Friday, March 7, 2014

आसन्न एसएलसी

SLC
भक्तपुर, फाल्गुन २४ - प्रवेशिका (एसएलसी) परीक्षा सुरु हुन १३ दिन छँदासमेत परीक्षार्थी संख्या यकिन भएको छैन । यति नभई परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले सम्पूर्ण तयारी भइसकेको जनाएको छ ।
ल्याकत (सेन्टअप) परीक्षा हटेपछि सबैले प्रवेशिका दिन पाउने व्यवस्थाअन्तर्गत कक्षा १० मा ७५ प्रतिशत हाजिरीलाई अनिवार्य गरिएको हो । हाजिरी पुग्नेले मात्र परीक्षा दिन पाउने प्रावधानअन्तर्गत कति अयोग्य भए भन्ने विवरण अझै पनिकाले निकाल्न सकेको छैन । फारम भरेका विद्यार्थीहरू परीक्षाका तयारीमा छन् । हाजिरी नपुग्नेहरूले परीक्षा दिन नपाउने जानकारी पाएका छैनन् ।
आवेदक संख्याका आधारमै प्रश्नपत्र र उत्तरपुस्तिका छपाइ गरेर सबै ठाउँमा पुर्‍याइसकिएको छ । परीक्षा चैत ६ देखि १४ सम्म हुँदैछ ।
पनिकाले बुधबार शिक्षामन्त्री चित्रलेखा यादवलाई परीक्षार्थी संख्या टुंगो नलागेको जानकारी गराएको थियो । मन्त्रीलाई परीक्षा तयारीबारे ब्रिफिङ गर्दै उपनियन्त्रक प्रह्लाद अर्यालले भने, 'कतिपय जिल्ला शिक्षा कार्यालयहरूले हाजिरीका आधारमा अयोग्य विद्यार्थीको संख्या उपलब्ध गराएका छैनन् । त्यसैले परीक्षार्थीको संख्या यकिन भएको छैन ।'
विद्यालयहरूले अयोग्य विद्यार्थीको विवरण फागुन १० भित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा बुझाउनुपर्ने थियो । पच्चीसभन्दा बढी शिक्षा कार्यालयले उक्त म्याद गुज्रेको दुई साता बितिसक्दा पनि तथ्यांक पनिका पठाएका छैनन् । 'ताकेता गरिरहेका छौं,' अर्यालले भने, 'केही जिल्लाले अझै अयोग्य विद्यार्थीको तथ्यांक पठाएका छैनन् ।'
यस वर्ष नियमित र एक्जाम्टेड गरी ५ लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा आवेदन फारम भरेका छन् । नियमिततर्फ ४ लाख १९ हजार ३ सय ५२ र एक्जाम्टेडमा १ लाख ४६ हजार ७ सय ३३ जना छन् । गत वर्ष २० हजार विद्यार्थी अयोग्य ठहरिएका थिए । यस वर्ष त्यसकै हाराहारीमा हुन सक्ने अर्यालले बताए । गत वर्ष ५ लाख ४७ हजार १ सय ६५ विद्यार्थीले परीक्षा दिएका थिए । त्यसमा नियमिततर्फ ४ लाख ३० हजार ९९ विद्यार्थी सहभागी थिए ।
यस वर्ष १ हजार ८ सय ३६ केन्द्र निर्धारण गरिएको छ । यसै वर्षदेखि जुन विद्यालयमा अध्ययन गरेको हो, त्यसमा परीक्षा केन्द्र नराखी अन्यत्र तोकिएको छ । यो व्यवस्था हटाउनुपर्ने भन्दै एमाले सभासद भीम रावलले बिहीबार संसद्मा माग राखेका छन् । परीक्षा सञ्चालनका लागि ५३ हजार ७६ जनशक्ति परिचालन हुनेछन् । केन्द्र सुरक्षामा १८ हजार ३ सय ६० प्रहरी तैनाथ हुनेछन् ।
परीक्षा मर्यादित बनाउन सहसचिवहरू संलग्न केन्द्रीय अनुगमन समिति बनेको छ । यसअन्तर्गत मेचीमा खगराज बराल, कोशीमा लक्ष्मीराम पौडेल, सगरमाथामा दिवाकर ढुंगेल, जनकपुरमा डिल्लीराम रिमाल, वाग्मतीमा महाश्रम शर्मा र लवदेव अवस्थी, नारायणीमा कमलेशकुमार सिन्हा र गण्डकीमा देवकुमारी गुरागाईं खटिने जनाइएको छ । त्यस्तै लुम्बिनीमा गणेशप्रसाद ज्ञवाली र बाबुराम पौडेल, धौलागिरीमा सूर्यप्रसाद गौतम, राप्तीमा कमलप्रसाद पोखरेल, भेरीमा टेकनारायण पाण्डे, कर्णालीमा गणेश राई, सेतीमा देविना प्रधानांग र महाकालीमा खगेन्द्रप्रसाद नेपाल खटिनेछन् ।
तेह्रथुममा १ सय ४४ अयोग्यतेह्रथुम- हाजिरी प्रतिशत नपुगेर विभिन्न विद्यालयका कक्षा १० मा अध्ययनरत १ सय ४४ विद्यार्थी एसएलसी परीक्षाबाट वञ्चित भएका छन् । शैक्षिक सत्रमा ७५ प्रतिशत हाजिरी नपुगेकाले परीक्षाबाट वञ्चित गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र शाक्यले बताए ।
अभिभावक र विद्यार्थीको लापरबाहीकै कारण यो समस्या आएको कार्यालयले जनाएको छ । जिल्लाबाट २ हजार ८ सय ६२ विद्यार्थी परीक्षामा सामेल हुँदैछन् ।

0 comments:

Post a Comment