैंकको दाबी छ ।
कुबेत र बहराइनको मुद्रा सटही सुविधा
यसैवीच नेपाnm राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि खुल्ला गरिएका थप देशको मुद्राको सटही सुविधा प्रदान गर्ने नीतिलाई अघि बढाउने जनाएको छ । यसक्रममा कुबेत र बहराइनको मुद्राहरुको खरिद दर तोक्ने परिपत्र भैसकेको राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मौदि्रक नीतिको अर्धवार्षिक समीक्षामा उल्लेख छ ।
नयाँ देशमा कम्पनी खोल्नेलाई सहुलियत
यसैवीच नेपालीहरु वैदेशिक रोजगारीमा संसलग्न रहेका तर रेमिटान्स कम्पनीहरुको पहुँच नपुगेका देशमा त्यस्ता कम्पनी खोल्नका लागि नेपाल राष्ट्र बैंकले प्रोत्साहन दिने नीतिलाई निरन्तरता दिने भएको छ । यसअन्तरगत मलेसिया, कतार र युएईबाहेक अन्य मुलुकका लागि त्यस्ता कम्पनी खोल्नेहरुलाई इजाजत दिने नीति नेपाल सरकारले लिएको छ ।
सरकारको नयाँ नीतिअनुसार हालै अष्ट्रेलियाबाट तीनवटा रेमिटान्स कम्पनीले काम शुरु गरेको राष्ट्र बैंकले जानकारी दिएको छ । तर, त्यस्ता कम्पनीहरु खोल्दा रेमिटान्स कम्पनीको पहुँच नभएका देशमा खोलिने कम्पनीले मात्रै बैंक ग्योन्टी रकममा सहुलियत पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
म्यानपावर कम्पनीलाई विदेशी मुद्राको सुविधा
राष्ट्र बैंकले म्यानपावर कम्पनीहरुलाई आफूले वैदेशिक रोजगारीमा पाठाएको कामदारको संख्याका आधारमा निश्चित रकम बराबरको विदेशी मुद्रा आफ्नो विदेशी मुद्रा खाताबाट खर्च गर्न दिनेबारे परिपत्र भैसकेको जनाएको छ ।
यसअन्तरगत वर्षमा सयभन्दा बढी कामदार विदेश पठाउने म्यानपावर कम्पनीहरुले २० हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने व्यवस्था छ । पुस अघिसम्म १० हजार अमेरिकी डलर खर्च गर्न सकिने व्यवस्था थियो । त्यस्तै विदेशी मुद्रामा आय-आर्जन गर्ने स्वदेशी या विदेशी व्यक्तिले नेपालमा रहेको विदेशी मुद्रा खाताबाट १० हजार अमेरिकी डलरसम्म खर्च गर्न पाउने बताइएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधनको तयारी
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनहरुमा संशोधनको तयारी भइरहेको जनाएको छ । यसक्रममा राष्ट्र बैंक ऐनको मस्यौदा नेपाल सरकारसमक्ष पेश भइसकेको छ भने वित्तीय संस्थासम्बन्धी ऐनको मस्यौदा तयार हुने क्रममा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी विनिमय अधिकार पत्र ऐन, बैंकिङ कसुरसम्बन्धी ऐन र विदेशी विनिमय नियमित गर्ने ऐनको संशोधनको मस्यौदा तयार गर्न कानून महाशाखा र नियमन विभागवीच छलफल चलिरहेको राष्ट्र बैंकले सोमबार जानकारी दिएको छ ।
0 comments:
Post a Comment