Wednesday, March 5, 2014

शिक्षामन्त्रीले अव सामुदायिक विद्यालयमा पढाउने !


२२ फागुन, काठमाडौं । मन्त्रीहरूले भवन शिलान्यास र उद्घाटन गर्नु, वार्षिकोत्सव कार्यक्रममा सहभागी जनाउनु, पुस्तक विमोचन गर्नु, कुनै विशेष कार्यक्रममा सहभागिता जनाउनु कुनै नौलो विषय होइन । यी विषय नेपालका अधिकांश मन्त्रीको दैनिकीभित्र नै पर्छन् ।
chitralekha yadavतर, मन्त्री स्वयं विद्यालय पुगी विद्यार्थीका समस्याबारे जानकारी लिएको तपाईंहरूले सुन्नुभएको छ ? त्यो पनि विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनलाई जानकारी नै नदिई ।
नवनियुक्त शिक्षामन्त्री चित्रलेखा यादवले सामुदायिक विद्यालयको निरीक्षण र अनुगमनका नाममा कक्षाकोठामै गई विद्यार्थीका समस्या बुझ्ने भएकी छन् । यति मात्र होइन, समय भएको खण्डमा उनले विद्यार्थीहरूलाई पढाउनेसमेत भएकी छन् । लामो समय प्राध्यापन पेसामा संलग्न शिक्षामन्त्री यादवले साताको एक दिन काठमाडौं उपत्यका वा मोफसलका सामुदायिक विद्यालयमा गई विद्यार्थीसँग अन्तक्र्रिया गर्नुका साथै उनीहरूलाई पढाउने भएकी हुन् ।
शिक्षामन्त्री यादवले यो नवीनतम र उदाहरणीय कार्य जनकपुरको संकाटामोचन माध्यमिक विद्यालयबाट थालेकी छन् । कुनै पूर्वनिर्धारित कार्यक्रमविना सो विद्यालय पुगेकी मन्त्री यादवले विद्यार्थीसँग झन्डै १० मिनेट संवाद गरेकी थिइन् । विद्यार्थीले उनलाई विद्यालयमा शौचालय नभएको र नियमित रूपमा पढाइ नहुने गुनासो गरेका थिए । यद्यपि, समय अभावका कारण उनले सो विद्यालयमा विद्यार्थीलाई पढाउन भने नसकेको राजधानी दैनिकमा खबर छ । शिक्षामन्त्री यादव विनाजानकारी विद्यालय प्रवेश गरेपछि विद्यार्थी र शिक्षक अचम्ममा परेका थिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सरकारले वार्षिक रूपमा लाखौं रुपैयाँ विनियोजन गर्दै आएको भए पनि तीव्र रूपमा सुधार हुन नसक्नुको कारण पत्ता लगाउन उनले छड्के जाँच थालेकी हुन् ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न र शिक्षकलाई विद्यार्थीप्रति जिम्मेवार बनाउन सामुदायिक विद्यालयको अवलोकन र विद्यार्थीसँग संवाद गर्ने कार्यक्रम बनाएको मन्त्री यादवले बताइन् । उनले सातामा एक दिन उपत्यका वा मुलुकका विभिन्न जिल्लाका विद्यालयका विद्यार्थीसँग संवाद गर्ने योजना बनाएको सुनाइन् ।
‘मन्त्रीले नै विद्यालयबाटै शैक्षिक सुधारको अभ्यास सुरु गरेपछि विद्यार्थीको पहुँच मन्त्रीसँग पुग्नेछ, सामुदायिक विद्यालयको शैक्षिक अवस्था कस्तो छ, यसका समस्या के छन् विद्यार्थीले नै भन्नेछन्, जसबाट नीति बनाउन र कार्यक्रम लागू गर्न सजिलो हुनेछ,’ उनले भनिन् । शैक्षिक सुधार गर्न विद्यार्थीको भूमिका पनि महवपूर्ण हुने उनको जिकिर छ ।
‘मन्त्रीसँग प्राध्यापक, शिक्षक, कर्मचारी र अभिभावकको पहुँच हुन्छ तर विद्यार्थीको हुँदैन, त्यसलै मैले विद्यार्थीसँग सातामा एक पटक विद्यालयको कक्षाकोठामै प्रवेश गरेर अन्तरसंवाद गर्ने योजना बनाएको हुँ,’ उनले भनिन् । जिल्ला भ्रमणका क्रममा पनि मन्त्री यादवले विद्यालयको छड्के जाँच गर्ने छिन् ।

0 comments:

Post a Comment