Thursday, March 6, 2014

दुबईमा नेपाली महिलाको मृत्यु, नेपालीलेनै हत्या गरेको आशंका

दुबई, फागुन २१ - यूएईको दुबइमा एक नेपाली महिलाको मृत्‍यु भएको छ । एउटै कम्पनीको एउटै ब्रान्डमा काम गर्ने पुरुष सँग भएको सामान्य भनाभनले उग्र रुप लिदा महिलाको मृत्‍यु भएको हो । झगडाले उग्ररुप लिदा भएको मृत्‍युलाई हत्या भएको आशंका गरिएको छ ।

डेढ बर्ष अघि देखि यूएईमा रहेको बहुरास्ट्रिय कम्पनी अलसायाको चिज केक फ्याक्ट्रीमा काम गर्ने काठमाडौं महाराजगँजकी २५ वर्षीय रचना महर्जनको मृत्‍यु भएको हो ।
मृत्‍युको कारण हत्या वा अन्य भने अहिले सम्म खुलेको छैन ।

घटनामा सम्लग्न भएको आशकांमा झापाका सरोज शर्मालाई दुबइ प्रहरीले हिरासतमा राखेको छ । अस्पताल र प्रहरी प्रशाशनले रिपोर्ट सार्वजनिक नगरेकोले अहिले हत्यानै भएको भनेर भन्न सकिएको छैन ।

राती अबेरसम्म पार्टी मनाइरहेको अवस्थामा सँगै रहेका सरोजले महर्जनको टाउँकोमा हानेर हत्या गरेको पार्टीमा रहेका अन्यको भनाइ छ ।

राती चारबजेसम्म चलेको पार्टीमा एक्कासी रचना हराएपछि साथीहरू खोज्दै जादा सरोजले रचनालाई कुट्दै लतारिरहेको अबस्थामा फेला पारेको र  यस्तो नगर भन्दा उल्टै अन्य नेपालीसँग पनि झगडा गरेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । हामी नाच्दै गाउदै रमाइलो गर्दै थियौ तर हाम्रो आँखा छलेर  यहाँ सम्म भएको हामीले पत्तो पाएनौ रचनाकी सहकर्मीले भनिन ।

उनीहरुको भनाइ अनुसार रचनालाई माथिल्लो तल्लाको बाल्कोनी बाट फालेको वा टाउकोमा धारिलो हतियार प्रहार गरेको हुनसक्ने अनुमान छ । रक्ताम्य भएकी रचनालाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको थियो । रचनाको उपचारका क्रममा मृत्यु भएको सहकर्मीहरुले बताए । हत्या भएको भनिएको छ, तर अहिले  उनैले हत्या गरेको र के कारणले गरेको हो भन्ने केही रिपोर्ट आएको छैन । रिपोर्ट आएपछि सबै कुरा विस्तृत रुपमा आउने छ उनकै सहकर्मीले भनिन ।

उता सहकर्मीहरुले रचनाको परिवारलाई समेत खबर गरिसकेको जनाएका छन । परिवारले हत्या भएको प्रमाण हातमा नआइसकेको र उनका साथीहरुले मात्र भनेको कुराले सत्य के हो भनेर आफूहरुले थाहा नपाएकोले अन्यौलमा रहेको बताएका छन् ।हामीलाई केहि थाहा भएन,  नेपाल सरकार र युएइस्थित दूतावासलाई  चाँडो भन्दा चाँडो सत्य कुरा के हो अनुसन्धान गरिदिन अनुरोध गर्दछौं रचनाकी माइजु देवी गुरुङले भनिन् ।

महाराजगन्जनै माइती भएकी रचना डेढ वर्षअघि युएइको दुबई मलको चिज केक फ्याक्ट्रीमा काम गर्थिन । रचना गत पुसमा मात्र १५ दिनको अर्जेन्ट विदामा गएर फर्केकी थिईन् । ३ वर्षे छोरा निमोनियाका कारण विमार भएपछि उनी नेपाल गएर फर्केकी थिइन् । रचनाका श्रीमान् पनि बैदेशिक रोजगारका लागि साउदी पुगेका छन् । श्रीमतीको यस्तो घटनाले दुखित बनेका उनी नेपाल फर्कन लागेको पनि परिवारले जनाएको छ । महिलाको मृत्‍यु वा हत्या भन्ने बारे नेपाली दुतावास सगं जानकारी लिने प्रयास सफल हुन सकेन ।

0 comments:

Post a Comment