५ चैत, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलनरत विद्यार्थीले आज उपत्यका बन्द आह्वान गरेका छन् । बन्दका बेला गुडाउन लागेको भन्दै विद्यार्थीले पुरानो बसपार्कमा एउटा बसमाथि आगजनी गरेका छन् । काठमाडौं दोलालघाट गुड्ने बा २ ख ८७९ नम्बरको जुगल यातायातको बसमा केहिबेर अघि आगजनी भएको हो । आगजनीबाट बसको भित्रीभाग जलेको छ भने दमकलले आगो नियन्त्रणमा लिएको छ ।
उक्त बस दोलालघाट जाने तयारीमा बसपार्कमा रोकिराखेको अवस्थामा थियो ।
बन्दका कारण राजधानीमा सामान्य रुपमा मात्र सवारीका साधन सञ्चालन भइरहेका छन् ।
बन्द गराउँदै हिँड्नेक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मालगायतका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नेताहरुलाई कलमपोखरी प्रहरी वृत्तमा राखिएको छ ।
यसैगरी बन्द आह्वान गर्दै हिँडेका अखिल क्रान्तिकारीका विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वरमा बन्द गराउँदै हिँडेका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुशील खनाल, धीरज खनाल, रत्न बूढा तथा अन्य भीम आचार्य, जीतेन्द्र गौतम, निरञ्जन गैरेलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
0 comments:
Post a Comment