मन्त्रालयले सहसचिव दंगालको संयोजकत्वमा अध्यागमन विभागका निर्देशक कमल भट्टराई र गृह मन्त्रालयका उपसचिव महेश पराजुलीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। गृह मन्त्रालयले अध्यागमन डेस्क खाली राखेको सम्बन्धमा १४ जना अध्यागमनका अधिकृतलाई एक महिनाका लागि निलम्बन गरेको छ। कर्मचारीले अध्यागमन डेस्क खाली राखेको सम्बन्धमा गृहले सहसचिव यादव कोइराला संयोजकत्वको छानबिन समिति गठन गरेको थियो।
कोइराला समितिको सुझाउका आधारमा गृहमन्त्री वामदेव गौतमले १४ कर्मचारीलाई निलम्बन गर्ने निर्णय गरेका थिए। गृहले निलम्बनमा परेका कर्मचारीबारे थप अनुसन्धान गर्न सहसचिव दंगालको संयोजकत्वमा समिति गठन गरेको हो।
समितिले बुधबार निलम्बनमा परेका १४ जनासँग बयान लिएको छ। मन्त्रालयका एक उच्च अधिकृतले भने, 'अध्यागमनका विषयमा गृहमन्त्रीज्यूले विशेष ध्यान दिनुभएको छ। त्यहाँको ल्याप्सेजबारे हामी गम्भीर रूपले अध्ययन गरिरहेका छौं।'
बयानका क्रममा कर्मचारीहरूले आफूहरूले कुनै प्रकारको हेलचेक्र्याइँ नगरेको तर निर्धारित समयभन्दा केही अघि नै विमान आएकाले त्यहाँ पुग्न ढिलाइ भएको बताएका छन्। बयानका क्रममा कर्मचारीहरूले कसैले खाजा खान गएको त केहीले शैाचालय गएको बेला अध्यागमन डेस्क खाली भएको बताएको जानकारी स्रोतले दियो। उनीहरू आफूहरूलाई निलम्बन गरेर त्यहीं काम गर्ने उपसचिव र सहसचिवलाई कुनै कारबाही नगरेको भन्दै गृह प्रशासनसँग रुष्ट बनेका छन्।
गृहले अध्यागमन कार्यालयमा हेलचेक्र्याइँ गरेको भन्दै अध्यागमनका कर्मचारी गणेशप्रसाद पोख्रेल, दत्तराज हमाल, ढुण्डीराज पोख्रेल, गणेश श्रेष्ठ, राजेन्द्र गौतम, शंकरप्रसाद भुसाल, रामचन्द्र काफ्ले, मोहनमणि घिमिरे, ध्रुवप्रसाद नेपाल, इबिलाल भण्डारी, कुलप्रसाद सापकोटा, गुरुदत्त पौडेल, दामोदर शर्मा र कृष्णप्रसाद अधिकारीलाई निलम्बन गरेको छ।
विमानस्थल अध्यागमनका कर्मचारीले हेलचेक्र्याइँ गरेको र त्यसको समयमै रिपोर्टिङ नगरेको भन्दै गृह मन्त्रालयले विमानस्थलका डीआईजी गोपाल भण्डारी र राष्ट्रिय अनुसन्धान विभागका एसएसपी राजु अर्याललाई फिर्ता बोलाएको थियो।
0 comments:
Post a Comment