यस्तो हुन सक्छ मूल्यवृद्धिको असर
२८ फागुन, काठमाण्डौ । किसानको आन्दोलन सम्बोधन गर्दै बुधबार दूग्ध विकास संस्थान (डिडिसी) ले प्रशोधित दूधको मूल्यवृद्धि गरेपछि उपभोक्ताहरुको ‘अर्थतन्त्र’ बिग्रिने भएको छ । अब स्ट्यान्डर्ड दूधको प्रति लिटर ५६ र फूल क्रिम दूधको मूल्य ६८ रुपैंयाँ पुगेको छ । हिजोसम्म यसको प्रतिलिटर मूल्य ५० र ६० रुपैंयाँ थियो । यो मूल्यवृद्धि अहिलेसम्मकै उच्च हो ।
आउँदो शुक्रबार अन्तर्राष्ट्रिय उपभोक्ता दिवस भव्यरुपमा मनाइँदैछ । तर, नेपाली उपभोक्ताहरुले दूधको चरम मूल्यवृद्धि सहँदै यो दिवस मनाउन बाध्य भएका छन् । डीडीसीका निमित्त महाप्रबन्धक रामतपेश्वर चौधरीले बढेको यो मूल्यको ६९ प्रतिशत रकम किसानले पाउने बताएका छन् । उनका अनुसार दूध उत्पादक किसानले प्रतिलिटर ४ रुपैंयाँ १५ पैसा पाउनेछन् भने डीडीसीले १ रुपैंयाँ ८५ पैसा पाउनेछ । यो मूल्यवृद्धि डीडीसीले मात्र सार्वजनिक गरेको हो ।
यता, मुलुककै सबभन्दा ठूलो एवं सरकारी स्वामित्वको डीडीसीले मूल्य बढाएपछि निजी डेरी उद्योगहरुले पनि बढाउने तयारी गरेका छन् । निजी डेरी उद्योग संघका अध्यक्ष एवं काठमाण्डौ डेरीका सञ्चालक प्रदीप महर्जनले निजी डेरीले पनि विहीबारबाट डीडीसीकै सरह मूल्यवृद्धि गर्ने बताए । ’हामीले पनि तिनै किसानबाट दूध किन्ने हो, भाऊ नबढाए हामीलाई दूध दिँदैनन्’ उनले अनलाइनखबरसँग भने ‘त्यही भएर हामी पनि मूल्य बढाउन बाध्य छौं ।’
किसानको आन्दोलन
दूधको लागत मूल्यअनुसार मुनाफा नपाएकोमा दूग्ध उत्पादक किसानहरुले यसअघि आन्दोलन गरेका थिए । उनीहरुले माघ १९ गते तत्कालीन मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएको थिएन । तर, सुशील कोइराला नेतृत्वको सरकारले किसानको गुनासो सुनुवाइ गर्ने वाचा गरेपछि उनीहरुले आन्दोलन रोकेका थिए । अहिले सोही सरकारी वाचाअनुसार नै मूल्यवृद्धि भएको प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले अनलाइनखबरलाई बताए ।
उपभोक्ता मर्कामा
दूधको मूल्यवृद्धिले उपभोक्ताहरु भने मर्कामा परेको विश्लेषण राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको छ । उनी यो मूल्यवृद्धिबाट ‘गाई पिट्ने, गधा पोस्ने’ काम भएको टिप्पणी गर्छन् । ’हामी नेपाली उपभोक्ता निकै सहनशील र सोझा छौं’ उनी भन्छन् ‘त्यही भएर मूल्यवृद्धि, मिसावट जेजे भए पनि खुलेर प्रतिवाद गर्दैनौं ।’
सरकार र व्यवसायीले उपभोक्ताको यही कमजोरीको फाइदा लिने गरेको महर्जनको भनाइ छ । उपभोक्ताको समेत प्रतिनिधित्व गरेका सांसदहरुले पनि यो मूल्यवृद्धिलाई कुनै मतलव नराखेकोमा उनको आपत्ति छ ।
मिसावट बढ्न सक्छ
अब दूधको मूल्यवृद्धिले दूग्ध पदार्थको मूल्य पनि स्वतः बढ्ने छ भने मिसावट पनि उत्तिकै बढ्ने देखिएको छ । बढ्दो मूल्यसँगै उपभोग घट्न सक्ने भएकाले पनीर, घिउ, मिठाइजस्ता सबैखाले दूग्ध पदार्थको तौल घटाउने तथा मिसावट बढाउने ‘हर्कत’ देखिने महर्जन बताउँछन् । त्यस्तै, बासी मिठाइ, अखाद्य रङ्ग, कडा ‘पि्रजर्भेटिभ’ हरुको प्रयोग बढ्ने पनि उनी बताउँछन् । ‘यसबाट आर्थिक नोक्सानी र उपभोक्ताको स्वास्थ्य दुबैमा प्रतिकूल असर पर्नेछ’ उनले टिप्पणी गरे ।
दानाको भाऊ बढ्न सक्ने
त्यस्तै, दूधको बढ्दो मूल्यसँगै दानाको भाउ पनि वृद्धि हुने देखिएको छ । चितवनस्थित एक दाना उद्योग सञ्चालकले दानाको मूल्यवृद्धि हुन सक्ने बताए । ‘कच्चा पदार्थ, इन्धन, ढुवानी र लेबर कस्टले हाम्रो पनि लागत बढिरहेको छ’ उनले भने ‘किसानले पनि राम्रो भाऊ पाउने भए, अब दानाको भाऊ पनि बढ्न सक्छ ।’
राज्यलाई फाइदा
यता, दूधको मूल्यवृद्धिले उपभोक्ताहरु शोषणमा परे पनि राज्यलाई भने फाइदा हुने भएको छ । किसानले बढी मूल्य पाउने भएपछि पशुपालन र डेरी व्यवसाय प्रवर्द्धन हुन सक्नेछ । संस्थागत रुपमा पशुपालन बढ्नेछ । कूल गार्हस्थ उत्पादनको प्रमुख स्रोत कृषि भए पनि लागतअनुसार फाइदा लिन नसक्दा कृषि व्यवसाय घटिरहेको अहिलेको अवस्थामा यो मूल्यवृद्धिले राहत पुग्नेछ । कूल गार्हस्थ उत्पादनको प्रमुख स्रोत कृषि भए पनि लागत अनुसार फाइदा लिन नसक्दा कृषि व्यवसाय घटिरहेको अहिलेको अवस्थामा यो मूल्यवृद्धिले राहत पुग्नेछ । किसान र युवा समुदाय पशुपालनमा आकषिर्त हुनेछन् । यसले कूल गार्हस्थ उत्पादनमा कृषि योगदान थपिनेछ ।
घाटाको व्यापार ठानिएको पशुपालनमा बैंक र वित्तीय लगानी वृद्धि हुनसक्नेछ । कुखुरापालन, अन्न खेतीजस्ता जोखिमपूर्ण कृषि व्यवसायबाट दूग्ध व्यवसायमा किसानहरुको आकर्षण बढ्नेछ । यसबाट वर्षेनी भारतबाट बढिरहेको दूध आयातको परिमाण कम हुनसक्नेछ । दूध आयात प्रतिस्थापनबाट वर्षेनि अर्बौं रुपैंयाँ जोगिनेछ ।
यसरी पशुपालन र दूधको मूल्यसँगै राज्यको कूल गार्हस्थ उत्पादन (जिडिपी) पनि बढ्नेछ । जिडिपीको वृद्धिले राज्यको ढुकुटी बढ्दा कर्मचारीको व्ययभार थेग्न सरकारलाई राहत पुग्छ । ‘मूल्यवृद्धिसँगै तलब बढाउने सरकारी रणनीति छ’ अर्का एकजना सचिव भन्छन् ।
0 comments:
Post a Comment