३ चैत, चटगाउँ । ट्वाटी–२० विश्वकप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले मंगलबार घरेलु टोली बंगलादेशको सामना गर्दैछ । नेपालले टेष्ट राष्ट्रसँग औपचारिक खेल खेल्न लागेको यो पहिलो पटक हो ।
नेपाली समय अनुसार साँझ सवा ७ बजे चटगाउँस्थित जहारु अहमद चौधरी स्टेडियममा हुने खेल नेपालका लागि चुनौतीसँगै ठूलो अवसर समेत हो । नेपाली टोलीका कप्तान पारसले प्रि म्याच कन्फ्रेन्समा भनेका छन्–‘यो राम्रो चुनौती हुनेछ हाम्रो लागि । टेष्ट खेल्न राष्ट्रसँग क्रिकेट खेल्ने मौका हामीले हतपत पाउँदैनौं । सक्दो प्रयास गर्ने छौं राम्रो खेल्नका लागि ।’
पहिलो खेलमा चिरप्रतिद्वन्द्वी हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गरेको नेपाल बंगलादेशविरुद्ध भने दबावमुक्त हुनेछ । अघिल्लो चरण पुग्न जित्नै पर्ने खेल हो । तर, आफू समानको देशलाई हराएकाले नेपालको रणनीति रिजल्टभन्दा पनि बंगलादेशसँग कडा प्रतिस्पर्धा गर्ने प्रयास गर्ने हुनेछ । ‘रिजल्ट भन्दा पनि आफ्नो बलियो पक्ष के हो ध्यान दिने हो’ कप्तान पारसले भनेका छन् तुलनात्मक रुपमा बंगलादेश राम्रो हो । तर, यो क्रिकेट हो, जे पनि हुनसक्छ । विश्वास छ कि हामी राम्रो गर्न सक्छौं ।’
सबै खेलाडीले आफ्नोतर्फबाट पुस गर्दै गयो भने नेपाल जित्नपनि सक्ने उनले बताए । प्रशिक्षक पुवुद्धु दशानायकले नेपालको लक्ष्य दोस्रो चरामा पुग्नु भएको भन्दै बंगलादेशविरुद्ध राम्रो खेल्ने बताए ।
चटगाउँमा घरेलु टोली बंगालादेशका समर्थक ठूलो संख्यामा उपस्थित हुनेमा कुनै शंका छैन् । हङकङविरुद्धको खेलमा भने रंगशालामा नेपाली दर्शकहरुको बाहुल्यता थियो ।
तर, विश्वकपकै लागि बनाइएको यो स्टेडियममा बंगलादेशको पहिलो खेल हुनेछ भने नेपालले पहिलो खेलमा जित हात पारेको छ । ‘घरेलु मैदान भएपनि नेपालको पक्षमा छ । हाम्रो लागि भोलि नयाँ खेल हो’ बंगलादेशका कप्तान मुसफिकुर रहिमले भनेका छन् ।
पछिल्लो समय नेपालको खेललाई हेरिरहेको भन्दै उनले मंगलबारको खेललाई सिरियस रुपमा लिएको बताए । नेपालविरुद्धको खेल महत्वपूर्ण भएको भन्दै उनले भने–‘हामीले नेपालको अभ्यास खेल हरेका छौं । छनोट चरणका खेलको भिडियो फुटेज पनि हरेका छौं ।’
ट्वान्टी-२०मा नेपाल र बंगलादेशको यो भेट पहिलो हुनेछ । अन्तराष्ट्रिय क्रिकेटमा नेपाल र बंगलादेशबीच अहिलेसम्म एक मात्र खेल भएको छ । सन् १९९६ मा भएको खेलमा नेपाल पराजित भएको थियो । उमेर समूहमा भने नेपालले जित हात पारेको छ । २००२ मा भएको यू–१९ विश्वकपको प्लेट च्याम्पियनको सेमिफाइनलमा नेपालले बंगलादेशलाई २३ रनले पराजित गरेको थियो । जुन खेलमा शक्ति गौचनले एक विकेट लिएका थिए । टोलीमा रहे पनि बसन्त रेग्मी प्लेइङ ११ मा परेका थिएनन् ।
टी–२० विश्वकपमा भने नेपाल र बंगलादेश दुबैले आफ्नो पहिलो खेल जितेका छन् । नेपालले विश्वकपको डेब्यू खेलमा हङकङलाई ८० रनले हराएको छ भने बंगलादेशले अफगानिस्तानविरुद्ध ९ विकेटको फराकिलो जित हात पारेको छ । विश्वकपमा बंगलादेशले २००७ मा वेष्टइण्डिजलाई हराएयता पहिलो पटक जित हात पारेको हो ।
0 comments:
Post a Comment