Friday, February 28, 2014

सेना, हतियार र शान्ति



Thakur Baral
तपाईं बसमा चढ्नु होस्, रेलको यात्रामा निस्कनु होस्, तथा हवाइ जहाजको यात्रामा निस्कनु होस् पाइलै पिच्छे शान्तिका नाममा हतियारधारी प्रहरी तथा सेना पाउनुहुन्छ ।
फलतः मुलकुको अत्यधिक खर्च गरीव, अनाथ तथा निरक्षर जनताको निम्ति लगानी गर्नु भन्दा सुरक्षा खर्चमा लाखौं गुणा वढी भइरहेको छ । मुलुकको आर्थिक सम्वृद्धि, स्वाथ्य, शिक्षा, आधारभूत सुविधा शोध, कृषिमा लगाइने सम्पूर्ण खर्च सेना प्रहरीमा लगाइन्छ, जसको कुनै लेखा प्रणाली पनि राख्नुपर्दैन ।
हिजो हाम्रा पूर्खा आफ्नो घरको सुरक्षाका लागि एउटा भोटे ताल्चा लगाएर वर्षौंसम्म बाहिर गएर आउँथे । उनको घर त्यही भोटे ताल्चाका भरमा सुरक्षित रहन्थ्यो । जे चल्थ्यो, त्यो विश्वासको भरमा चल्ने गर्दथ्यो । हिजो संसारमा विश्वास नै विश्वास थियो । त्यही विश्वासको जगमा सारा संसार शान्तिमय थियो । आज हतियार नै हतियार छ, तर त्रस्तताले आकूल छ यो संसार ।
युद्ध र हतियार एकदमै विपरीत शब्द हुन् । तर, विडम्वना विश्वमा यी दुबै एकै साथ हिँडेका छन् र अलग भएर वस्न सकेका पनि छैनन् । कस्तो विचित्र कहीँ बाघ र बाख्रो सँगै वाँच्न सक्छन् ? अमेरिकाका पूर्व राष्ट्रपति जो एफ केनेडीले भनेका थिए, यो दूर्भाग्यको कुरा हो कि हामी युद्धको तयारीबाट मात्र शान्ति प्राप्त गर्न सक्दछौं। दोस्रो विश्वयुद्धपछि संसारका लागि विश्व शान्ति ठूलो चिन्ताको विषय वन्यो किनकि आज पनि शीतयुद्ध, जातीय युद्ध तथा शस्त्रको होडको सिलसिला जारी नै छ ।
हाम्रा धर्मशास्त्रहरुमा पनि हतियारको छयाप्छया्प्ती प्रयोगबाट मात्र शान्ति स्थापना भएका उदाहरण प्रशस्तै पाइन्छन् । महाभारतको भिषण भिडन्तपछि यदुवंश सखाप पार्दै हतियारले शान्ति स्थापना गरेको थियो,जसलाई धर्मयुद्धको नाम दिइएको थियो त्यो कस्तो धर्म युद्ध थियो ? त्यो त मेरो बुझाइको सीमा भित्र परेन नै । दोस्रो विश्व युद्धपछि विश्वमा चलि रहेको संघर्ष रोक्न र शान्ति स्थापना गर्न एवं विकासलाई प्रवर्धन गर्ने अभिप्रायले संयुक्त राष्ट्र संघ नामक संस्था स्थापना भयो । यद्यपि यस अघि पनि प्रथम विश्वयुद्धको परिणामले नै लिग अफ नेशन स्थापना भएको थियो । यी दुवै विश्व संस्था वास्तवमा दुईवटा युद्ध विभीषिकाकै परिणति थिए । यिनीहरु विना हतियार स्थापित भएका थिएनन् ।
विगतका २० वर्षलाई मात्र अवलोकन गर्‍यौं भने पनि विश्वका प्रत्येक ठाउँमा हतियारको दम्भले मुलुकहरु खण्डित मण्डित भइसकेका इतिहासहरु साक्षी छन् । कुनै वर्ष र मुलुक हतियारको उग्र प्रयोगका कारण युद्ध चपेटामा परी अस्तव्यस्त नहोस् । कतिपय युद्धहरु अनवरत चलिरहेका छन् ।
म अमेरिका बारेको विज्ञ त होइन, तर विश्वको नाइके भएको अमेरिका वारेका साना साना समाचार आउँदा पनि त्यसप्रति ध्यान आकषिर्त हुने गर्छ । विश्वमा हतियारमा शक्तिशाली मानिने त्यो देशका धरोहर ठानिएका दुइवटा अग्ला टावरहरु क्षणभरमै ध्वस्त भएर ३ हजार भन्दा वढी निर्दोष मानिसहरुको अकालमा ज्यान गयो । भरखर मात्रै अमेरिकामा एकजना नेपाली विद्यार्थीलाई मारेर सडकमा फ्यालिएको अवस्थामा पाइयो । अमेरिकामा पनि शान्ति छैन र हतियार नै शान्तिका लागि अपरिहार्य वस्तु होइन भन्ने ज्वलन्त उदाहरण हो यो ।
भरखर मात्रै अमेरिकामा एकजना नेपाली विद्यार्थीलाई मारेर सडकमा फालिएको अवस्थामा पाइयो । अमेरिकामा पनि शान्ति छैन । हतियार नै शान्तिका लागि अपरिहार्य वस्तु होइन भन्ने ज्वलन्त उदाहरण हो यो ।
यो मनोरम विश्वमा धर्म, जात, क्षेत्र, वर्ग, पहिचान आदि विभिन्न निहूंँमा चलेका युद्धले सर्वसाधारण मानिसहरुको जीवन कष्टकर वितिरहेको छ । हजारौं अंगभंग भएर बाँच्न बाध्य बनाइएका छन् । शान्तिका नाममा संयुक्त राष्ट्र संघ विभिन्न मुलुकमा सेना पठाइरहेको छ । हतियारले लैस ती सेनाहरुको काम शान्ति स्थापना हो रे । कस्तो हाँसउठ्दो कुरो रमणीय धरती हो यो शान्तिका नाममा हतियारको होड गर्ने थलो पो बनिरहेको छ ।
मानिसहरुले के बुझ्न थालेका छन् भने शान्ति भनेको हातहतियारले सज्जित हुनु हो । एउटा गोठालो हतियार नलिई आफूलाई चरनमा सुरक्षित ठान्दैन,एउटा प्राध्यापक हतियार नलिई कलेजमा सुरक्षित ठान्दैन । एउटी महिला आफ्नै भान्सामा हतियार नलिई आफूलाई सुरक्षित ठान्दिँन । शान्तिमा कस्तो जादू छ कि मानिस हतियार नलिई शान्ति र सुरक्षा महसूस नै गर्दैन ?
धेरैजसो विकसित मुलुक आफ्नो देशमा शान्ति कायम राख्नका लागि शस्त्रास्त्रको होडवाजी गरिरहेका छन् । शस्त्र बनाउने देशहरुले आवश्यकताभन्दा बढी हतियार उत्पादन गरी अर्काे देशमा वेचविखन गर्दछन् । त्यसको कारण के हो भने ती हतियार खरिद गर्ने देशहरु वीच भिडन्त भइरहोस् र आफ्ना हतियार विक्री भइरहुन् र नाफाखोरी चलिरहोस् ।
फलस्वरुप विभिन्न मुलकुहरुमा मानिसहरुको मृत्यु भ्यागुताको भन्दा पनि सस्तो भइरहेको छ । हतियार विक्रीमा देखिएको नाफाखोरीले विश्व चारैतिर हतियारको आतंकबाट त्रसित छ । हतियारकै दम्भका कारण कैयौं मुलुकहरु अस्ताए र नयाँ मुलुक जन्मिए । लाखौं मानिसहरु हतियारकै कारण घरवारविहीन मुलुक र लुगाफाटो विहीन भएर सडक सडकमा जीवन गुजारा गरिरहेका छन् ।
युद्ध होस् वा नहोस्, आज शान्ति अत्यन्त महंगो सावित भइरहेको छ । संसारमा शान्तिका नाममा समय, शक्ति, धन, संसाधन तथा कैयौं मानिसहरुलाई बली चढाइरहेको छ । शक्तिका लागि करोडौं पशुको बली चढाउने प्रचलन त हामी धार्मिकरुपमै स्वीकार गरेर बसेका छौं । हामीलाई हतियार विनाको शान्ति हुन सक्छ भन्ने विश्वास पनि रहन छोडेको छ । प्रत्येक स्थानहरुमा शान्ति र सुरक्षाका निहूँमा हतियारवन्द दफ्तरहरु तैनाथ देखिएका छन् । घरमा होस् वा सैनिक अखडाहरुमा होस्, गाउँमा होस् वा सहरमा हरेक क्षेत्रमा सरकारले शान्तिका निहूँहरु निकालेर सेनाका हतियारवन्द सवारीहरु पठाइरहेको हुन्छ ।
मानिसका आकांक्षाहरुको वृद्धिले गर्दा मनबाट शान्ति उडेर गयो । मानिसको मन अशान्तिपूर्ण भयो जसको कारण शान्ति घरमा रहेन,गाउँमा रहेन , गाउँवाट सल्कदै गएको अशान्तिको आगो सहर सहर पुग्यो । थोपा थोपाले समुद्र वन्छ । शान्तिको थोपा चुहुन छोड्यो र अशान्तिको थोपा थोपाले गर्दा संसार विशाक्त भयो । घरमा शान्ति हुनका लागि प्रेम ,विश्वास, सहिष्णुता ,सदासयता, सम्मान, सहयोग, नम्रता आदिको आवश्यकता हुन आउँछ हामीले त्यसको विकासमा सोच्न सकेनौं ।
भौतिकताले हाम्रो जीवन अस्तव्यस्त नै वनायो । हामीमा काम, क्रोध, मोह, अहंकार, ईष्या, जलन,छलकपट, निन्दा,वेइमानी र वदलाका भावनाहरुले घर वनायो । वास्तविक शान्ति त हाम्रोभित्र आत्मामा छ ।
हामीले शान्ति वाहिर खोजिरहेछौं । भित्र छ शान्ति, बाहिरी आँखाले खोजी हिँड्छौं ? अशान्ति हाम्रो चिन्तनमा छ, हाम्रो सोचमा छ । हाम्रो अन्तर्मनमा छ । जब हाम्रो मनमा, चित्तमा अशान्तिले बास गरिरहेको छ, शान्ति कहाँ मिल्छ ? शान्ति खोज्न त चिन्तनमा, विचारमा तथा कल्पनामा नै शान्ति बस्नुपर्छ । शान्तिको खोजी हामी बन्दूकको वलमा गर्न खोज्छौं। कतै हामी बन्दूक लिएर घरबाट बाहिर निस्कन्छौं भने त्यहाँ अवश्य पनि हिंसाको खोजी भन्ने अर्थ लाग्छ । खोज्दछौं ढुंगा, पुज्दछौं ढुंगा, कहाँ ईश्वरको प्राप्ति हुन सक्छ र ? ईश्रवर खोज्न हिँड्दा त ईश्वरकै चिन्ता लिनु जरुरी हुन्छ ।
हामी विश्व शान्तिको खोजी गरिरहेका छौ भने त हतियारको होड बन्द गरिनुपर्छ,। हतियारको खेल बन्द गरिनु पर्छ । चोरीको इच्छा गर्नेले साधुको संगत गरेर कहाँ उसको अभिष्ट पूरा हुन सक्छ र ? त्यसैले शान्ति र हतियार एक अर्काका दुश्मन हुन् हामीले कुनै एउटाको रोजी गर्नै पर्छ । नत्र युद्धको विभीषिका अझै सन्सारको घाँटीमा झुण्डिरहेको पाउँछौं। पुन शान्तिका लागि मूर्दा शान्तिका लागि तेस्रो विश्व युद्धको उन्माद हेर्नै पर्ने छ, जसले विश्व वाँकी रहन्छ वा रहँदैन भविष्यले बताउने छ । यो प्रतिक्षाकै विषय बनेको छ । त्यसैले हतियारले शान्ति ल्याउन सकिन्न कि ? सोच्नेबेला आएको छ ।

0 comments:

Post a Comment