१७ फागुन, लहान । तराईका जिल्लामा दाइजोको मारमा धे धनी के गरिब, के गाउँ के सहर हरेक ठाउँमा छोरीको बिहेमा दाइजो दिनैपर्ने अनिवार्य भएको छ । देखासिखीमा दाइजो नलिने समुदाय पनि दाइजो माग्न थालेका छन् । छोरी, बिहिनीको बिहे गर्न कि त जग्गा बेच्नु परेको छ, कि त विदेश गएर कमाएर दाइजो दिनुपरेको छ ।
शिक्षितहरुको संख्या बढेपछि दाइजो घट्ने आशामा रहेकाहरु दाइजो झनै बढ्दा निराश हुन पुगेका छन् । छोरीको बिहेका दाइजो दिनैपर्ने भएकाले छोरीको पढाइमा खर्च गर्न अभिभावक हिचकिचाइरहेका छन् । संस्कार र संस्कृतिको रुप लिन थालेकाले यसको नियन्त्रणमा आवश्यक सरकारी प्रयास हुनुपर्ने आवश्यकता औल्याइएको छ ।
ब्रम्हान गोडछाडी रामदेव महतोका अनुसार पहिलो ५० हजारमा हुने बिहे अहिले दुई लाखमा पुगेको छ । दाइजो नलिने दलित समुदाय पनि दाइजो माग्न थालेका छन् भने थारु र दनुवार समुदाय पनि यसको सिकार हुन पुगेका छन् । महतोका अनुसार एकपटक विदेशबाट कमाएर आउने छोराको बिहेका तीनदेखि पाँच हजार दाइजो दिनुपरेको छ भने कर्मचारी भएका दुलाहा खोज्न दश लाखदेखि पच्चीस लाखसम्म दाइजो अनिवार्य नै भएको छ ।
लहान नगरपालिका २ का शिक्षक राम औतार गुप्ता भन्छन् छोरीलाई पनि छोरासरह नै पढाउने धैरै अभिभावकमा चेत आए पनि पढाए त्यति नै दाइजो दिनुपर्ने भएकाले पढाउन हिच्चकिच्चाहट हुने अवस्था छ । हाम्रो पालामा यति दाइजो थिएन । मैले आफ्नै बिहेका दाइजो दिएको छैन, तर अव आफ्ना छोरीहरुको बिहे गर्न समाजको चलनअनुसार व्यवहार गर्नैपर्छ । अव त अति भयो, सरकारले यसको नियन्त्रण गर्न केही उपाय अपनाउनुपर्ने उनको धारणा रहेको गोरखापत्रमा खबर छ ।
महदेवा पोर्ताहा-३ का रामबालक यादवले आफ्ना दुई बहिनीको बिहे गर्न सात वर्ष विदेशमा विताए । अब आफ्नो छोरीको बिहेका लागि फेरि विदेश जानुको विकल्प छैन् । त्यही गाउँ बस्ने अशोक यादवको भनाई पनि यस्तै रहेको छ ।






0 comments:
Post a Comment