Thursday, February 27, 2014

वामदेवले भने- माधव नेपाललाई कसले कारवाही गर्ने ?

पछि हुने कुराबारे म अहिले केही सोच्दिन


१५ फागुन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं गृहमन्त्री वामदेव गौतमले पार्टी निर्णय विपरित बोल्दा आफू धेरै पटक कारवाहीमा परेको भन्दै स्थायी कमिटीको बैठकमा नआउने र निर्णय पनि मान्दिन भन्ने वरिष्ठ नेता माधवकुमार नेपाललाई कसले कारवाही गर्ने भनी प्रश्न गरेका छन् ।
Bamdev-Gautam उपप्रधान तथा गृहमन्त्री समेत रहेका उनले भने-’विगतमा यस्ता विषयमा म धेरैपटक कारवाहीमा परेको छु । तर, १६ वर्ष पार्टीको र १७ वर्ष संसदीय दलको नेताको जिम्मेवारी पूरा गरेको, प्रधानमन्त्री भइसकेको ब्यक्तिलाई कसले कारवाही गर्ने ?’
नेता नेपाललाई कारवाही गर्ने सोच नरहेको उनले भने-’उहाँ अध्यक्षपछि दोस्रो आसनमा बस्न हुन्छ । म चौथो आसनमा बस्ने सेरेमोनियल व्यक्तिले उहाँलाई कसरी कारवाही गर्न सक्छु र ?’ आफूलाई सरकारको नेतृत्व गर्दै पठाउने प्रस्ताव नेपालले नै गरेको, पछिल्लो समयमा सर्वसम्मत रुपमा उपप्रधान तथा गृह मन्त्रालय दिने र कांग्रेसले सहमति पालना नगरेपछि गृह नभई सरकारमा नजाने निर्णय नेपालकै उपस्थितिमा भएको भन्दै उनले मन्त्री चयनमा समेतसल्लाहमै निर्णय लिएको बताए ।
रिपोर्टर्स क्लबमा भएको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री गौतमले भने -’केपी ओली संसदीय दलको नेता बनेपछि उहाँको मलाई हेर्ने दृष्टिकोणमा फरक आएको छ ।’ आफू बाहेक सरकारमा जाने नौ जनामा पार्ने गरी नेपालले १५ जनाको नाम दिएको जानकारी दिँदै गौतमले तीनजना मन्त्री बनेको बताए ।
डीआईजीहरुलाई एआईजी बनाउन बुधबार गृहसचिव र प्रहरी महानिरीक्षकसँग बसेर छलफल गरेर प्रक्रिया सुरु गरिसकेको जानकारी दिँदै गृहमन्त्री गौतमले कानूनी प्रक्रिया पूरा गरेर छिट्टै बढुवा हुने जानकारी दिए ।
गौतमले कानून हातमा लिएर जनतालाई दुःख दिने कसैलाई पनि नछाड्ने प्रतिबद्धता ब्यक्त गर्दै गोरखा फुजेलका कुष्णप्रसाद अधिकारीको हत्यामा संलग्न र हत्याको आरोपमा सर्वोच्चद्धारा सर्वोस्वसहित जन्मकैदको फैसला सुनाईएका एमाओवादी नेता बालकृष्ण ढुङगेललाई पनि कानूनबमोजिम कारवाही गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले भने-’कृष्णप्रसाद अधिकारीको हत्यारामाथि कारवाही गर्न केही समय लाग्छ । अपराधीहरु विभिन्न आवरणमा लुकेका छन् । उनीहरुलाई बाहिर निकालेर कारवाही हुन्छ ।’ ‘बालकृष्ण ढुङ्गेल किन पक्राउ परेनन्, त्यो हेर्नुपर्छ, यस्तै अवस्था रहे केही ढिला होला तर उनीमाथि कानून अनुसार कारवाही हुन्छ-गौतमले थपे ।
शुसासनको लागि छिट्टै २३ बुँदे निर्देशन जारी हुने भन्दै उनले कानून हातमा लिनेलाई पक्राउ गरेर कारवाही गर्ने बताए । उनले भने-’म शान्ति सुरक्षा र शुसासन कायम गराउन ज्यान समेत दिन तयार छु । पहिलो पटक म गृहमन्त्री बन्दा बदनाम गराउने प्रयास भयो । अब म जोसुकैले विरोध गरे पनि कर्तब्य पुरा गर्न पछि हटदिँन, कसैसँग झुक्दिँन ।’
उपप्रधान तथा गृहमन्त्री गौतमले पार्टीभित्र वा वाहिर जोसुकै भए पनि कानून हातमा लिनेहरुलाई नछाड्ने बताए । उनले भने-अब जोसुकै गुण्डाहरु हुन्, छाडिँदैन । पछि के हुन्छ म सोच्दिँन, जे हुन्छ होस ।’

0 comments:

Post a Comment