Saturday, March 1, 2014

आज घ्याल्पो ल्होसार मनाइँदै


१८ फागुन, काठमाडौं । हिमाली भेगमा बसोवास गर्ने शेर्पा समुदायले देशका विभिन्न स्थानमा आज घ्याल्पो ल्होसार (नयाँ वर्ष) मनाउँदै छन् ।
सो पर्व कहिलेदेखि मनाउन थालिएको यकिनका साथ भन्न नसकिए पनि ‘लो’ भनेको वर्ष तथा ‘सार’को अर्थ नयाँ हो । यस वर्ष उनीहरूले सर्प वर्षलाई बिदा गरी घोडा वर्षलाई स्वागत गर्छन् । हिमाली क्षेत्रका मानिसले सो पर्वमा अग्ला डाँडामा ध्वजापताका फहराउने चलनसमेत छ ।
सो समुदायले यस पर्वलाई तीन दिनसम्म विशेष महत्व दिएर मनाउने गर्छन् । शेर्पा समुदायले बुद्ध धर्ममा विश्वास राख्ने हुनाले पहिलो दिन बिहान उठेर घरमा पूजापाठ गरी र गुम्बामा गई गुरुको दर्शन तथा आशीर्वाद लिन्छन्, जसलाई लामा ‘ल्होसार’ भनिन्छ ।
दोस्रो दिन पारिवारिक जमघट तथा आफन्तसँग भेटघाट गरी मीठा मीठा परिकार पकाएर भोज खाने गरिन्छ जसलाई ‘परिवार ल्होसार’ भनिन्छ । उनीहरूले विशेषगरी जाँड, रक्सी मासु, पुलाउ, गेडागुडीलगायत खाने गर्छन् ।
तेस्रो दिन उनीहरू बुद्ध धर्मलाई रक्षा गर्ने विभिन्न धर्मपाल (भैरव, महाकाल आदि) को पूजा गर्छन् जसलाई ‘धर्मपाल ल्होसार’ भनिन्छ ।
बौद्ध ग्रन्थका अनुवादक टीका शेर्पा नयाँ सोच तथा दृष्टिकोणको विकास गरी समाजमा आफूलाई सकारात्मक रूपमा अगाडि बढाउन सो पर्व शेर्पा समुदायका लागि ठूलो उत्सव भएको बताउनुहुन्छ । सोलुखुम्बु, दोलखा, रामेछाप, सङ्खुवासभा, मुगुलगायत स्थानमा शेर्पाको बसोवास छ । नेपालको उनीहरू करिब पाँच लाखको सङ्ख्यामा रहेको बताइएको छ ।
राष्ट्रपतिको शुभकामना
राष्ट्रपति डा रामवरण यादवले घ्याल्पो ल्होसारले सबै नेपालीबीच सहिष्णुता, समझदारी र भाइचाराको भावना अभिवृद्धि गर्न ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
घ्याल्पो ल्होसार एवम् शेर्पा जातिको नयाँ वर्ष २१४१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायका नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति र समृद्धिको कामना गर्दै यस पर्वले देशका सबै चाडपर्व, भाषा, वेशभूषा, धर्म, संस्कृति र परम्पराको संरक्षण र सम्बर्द्धन गर्न हामी सबैलाई थप हौसला प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
त्यस्तै उपराष्ट्रपति परमानन्द झाले शेर्पा जातिको महान् पर्व घ्याल्पो ल्होसारका अवसरमा शुभकामना सन्देश दिँदै संविधानसभामार्फत जनचाहनाअनुसारको लोकतान्त्रिक संविधान निर्माण नै आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन् ।
उनले यस अवसरले सबै नेपालीलाई एकताबद्ध गर्दै शान्ति र समृद्धिकोे बाटोमा दृढतापूर्वक अघि बढ्न सबैलाई प्रेरित गरोस् भनी कामना गर्नुभएको छ ।

0 comments:

Post a Comment