Wednesday, February 26, 2014

आज सेना दिवस, टुँडिखेलमा विशेष समारोह


army१५ फागुन, काठमाडौं । नेपालको प्रमुख सुरक्षा अङ्गको रूपमा रहेर गौरवमय इतिहास र परम्परा बोकेको नेपाली सेनाले आज देशभर ‘सेना दिवस’ मनाउँदैछ ।
सेना दिवसको अवसरमा नेपाली सेनाले अपराहृन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गर्दैछ ।
सैनिक मुख्यालय जङ्गी अड्डाद्वारा आयोजना हुने उक्त विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा रामवरण यादव प्रमुख अतिथिका रुपमा सहभागीता जनाउनेछन् । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रूपमा मनाउँदै आएको छ ।
सोही क्रममा सैनिक मञ्च टुँडिखेलमा शिवरात्रि परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाउन लागिएको नेपाली सेनाले जनाएको छ ।
जङ्गी अड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायतका निकायमा समेत सेना दिवसका कार्यक्रम गरिनेछ ।
नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि इतिहासका विभिन्न कालखण्डमा नेपाली सेनाले उदाहरणीय कीर्तिमानी काम गर्दै आएको ऐतिहासिक तथ्यले पुष्टि गरिआएको छ ।
नेपाली सेनाकै वीरताका कारण विगतमा अङ्ग्रेजको दबदबा रहेको अवस्थामा समेत दक्षिण एसियाका मुलुकमध्ये नेपाल मात्र उपनिवेश हुनबाट जोगिएको थियो ।
वर्तमान नेपाली सेनाको साङ्गठनिक स्वरूपको सुरुवात १८१९ सालबाट भएको र अहिले नेपाली सेनाको जनशक्ति करिब ९५ हजार छ ।
यसैबीच, वर्तमान विश्व परिवेशमा विशिष्ट पहिचान कायम गरी नेपाली सेना विश्वका जुनसुकै मुलुकमा विदेशी सेनासँग मिलेर उदाहरणीय काम गर्न सक्छ भन्ने मान्यता स्थापना गर्न सफल भएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता सन् १९५८ बाट सुरु भएकामा त्यस कार्यमा महत्वपूर्ण योगदान गरेवापत एक लाखको सङ्ख्यामा शान्ति पदक प्राप्त गर्न सफल भएको छ ।
नेपाली सेना पछिल्लो समय छिमेकी राष्ट्रको सेनाको साथसाथै विश्वका अत्यन्त शक्तिशाली मुलुकका लागिसमेत पेशागत क्षमता र दक्षता अभिवृद्धिको केन्द्रसमेत बन्दै गएको छ ।

0 comments:

Post a Comment