Wednesday, February 26, 2014

वामदेवको निष्कर्ष-एमाओवादी समाप्त हुन्छ, कांग्रेस मुख्य प्रतिद्वन्द्वी

Bamdev Gautam
१५ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अबका दिनमा मुलुकबाट एकीकृत नेकपा माओवादीको अस्तित्व नै समाप्त हुने निष्कर्ष निकालेका छन् । पार्टीको नवौं महाधिवेशन लक्षित राजनीतिक दस्तावेजको मस्यौदामा उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष गौतमले सो निष्कर्ष अघि सारेका हुन् ।
महाधिवेशन तयारीका सिलसिलामा स्थायी समितिका तर्फबाट २१ सदस्यीय राजनीतिक दस्तावेज लेखन समितिको संयोजकसमेत रहेका गौतमले हत्या, हिंसाको राजनीति गर्ने समूह र एमाओवादीको अस्तित्व समाप्त हुने निष्कर्षसहित आजको अवस्थाअनुसार सुध्रिएर आएमा भने ऊसँग पार्टी एकतासमेत हुन सक्ने किटानी गरेका छन् ।
आठौं महाधिवेशनयता एमाओवादीलाई उग्रवामपन्थी शक्तिका रूपमा संघर्षभन्दा मित्र शक्तिका रूपमा एकतामा जोड दिँदै आएका गौतमले नवौंका लागि तयार गरिरहेको मस्यौदामा भने अबका दिनमा उसको अस्तित्व नै समाप्त हुने घोषणा गरेका छन् । स्थायी समितिले आगामी ३ जेठका लागि महाधिवेशन मिति प्रस्ताव गरेको छ । त्यसैको तयारीका सन्दर्भमा केन्द्रीय कमिटीको बिहीबार बस्ने बैठकमा थप छलफल हुँदै छ ।
२०६२/०६३ को जनआन्दोलनको सफलतापछि नेपाली समाजको वर्तमान चरित्र र अबको कार्यभार र तदनुरूपको पार्टी संगठन निर्माणलगायतका प्रश्नमा एमालेमा केन्द्रीय सदस्य घनश्याम भुसाललगायतको एउटा समूहसँग नजिक रहेका गौतमले दस्तावेज लेखन समितिको संयोजकको हैसियतमा मस्यौदा अध्ययन गरी सुझाव लिन आफूनिकटका केन्द्रीय सदस्यहरूलाई वितरणसमेत गरिसकेको राजधानी दैनिकमा खबर छ ।
‘अब भावी दिनमा नेपाली श्रमजीवी वर्गको वास्तविक प्रतिनिधि नेकपा एमाले र नेपाली पुँजीपतिवर्गको प्रतिनिधि नेपाली कांग्रेस नै हुनेछन् । एमाओवादी र हत्या–हिंसा एवं अराजकताको राजनीतिक आधारमा टिक्न खोज्नेहरूको अस्तित्व समाप्त हुनेछ,’ गौतमले दस्तावेजको मस्यौदामा भनेका छन्, ‘त्यसमध्ये आफूलाई आजको विशेषताअनुरूप सुधार गरेर आउन सक्यो भने कम्युनिस्ट पार्टीहरूबीच एकता पनि हुन सक्नेछ ।’
उनले संघीय संरचनामा जाने हुनाले क्षेत्रीयतावादी पार्टीहरू भने केही कालसम्म अस्तित्वमा रहन सक्ने प्रक्षेपण गर्दै श्रमजीवी वर्गको प्रतिनिधित्वका रूपमा एमाले र पुँजीपति वर्गको प्रतिनिधिका रूपमा नेपाली कांग्रेस नै राजनीतिक संघर्षका मुख्य प्रतिद्वन्द्वी रहने किटानी गरेका छन् । ‘समाजवादउन्मुख सामाजिक, आर्थिक रूपान्तरणले गति लियो भने श्रमजीवी वर्ग र पुँजीपति वर्गकै प्रतिनिधि संस्था मात्र लामो समयसम्म प्रतिस्पर्धात्मक अवस्थामा रहनेछन् । यसमा नेकपा एमाले र नेपाली कांग्रेस नै लामो समयसम्म राजनीतिक संघर्षका मुख्य प्रतिद्वन्द्वी रहनेछन्,’ गौतमले भनेका छन् ।
एमालेले वर्तमान समाज अर्धसामन्ती, अर्धऔपनिवेशिक रही आएको विश्लेषण गर्दै आएकोमा गौतमले पछिल्लो जनक्रान्तिपछि पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भई वर्तमान समाजको आधारभूत चरित्रमै व्यापक फेरबदल आई पुँजीवादीकरणमा प्रवेश गरिसकेको निष्कर्ष अघि सारेका छन् । मुलुकको अर्थतन्त्रलगायत समाजको चरित्रमा व्यापक बदलाव आएको तथ्यांक पेस गर्दै गौतमले समाजवाद स्थापनाका लागि अबको कार्यभार ‘नेपाली नमुनाको समाजवाद’ कार्यक्रमसमेत अघि सारेका छन् । केन्द्रीय सदस्य भुसालसहितको समूह पनि गौतमकै निष्कर्षमा छन् । तर, गौतमले करिब तीन साताअघि सम्पन्न संसदीय दलको नेता चयनमा वरिष्ठ नेता केपी शर्मा ओलीलाई सहयोग गरेपछि भने गौतमसँगै विचार निर्माणमा संलग्न सुरेन्द्र पाण्डे, भुसाल, योगेश भट्टराई, डा. विजय पौडेल, परशुमेघी गुरुङलगायतको समूह भने अध्यक्ष झलनाथ खनाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिकिएका छन् ।
अहिले भुसालले नेपालसँगको परामर्शमा छुट्टै दस्तावेजको तयारी गरिरहेका छन् । नेपाल र उनीनिकटका नेतासँगको परामर्शमा भुसाल नेपाली समाजको आधारभूत चरित्र पुँजीवादमा संक्रमणका क्रममा रहेको भन्दै केही फरक धारणा अघि सार्ने तयारीमा छन् । उता, नेता ओलीसँग निकट सचिव शंकर पोखरेललगायतका केही नेताहरूले भने गौतम र भुसालले अघि सार्न खोजेको पछिल्ल विचारलाई खण्डन गर्दै वर्तमान नेपाली समाजको चरित्रमा त्यति ठूलो बदलाव नआएको तर्क गर्दै आएका छन् ।
‘वर्तमान राष्ट्रिय परिस्थिति र नेकपा एमालेको मार्गदिशा’ शीर्षकमा गौतमले वर्तमान राष्ट्रिय परिस्थितिका विशेषताहरू र नेकपा एमालेको कार्यभारबारे महाधिवेशन केन्द्रित दस्तावेज लेखनमा धारणा अघि सारेका हुन् । २०६२/०६३ को शान्तिपूर्ण जनक्रान्तिले राजतन्त्रसँगै सामन्तवादलाई आधारभूत रूपमा समाप्त गरेको र सांस्कृतिक क्षेत्रमा मात्रै सामन्तवादका अवशेषहरू रहेकाले नेपाली समाज पूर्ण रूपले पुँजीवादीकरण भइसकेको गौतमको ठम्याइ छ । तर, त्यो साम्राज्यवाद र वैदेशिक एकाधिकार पुँजीवादी प्रभावबाट नेपालमा दलाल र नोकरशाही पुँजीवादको प्रभुत्व कायम भएको भन्दै उनले नेपाली समाजको अग्रगतिका लागि सामन्तवादका अवशेषहरू र विशेष रूपमा दलाल र नोकरशाही पुँजीवाद मुख्य बाधक रहेको ठहर गरेका छन् । ‘यिनको अन्त्य गर्दै समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरणसहितको उत्पादन पद्धति स्थापना गर्नु यतिबेला नेपाली समाजको मुख्य कार्यभार हो । यही कार्यभारको नामकरण नेपाली विशेषतामा आधारित ‘नेपाली नमुनाको समाजवाद’ सबभन्दा उपयुक्त हुन सक्छ । यो समाजवाद नै जनताको बहुदलीय जनवादले परिकल्पना गरेको सामाजिक आर्थिक व्यवस्था हो,’ गौतमको दस्तावेज मस्यौदामा भनिएको छ ।
जनताले प्राप्त गरेका सबै राजनीतिक अधिकार पनि पुँजीवादी रहेको र पुँजीवाद सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा हिमाल, पहाड, तराईका सबै गाउँ–ठाउँ, कुना–काप्चामा पुगेको छ भन्दै गौतमले नेपालमा पुँजीवाद नपुगेको र पुँजीवादीकरण नभएको कहीं छैन भन्ने ठहरसमेत गरेका छन् ।
ज्यालामा काम गर्ने, स्वतन्त्र व्यवसाय गर्ने तथा मानसिक श्रमशक्ति मालका रूपमा बिक्री गरेर बाँच्नुपर्नेहरूको संख्या ८० प्रतिशतभन्दा धेरै रहेको, सामन्ती उत्पादन पद्धति कायम नरहेकाले सामन्त वर्ग नै अस्तित्वमा नरहेको गौतमको ठम्याइ छ । अहिले पुँजीपति वर्ग र श्रमजीवी वर्ग मात्र देशमा रहेको भन्दै गौतमले पुँजीपति वर्ग पनि दलाल, नोकरशाही र राष्ट्रिय पुँजीपतिको तीन तहमा बाँडिएको विश्लेषण गरेका छन् । समाजवादउन्मुख सामाजिक आर्थिक रूपान्तरणबाट दलाल र नोकरशाही पुँजीवाद समाप्त हुने र त्यसपछि राष्ट्रिय पुँजीवाद मात्र देशमा कायम रहने भन्दै गौतमले त्यस्तो अवस्थामा राष्ट्रिय पुँजीवाद नयाँ र नमुना समाजवादको सहयोगी शक्तिका रूपमा नै कायम गर्ने जनाएका छन् । नेपाली समाजको चरित्र तथा सामाजिक आर्थिक स्थितिमा आएको परिवर्तनका रूपमा उनले पछिल्लो जनगणनाले करिब १ करोड १७ लाख ज्यालादारी श्रममा सामेल भएको, नेपाल राष्ट्र बैंकले ५७ दशमलव ६ प्रतिशत परिवारका सदस्य वैदेशिक रोजगारमा संलग्न भएको तथ्यांक प्रकाशन गरेको, भारतका विभिन्न भागमा श्रमशक्ति बेचेर जीवन निर्वाह गर्ने करिब ४० लाख पुगेको र समग्रमा ज्यालादारी श्रम (शारीरिक तथा मानसिक) मा आधारित भई जीवन निर्वाह गर्नेहरूको संख्या करिब ७८ प्रतिशत रहेको तथ्यांक अघि सारेका छन् । यसबाट कृषिमा आश्रित हुनेहरूको संख्या कुल जनसंख्याको २२ प्रतिशतभन्दा बढी रहेको नदेखिएको भन्दै गौतमले नेपाली समाज सामन्ती तथा अर्धसामन्ती उत्पादनको सट्टा पुँजीवादी उत्पादन सम्बन्धमा बाँधिएकाले नेपाली समाज पुँजीवादी समाजमा विकसित भइसकेको गौतमले दस्तावेजमा उल्लेख गरेका छन् ।

0 comments:

Post a Comment