नबोलेको कुरो पत्रिकामा छापियो- गृहमन्त्री गौतम
१६ फागनु, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नेताहरुको पछिल्लो कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन् । पार्टी नेतृत्वले आफूलाई केही समययता पाखा लगाउन खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका वरिष्ठ नेता नेपाल शुक्रबारको केन्द्रीय कमिटी बैठकमा आक्रोशित रुपमा प्रस्तुत भएका हुन् ।
शुक्रबार दिउँसो पार्टी मुख्यालय बल्खुमा बसेको बैठकको शुरुमा बोल्दै नेता नेपालले ग्रान्डी अस्पतालमा डाकिएको स्थायी कमिटी बैठकबारे प्रश्न उठाएका हुन् । ‘स्वास्थ्यलाभका लागि भर्ना हुने अस्पतालमा किन बैठक डाकियो ?, अस्पताल पार्टीको बैठक बस्ने ठाउँ हो ?’, नेता नेपालले भने, ‘अस्पतालमा बैठक डाँकिदा उपचारका लागि भर्ना भएका ओली कमरेडकै स्वास्थ्यमा असर पर्यो, अस्पतालमा डाकिएको बैठक उहाँकै स्वास्थ्यका लागि गलत भयो ।’
संसदीय दलका नेता तथा स्थायी कमिटी सदस्य केपी शर्मा ओली बिरामी भएर भर्ना भएको ग्रान्डी अस्पतालमै डाकिएको स्थायी कमिटी बैठकमा अनुपस्थित भएका नेता नेपालले स्वास्थ्यलाभका लागि बस्ने ठाउँमा पार्टीको बैठक डाकिनु पार्टी नियम र पद्दति विपरीत भएको बताए ।
पार्टीले पछिल्लो समय आफूलाई सल्लाहकारमा सीमित पार्न खोजेको भन्दै वरिष्ठ नेता नेपालले आफूले सल्लाह दिनेभन्दा पनि पार्टी काममा सहभागितालाई जोड दिने बताउँदै आएका छन् । शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पनि नेपालले सोही कुरा दोहोर्याए ।
‘पार्टी मूख्यालय छाडेर अस्पतालबाट पार्टी गतिविधि गर्न खोज्ने त्यो तरिका राम्रो होइन’, नेता नेपालले बैठकमा भने, ‘कोही नेता विरामी भएर अस्पताल भर्ना हुँदा बैठक र पार्टी केन्द्र पनि त्यतै लैजाने हो भने पार्टीको नीति नियम र पार्टी मुख्यालयको के काम ?’
गौतममाथि कटाक्ष
आफू र पार्टीका केही नेताहरु बीच दुई सातायता भइरहेका आरोप-प्रत्यारोपमा केन्दि्रत हुँदै नेपालले आफूमाथि लगाइएका आरोपको प्रतिवाद गरेका थिए । पार्टी उपाध्यक्ष वामदेव गौतमप्रति लक्षित गर्दै नेता नेपालले पार्टी नेताहरु जथाभावी बोल्दै झुठा आरोपमा उत्रेकोमा पनि आपत्ति प्रकट गरेका थिए ।
आफूविरुद्ध उपाध्यक्ष वामदेव गौतमले दिएका अभिव्यक्तिको कडा प्रतिवाद गर्दै नेता नेपालले जथाभावी बोल्दै हिँड्न पार्टीका कुनै नेतालाई छुट नभएको बताए । उपप्रधान एवं गृहमन्त्री समेत रहेका उपाध्यक्ष गौतमले विहीबार मात्रै एक सार्वजनिक कार्यक्रममा बरिष्ठ नेता माधव नेपाललाई कसले कारवाही गर्ने भन्ने प्रश्न उठाएका थिए ।
नबोलेको कुरो पत्रिकामा छापियो : गौतम
बैठकमा वरिष्ठ नेता नेपालले आफूलाई लक्षित गरी आक्रोश पोखेपछि उपाध्यक्ष गौतमले बोल्दै आफ्नो बचाउ गरे । उपाध्यक्ष गौतमले आफूलाईचाँहि कारवाही मात्रै हुने तर वरिष्ठ नेता नेपाललाई चाँहि पार्टीले किन कारबाही गरेन भनी दिएको अभिव्यक्ति झूठो भएको स्पष्टीकरण दिएका थिए । ‘मैले त्यस्तो कुनै कुरा बोलेकै छैन, मैले बोलेका कुरा सञ्चारमाध्यमले बंग्याएर सार्वजनिक गरेछन्, वरिष्ठ नेता नेपाललाई मैले त्यस्तो केही भनेको छैन ।’ गौतमको भनाइ थियो ।
महाधिवेशनअघि विधान अधिवेशन गर्न माग
शुक्रबारबाट नवौं महाधिवेशनको एजेन्डामाथि छलफलमा प्रवेश गरेको एमाले केन्द्रीय कमिटीको बैठकमा बोल्दै केन्द्रीय सदस्य बेदुराम भुसालले महाधिवेशन अघि विधान अधिवेशन गर्न माग गरेका छन् ।
‘महाधिवेशन जेठ ३ मा गर्दा पार्टीको विधानमा रहेका धेरै समस्याको समाधान सम्भव छैन, विधान अधिवेशन गरेर मात्र महाधिवेशनमा जानु उपयुक्त हुन्छ’- भुसालले भने ।
बैठकमा बोल्दै अर्का केन्द्रीय सदस्य घनश्याम भुसालले पार्टीको आधिकारिक दस्तावेजलाई कम्तिमा तीन महिनाको समय छुट्याएर गाउँ कमिटीसम्म अध्ययन र छलफलका लागि लगेर मात्र महाधिवेशन जानुपर्ने बताएका छन् ।
केन्द्रीय सदस्य भुसालले जनताको बहुदलीय जनवादको आधिकारिक व्याख्या हुन नसकेको, नेपाली समाजको, चिन्तर र वर्गबारे व्याख्या नभएको बताउँदै तीन महिना गाउँसम्म पुगेर छलफल पछि महाधिवेशन ०७० साउनमा गर्न माग गरेका हुन् ।
‘बहुदलीय जनवादका प्रतिपादक मदन भण्डारीपछि पार्टी कति अघि बढ्यो ?, त्यसको समीक्षा हुन जरुरी छ’, भुसालले बैठकमा भने, ‘बहुदलीय जनवादको पनि सही ब्याख्या हुन सकेको छैन, भियतनाम र चीनसहितका देशपछि नेपालका कम्यूनिष्टहरु लोकपि्रय भएपनि पार्टीका दस्तावेजबारे प्रष्ट नभई अघि बढ्दा नेपालमा कम्यूनिष्टहरु अघि भन्दा पछि र्फकने अवस्था छ । त्यसैले दस्तावेजबारे राम्रो छलफलपछि महाधिवेशनमा जानुपर्छ ।’






0 comments:
Post a Comment