Tuesday, March 11, 2014

गुण्डागर्दीविरुद्ध कडाइका साथ प्रस्तुत हुन गृहमन्त्रीको निर्देशन


२७ फागुन, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गुण्डागर्दी गर्नेविरुद्ध कडाइकासाथ प्रस्तुत हुन निर्देशन दिएका छन् ।
प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि प्रहरी अधिकारीहरुलाई निर्देशन दिँदै उनले गुण्डागर्दी तथा दादागिरीमार्फत कानुन हातमा लिने प्रवृत्तिविरुद्ध प्रहरी कडाईकासाथ लाग्नुपर्ने बताए । दण्डहिनता अन्त्य र कानुनको कार्यान्वयनका लागि अलि बढी हिम्मत र साहसका साथ अगाडि बढ्न निर्देशन दिँदै उनले अवाञ्छित गतिविधिहरु नियन्त्रण गर्नका लागि गृहमन्त्रालयका तर्फबाट पूर्ण साथ र सहयोग रहने बताए ।
गृहमन्त्री गौतमले नेपाल प्रहरी विगतमा भन्दा धेरै सुदृढ भएको पाएको भन्दै सैद्धान्तिक र नीतिगत सुदृढिकरण गर्न धेरै कुरामा सुनिश्चित भएको र छिट्टै कार्यान्वय गरिने बताए । यसका लागि गृहमन्त्रालयको तर्फबाट साधनस्रोतको व्यवस्था, कानुन परिमार्जन, अधिकार क्षेत्र निर्धारण लगायतको व्यवस्था गर्न तथा प्रहरी संगठनलाई एउटा प्रणालीमा चलाउने प्रक्रियामा लैजान आफू तयार रहेको उनले बताए ।
गृहमन्त्री गौतमले राम्रो कामलाई पुरस्कार र गल्ती गर्नेलाई सजाय हुने र त्यो प्रक्रिया पदोन्नतीमा पनि लागू हुने बताए ।
गृहसचिव जर्नादन नेपालले बढ्दो प्रविधि तथा बैज्ञानिक उपकरणहरु तथा संचार क्षेत्रको बिकासले गर्दा अपराध अनुसन्धान तथा नियन्त्रणमा थप चुनौतिहरु थपिएको भन्दै अपराधहरुको रोकथामका निमित्त प्रहरी संगठनलाई प्रविधियुक्त बनाउँदै लैजानु पर्नेमा जोड दिए ।
समारोहमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले स्रोत साधनको अभाव, अपराधमा आएको विविधता र प्रविधिको उपयोग जस्ता चुनौतीहरुले काममा अवरोध सिर्जना गरेपनि यस्ता अवरोध र समस्या चिर्दै अगाडि बढ्ने सामथ्र्य नेपाल प्रहरीले राख्ने बताए । संगठनभित्रका सदस्यहरुले आफूलाई समानता र न्याय पाएको अनुभूति गर्न सकेनन भने त्यसको प्रत्यक्ष मार जनतालाई पर्ने भन्दै उनले आफैं अभाव, अन्याय, विभेद र थिचोमिचोमा परेको प्रहरीले जनतालाई न्याय दिने कल्पनासम्म गर्न नसकिने बताए ।

0 comments:

Post a Comment