Friday, February 28, 2014

एमाले नेताको घनिष्ठता भ्रष्ट र डनसँग


uml-top-led
१७ फागुन, काठमाडौं । संविधानसभामा दोस्रो स्थान जमाएको वामपन्थी दल नेकपा (एमाले) का नेता लाभ र पदमुखी भएको आरोप पार्टी केन्द्रीय सल्लाहकार परिषदले लगाएको छ। नेताहरुको सम्बन्ध कार्यकर्तासँग भन्दा नाफाखोर, डन, ठेकेदार, तस्कर र भ्रष्ट कर्मचारीसँग बढेको प्रति पनि परिषदले केन्द्रीय समितिको ध्यान खिचेको छ।
फागुन ९ र १० गते राजधानीमा सम्पन्न केन्द्रीय सल्लाहकार परिषदको बाह्रौं बैठकले तयार गरी जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुलाई शुक्रबार बाँडिएको सुझावपत्रमा लाभको पदमा पुग्न नेताहरु मरिहत्ते गर्ने प्रवृत्ति एमालेमा ह्वात्तै बढेको उल्लेख छ।
उपयोगिताको सम्बन्ध भन्दै उनीहरु नाफाखोर, डन, ठेकेदार, तस्कर र भ्रष्ट कर्मचारीसँग घनिष्ठता बढाउन अग्रसर रहने प्रवृत्ति झ्यांगिएको पनि सल्लाहकारहरुको ठहर छ।
‘विगतको त्यागको क्षतिपूर्तिसहित सुविधानजनक, सम्मानित जीवन बिताउने सोच र प्रवृत्ति नेताहरुमा चरमोत्कर्षमा पुगेको’ सुझावमा छ। ‘पार्टीभित्र बहस र निराकरण गर्नुपर्ने केही मुख्य मुद्दाहरु’ शीर्षक सुझावपत्र केन्द्रीय समितिलाई बुझाएको छ।
‘उनीहरु (नेता) को संगत विभिन्न प्रकृतिका नाफाखोर, डन, ठेकेदार, तस्कर, नोकरशाही, दलाल, पुँजीपति वर्ग, उच्च तहको भ्रष्ट हाकिमहरुसँग बढ्ता घनिष्ठ हुन थालेको छ,’ पहिलो बुँदामा भनिएको छ, ‘पार्टीका निम्ति उपयोगको नाममा यो संगतले घनिष्ठता ग्रहण गरेको छ।’
पार्टीलाई आवश्यकताअनुसार सल्लाह–सुझाव दिने परिषदमा पुराना नेताहरु सिद्धिलाल सिंह (संयोजक), गोपाल शाक्य, केदार न्यौपाने, शान्ता मानवीलगायत छन्। ठूला घरानिया र धनाढ्यलाई शासन सञ्चालन गर्ने ठाउँमा पुर्याउने काम लामो समयदेखि हुँदै आएको पनि कमजोरीका रुपमा औंल्याइएको नागरिक दैनिकमा खबर छ।
‘मोटो चन्दा, नेताहरुलाई विशिष्ट सहयोगजस्ता कुरालाई सांसदको मापदण्ड बनाउन थाल्नुले यो कुरा स्पष्ट हुन्छ, सल्लाहकारहरुको ठम्याइ छ, ‘पार्टीको वर्ग–दृष्टिकोणमा ह्रास आएकै कारण वर्तमान चुनाव प्रणाली (प्रत्यक्ष वा समानुपातिक) महँगो साबित भएको छ र यस्तो प्रणालीबाट श्रमजीवी जनताको योग्य र असल छोराछोरी राजकीय निकायमा पुग्न नसक्ने वातावरण निर्माण भएको छ।’
प्रत्यक्षतर्फ उम्मेदवार हुन धनाढ्य हुनुपर्ने र समानुपातिकतर्फको उम्मेदवार हुन पनि धनाढ्य वा निश्चित नेताको सहयोग हुनुपर्ने मापदण्ड बनेकोमा सल्लाहकारहरुको चिन्ता छ।

0 comments:

Post a Comment