११ चैत, काठमाडौं । स्वाइन फ्लुको संक्रमणले बिरामीको मृत्यु हुन थालेपछि विशेषज्ञहरूले रुघाखोकी लाग्दासमेत विशेष सतर्कता अपनाउन सुझाव दिएका छन् । स्वाइन फ्लुबाट तीन जनाको मृत्यु भइसकेको छ ।
संक्रमण बढ्दै जाँदा भाइरसको संरचनामा समेत परिवर्तन आउन सक्ने सम्भावना विज्ञहरूले औंल्याएका छन् । यसप्रति उपचारका क्रममा ध्यान दिन उनीहरूले चिकित्सक र बिरामीलाई आग्रह गरेका छन् ।
रुघाखोकीको जटिल समस्या भएकालाई थप शंकासहित परीक्षण गर्नुपर्ने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका फोक्सो विशेषज्ञ प्राध्यापक अर्जुन कार्की बताउँछन् । यो एक सातामा आफैं निको हुन्छ भन्ने धारणाका पछाडि नलाग्न उनको आग्रह छ । ‘यस्ता संक्रमणले व्यक्तिलाई हानि गर्ने तथ्यांक आइसकेका छन् । अब परम्परागत भनाइ मानेर व्यवहार गर्नु हुँदैन,’ उनी भन्छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दैनिक स्वाइन परीक्षण गराउन आउने ५/६ मध्ये १/२ जनामा ‘पोजेटिभ’ देखिएको डा. गीता शाक्य बताउँछिन् ।
महामारी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बाबुराम मरासिनी भन्छन्, ‘अब रुघाखोकीमा जटिलता देखिए सिटामोल खाएर ज्वरो र दुखाइ हटाउनुभन्दा विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ महामारी विशेषज्ञ मानसकुमार बनर्जी पनि त्यस्तै सल्लाह दिएको खबर छ। भन्छन्, ‘अब यसलाई सामान्य नठानौं, जटिलता देखिए तत्काल चिकित्सकको सम्पर्कमा पुगौं, संक्रमणलाई हल्का रूपमा लिनु हुँदैन ।’
रुघाखोकी लाग्दा श्वासप्रश्वासमा समस्यालगायत असामान्य लक्षण देखिए अस्पताल जानुपर्ने डा. बनर्जी बताउँछन् । यो समस्यालाई चिकित्सकले रुघाखोकीको साटो ‘इन्फ्लुएन्जा लाइक इलनेस’ भन्नुपर्ने उनको धारणा छ ।
डा. मरासिनीका अनुसार स्वाइन सामान्य अवस्थामा कडा हुँदैन । तर केहीलाई तल्लो श्वास नली अर्थात् फोक्सोमा जटिल संक्रमण हुने भएकाले लापरबाही गर्न नहुने उनी बताउँछन् ।
0 comments:
Post a Comment