राष्ट्रसंघीय मिसनमा जाने सैनिकको संख्या एक लाख नाघ्यो
२७ फागुन, काठमाडौं । नेपाली सेनाले दक्षिणी सुडानमा संयुक्त राष्ट्रसंघीय शान्ति मिशनको डेपुटी फोर्स कमान्डरको जिम्मेवारी पाएको छ । विभिन्न मुलुकका सैन्य अधिकारीवीच भएको प्रतिस्पर्धाबाट जीत हात पारेपछि उक्त जिम्मेवारी सम्हाल्न नेपाली सेनाका सहायक रथी रमेशकुमार पुन दक्षिणी सुडानतर्फ लागेका छन् ।

दक्षिणी सुडानको यही मिसनमा कार्यरत रहेका बेला कर्णेल कुमार लामा बेलायतमा पक्राउ परेका थिए । नेपाली सेनाको अन्तरराष्ट्रिय छवि धुमील भएको गुनासो आइरहेका बेला जर्नेल पुनले कुमार लामाले सम्हालेको भन्दा अझै माथिल्लो जिम्मेवारी पाएका छन् । राष्ट्रसंघको छनोटमा परेपछि नेपाली सेनाले आफ्नो गौरवमय छवि पुनस्थापित गरेको सैन्य स्रोतले बताएको छ ।
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापना कार्यका लागि खटिने फोर्सको डेपुटी कमान्डर जितेपछि आफ्नो जिम्मेवारी सम्हाल्न सहायक रथी पुन मंगलबार दिउँसो त्यसतर्फ लागेका हुन् ।
मिसनमा जाने सैनिकको संख्या एक लाख नाघ्यो
शान्ति मिसनमा जाने नेपाली सैनिकको संख्या एक लाख नाघेको छ । अफ्रिकी मुलुकमा शान्ति मिसनमा जान थालेको ५५ वर्षको अवधिमा विभिन्न ४० वटा छुट्टाछु्टै मिसनवाट अहिलेसम्म करिव एक लाख ५ सय ५० पुगेको नेपाली सेनाले जनाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न १३ वटा मिशनहरूमा अहिले ३ हजार ८ सय ५४ शान्ति सैनिकहरू कार्यरत छन् ।
यसैवीच शान्ति स्थापनार्थ लेबनान र सिरियामा जान लागेका सैनिकहरुका लागि पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा दिइएको तालिमको मंगलबार प्रधान सेनापति गौरबसमशेर जबराले समापन गरेका छन् ।
0 comments:
Post a Comment