परिवार पाल्ने भरपर्दो माध्यम
ज्ञानेन्द्र खड्का
१८ फागुन, काठमाडौं । चाबहिल चोकको फुटपाथमा फिँजाइएका पसल नजिकै बाँसका र्याक मिलाउँदै थिए, ललितपुरको गोदावरीका च्याङ्बा दाइ । उनीको टोपी, कालो ज्याकेट र नेपालमै बनेको चप्पल लाएका च्याङ्बा बाँसका र्याकको भारी मिलाउन मग्न थिए ।
च्याङ्बा दाइले र्याकको भारी मिलाउँदै गर्दा यो संवाददाताले उनीतिर क्यामेरा तेस्र्याउादा मुस्काउन थाले । ‘सर केका लागि फोटो खिच्न थाल्नुभयो, हामीजस्ता गरीखाने मान्छेको ?’ उनले पत्रकारलाई प्रश्न तेस्र्याए । फोटो खिच्दाखिच्दै सडक किनारमा झारिएका र्याकलाई मिलाएर उनले आफूभन्दा दोब्बर अग्लो भारी तयार पारे ।
च्याङ्बा दाइले भक्तपुरमा बनाएका र्याक गाडीले चाबहिल चोकको सडक किनारमा झारिदिएको थियो । गोदावरी घर भए पनि उनी स-परिवार भक्तपुरमा बसेर बाँसका र्याक बनाउने काम गरेको १६ वर्ष बितिसकेको रहेछ ।
च्याङ्बा दाइको तीन पुस्ताको परिवार बाँसबाट बनेका सामग्री बनाएरै चलेको छ । ४१ वर्षीय च्याङ्बा दाइका बुबादेखि छोरोछोरीसम्म बाँससँग खेल्न पारङ्गत छन् । भक्तपुरस्थित च्याङ्बा दाइको घरमा तामा बाँसबाट र्याक, डोका, डालो र नाङ्ला समेत बन्छन् । लामा परिवारले घरैलाई सानोतिनो घरेलु उद्योग बनाएको छ ।
च्याङ्बा दाइका बुबाले बेतबाँस र निगालोबाट यस्ता सामान बनाउन सुरु गरेका थिए । ‘मैले बुबासाग संगत गर्दागर्दा यो काम सिकेको हुा, बेतबाँस र निगालो पाइन छोडे, पाइए पनि महंगो पर्छ’, च्याङ्बा दाइले सुनाए, ‘तामा बाँस भक्तपुर, ललितपु र काभ्रेमा प्रशस्त पाइने भएकाले हामीले यसैबाट र्याकसहितका सामान बनाउन थालेका हौं ।’
च्याङ्बा दाइको काम बाँस खोजेर ल्याउने र त्यसबाट तयार भएका सामग्री काठमाडौंका गल्ली-गल्लीमा डुलेर बिक्री गर्ने हो । यसमा उनका बुबा, पत्नी र छोराछोरीले निरन्तर साथ दिएका छन् । बीएमा पढ्ने छोरा तथा ११ र ९ मा पढ्ने छोरीहरुले पनि साथ दिएपछि यो परिवारको आम्दानी बढेको छ ।
‘बिहान उठेदेखि बेलुकासम्म सामग्री तयार पार्न बुबाका हात बाँसमै सल्बलाइरहेका हुन्छन्, बिहान कलेज जाने मेरा छोराछोरी दिउँसोको समयमा बाजेलाई सघाउँछन्’, च्याङ्बा दाइले भने, ‘घरधन्दा सकेर पत्नी पनि बाँसका दराज बनाउनै खटिन्छिन् ।’
च्याङ्बा दाइ भने बाँसको जोहो गर्न कहिले भक्तपुर त कहिले काभ्रेका काँठमा पुगिरहेका हुन्छन् । उनको अर्को काम हो, बाजेदेखि नाति नातिनाले बनाएका बाँसका र्याक बेच्न बजारसम्म लैजानु ।
यही व्यवसायबाट च्याङ्बा दाइको तीनपुस्ताको परिवार मजाले चलेको छ । तीनजना छोराछोरीलाई कलेजमा पढाउन सकेका छन् । ‘यही कामबाट मीठो मसिनो खान समस्या छैन, यसैबाट हाम्रो परिवार सुखका साथ चलेको छ, तीनजना छोराछोरीलाई कलेजमा पढाएको छु’, च्याङ्बा दाइले भने, ‘आफूले पढन् नसके पनि छोराछोरीलाई भने सकेसम्म धेरै पढाउने इच्छा छ ।’

लामा परिवारले बनाउने र्याकमा किताव, सानातिना भाँडा, लुगा र जुत्ता चप्पल मज्जाले राख्न सकिन्छ । ‘स्टिलको र्याक किन्न नसक्ने परिवार र विद्यार्थीहरुले खोजीखोजी किन्ने गरेका छन्’, च्याङ्बा दाइले मुस्काउादै सुनाए, ‘काठमाडौंका सडकमा डुलेर बेच्दा एउटा र्याक दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ, एक ठाउँ राखिने हुनाले कम्तिमा ५ वर्ष त पक्का टिक्छ ।’
धातुबाट बनेका सामानले धनी परिवारका किचेन रुम भरिए पनि थोरै कमाइ हुने र गरिखाने कोठा र किचेनमा बाँसका र्याकको माग कम छैन । च्याङ्बा दाइले बनाएका र्याक धेरै पसलले ठेक्कामा लिने गरेका छन् । पसलले ठेक्कामा नलिए उनी आफैं बेच्दै हिाड्छन् । ‘पसलले ठेक्का नलिएका बेला म आफैं बेच्दै हिाड्छु’, च्याङ्बा दाइले भने, ‘बेच्दै जाँदा चक्रपथ, कपन, चाबहिल, बौद्द, जोरपाटी, सुन्दरीजल र साँखुसम्म पुग्छु ।’
0 comments:
Post a Comment