इराक र सिरियामा आफ्नो नियन्त्रणमा रहेका भूभागलाई इस्लामवादी उग्रवादी समूह आईएसआईएसले छुट्टै राज्य घोषणा गरेको छ।
उक्त संगठनले आफ्ना नेता अबु बकर अल बग्दादी उक्त नयाँ राज्यको खालिफ र समग्र मुस्लिमहरुको शासक भएको घोषणा गरेको छ।
आईएसआईएस सम्बद्ध सुन्नी बिद्रोहीहरुले कब्जा गरेको टिक्रिट शहर पुन: आफ्नो नियन्त्रणमा लिन इराकी सैन्यले प्रतिरक्षा कार्वाही अघि बढाइरहेका बेला पछिल्लो घोषणा आएको हो।
इराकी सरकारले आफ्ना सैनिकहरु विद्रोहीहरुले झन्डै दुई हप्ताअघि आफ्नो नियन्त्रणमा लिएको उत्तरी शहर टिक्रीट तर्फ अघि बढिरहेको बताइरहँदा आइएसआइएसको पछिल्लो भनाई आएको हो।
घोषणा
आईएसआईएस भनिने इस्लामिक स्टेट इन इराक एण्ड अल शाम संगठनले संसारभरका इस्लामी घटकहरुलाई आफ्नो घोषणाप्रति समर्थन गर्न भनेको छ।
त्यस सम्बद्ध विद्रोहीहरुले हालै इराकको उत्तरी भाग नियन्त्रणमा लिएका थिए।

वेन्ह्यामिन नेतान्याहु, प्रधानमन्त्री, इजरायल
उनीहरुले आफ्नो संगठनको नामलाई अब इस्लामीक स्टेट अर्थात इस्लामी राज्यमात्र राख्ने बताएका छन्।
इस्लाम कानुनको कडा पालना गराउने खालिफ राज्य स्थापना गर्नु धेरै जिहादीहरुको उद्देश्य रहदैँ आएको छ।
विश्लेषकहरुले उक्त घोषणाले अल कायदाको नेतृत्व र अरबका कट्टरपन्थी शासकहरुलाई सिधा चुनौती दिएको बताएका छन्।
यसैबीच एकजना अमेरिकी सिनेटरले बीबीसीसँग कुरा गर्दै इराकमा आईएसआईएसले हासिल गरिरहेको उपलब्धिलाई इराक संकटको सबैभन्दा ठूलो चुनौती भनेकी छन्।
सिनेटको गुप्तचर हेर्ने समितीकी प्रमुख डियन फियनस्टाइनले आईएसआईएस ज्यादै शक्तिशाली रहेको भन्दै अहिले नै अमेरिकी सैनिक फिर्ता गराउनु गलत हुने बताइन्।
लडाँई
विद्रोहीहरुले कब्जा गरेका कतिपय स्थानमा हवाइ आक्रमण गरिएको छ र शहरका विभिन्न स्थानमा दुई पक्ष भिडन्त भैरहेको प्रत्यक्षदर्शी र अधिकारीहरुले बताएका छन्।
शनिबार इराकी सुरक्षा फौज र टिक्रिटमा कब्जा जमाएको घोषणा गरेका विभिन्न समूहका शसस्त्र विद्रोहीहरुवीच भएको भिडन्तमा दुवै पक्षका कयौँ घाइते भएका थिए।
उत्तरी इराक आफ्नो नियन्त्रणमा लिएका सुन्नी बिद्रोहीहरुले गएको जुन ११ तारीखमा टिक्रिट शहरमा कब्जा जमाएका थिए।
सो शहरका एक जना वासिन्दाले भने “टिक्रिटको अवस्था एकदमै खराब छ, यहाँ दुवै आईएसआईएस र सरकारी सेनाले बम खसाइरहेका छन्।”
स्वतन्त्र
"टिक्रिटको अवस्था एकदमै खराब छ, यहाँ दुवै आइएसआइएस र अल मलिकिको सेनाले बम खसाइरहेका छन्"
एक जना स्थानीयवासीको भनाई
यसैबीच इजरायका प्रधानमन्त्री बेन्ह्यामिन नेतान्याहूले उत्तरी इराकमा अलग कुर्दीस्तान राज्य स्थापना गर्ने कुरामा आफ्नो समर्थन रहेको बताएका छन्।
त्यस्तो राज्यले मध्यपूर्वमा हुने आईएसआईएस र जिहादीहरुको गतिविधी नियन्त्रण गर्ने उनको विश्वास छ।
उनले भने, “हामीले जोर्डनलाई बलियो बनाउन भैरहेका अन्तर्राष्ट्रिय प्रयासहरुको समर्थन गर्नुपर्छ र स्वतन्त्रताको पक्षमा कुर्दीशहरुले अभिव्यक्त गरेको भवनाको समर्थन गर्नुपर्छ। कुर्दहरु वीर हुन् र उनीहरु राजनीतिक स्वतन्त्रताको हकदार पनि हुन्।”
कुर्दीश लडाकूहरुले उत्तरी इराकमा हालै भएको लडाँइमा आफ्नो प्रभाव विस्तार गरेका छन् र किरकुक शहरमा नियन्त्रण कायम गरेका छन्।
सम्वाददाताहरुका अनुसार कुर्दहरुले लामो समयदेखि स्वतन्त्र राज्यको सपना देख्ने गरेका छन् तर उनीहरु सिरीया र टर्की तथा इरान र इराकबीच विभाजीत छन्।
छिमेकी टर्की र संयुक्त राज्य अमेरीका लगायतका अन्तर्राष्ट्रिय समुदाय इराकको विभाजनको विपक्षमा छन्।
0 comments:
Post a Comment