Sunday, March 2, 2014

सुकुम्बासीले भने- बरु मछौं बसेको ठाउँ छोड्दैनौं


१९ फागुन, काठमाडौं । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा बस्दै आएका सुकुमबासीलाई सरकारले हट्न दबाब दिएपछि सुकुमबासीहरू आन्दोलित भएका छन् । नहर सफाइमा समस्या परेको भन्दै नहरको दुवैतर्फको डिलमा बसोबास गर्दै आएकाको घरटहरा भत्काउने निर्णयपछि राष्ट्रियभूमि अधिकार मञ्चको अगुवाइमा आइतबारबाट सुकुमबासीहरू आन्दोलित भएका हुन् ।
आयोजनाको सुनसरीको चतरादेखि मोरङको केरौन गाविससम्मको करिब ५६ किलोमिटर नहर तथा नहर क्षेत्र अतिक्रमण गरेर बनाइएका घरटहराका कारण आयोजनाले पर्याप्त पानी आपूर्ति गर्न नसकेको बताइएको छ । घरटहराले काम गर्न गाह्रो परेको भन्दै आयोजनाले हटाउने निधो गरेको थियो । घरटहरा भत्काउने निर्णय गरेर आयोजनाले अतिक्रमित क्षेत्रको सीमांकन गर्न थालेपछि आयोजनाकोे सो निर्णयविरुद्ध आन्दोलन थालिएको हो । राष्ट्रिय भूमि अधिकार मञ्च र नेपाल बसोवास बस्ती संरक्षण समाजलगायतको भूमि अधिकारका पक्षमा काम गर्दै आएको संगठनको अगुवाइमा उनीहरूले सुनसरीको झुम्कामा प्रदर्शन गर्दै विरोध सभा आयोजना गरेको राजधानी दैनिकमा खबर छ ।
‘मरे चिहान बाँचे घर, एकता नै हाम्रो घर’ भन्ने नारासहित प्रदर्शनमा उत्रिएका २ हजारभन्दा बढी सुकुमबासीलाई सम्बोधन गर्दै सुकुमबासी अधिकारकर्मीहरूले सरकारको एकपक्षीय निर्णयको विरोध गरेका थिए । भूमि अधिकार मञ्चका क्षेत्रीय संयोजक शैलेन्द्र राईले नहरको दायाँबायाँ बसेका सुकुमबासीलाई बिनाविकल्प हटाइए जस्तोसुकै पनि आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सभामा राईका अतिरिक्त नेपाल बस्ती बसोवास संरक्षण समाजका क्षेत्रीय अध्यक्ष कुमार कार्की, नेपाल सुकुम्बासी संगठनका अध्यक्ष दीपेन्द्र दर्नाल र मानव अधिकार मञ्च सुनसरीका अध्यक्ष राम कोइरालालगायतलेबोलेका थिए ।
उनीहरूले बिनाविकल्प सुकुमबासीहरूलाई हटाउन खोजे सशक्त प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । सुकुमबासीहरूलाई उठाउनका लागि सरकार तल्लीन भएको भन्दै उनीहरूले आइतबार रिले अनशनसमेत सुरु गरेका छन् ।

0 comments:

Post a Comment