Monday, March 3, 2014

सिंगापुर बन्यो विश्वकै सर्वाधिक महँगो सहर


भारत र नेपाली सहर सस्तो


२० फागुन, काठमाडौं। सिंगापुर विश्वको सर्वाधिक महँगो सहरमा घोषित भएको छ । यो सर्वेक्षण सन् २०१३ को हो । योभन्दा अघिल्लो वर्ष सर्वाधिक महँगो सहरमा परेको टोकियोलाई सिंगापुरले सन् २०१३ मा उछिनेको हो ।
अघिल्लो वर्षभन्दा पाँच तह उक्लिएर सिंगापुर महँगो सहर बनेको इकोनोमिक इन्टेलिजेन्स युनिट (ईआईयू) ले गरेको सर्वेक्षणले देखाएको छ ।
Singaporeसर्वेक्षणले १ सय ६० भन्दा बढी उपभोग्य पदार्थ, कपडा, यातायात तथा घरायसी सामाग्रीहरुको मूल्य विश्लेषण गरेको हो । विश्वका १ सय ३१ सहर सर्वेक्षणमा सहभागी थिए ।
सिंगापुरपछि पेरिस, ओस्लो क्रमशः दोस्रो र तेस्रो भएका छन् । चौथोदेखि १० औं नम्बरमा परेका सहरहरुमा जुरिच, सिड्नी, काराकास, जेनेभा, मेल्बर्न, टोक्यो र कोपनहेगन छन् ।
न्युयोर्ककै हाराहारीमा जीवनशैली अपनाउन थालेको सिंगापुर सर्वाधिक महँगो सहर घोषित भए पनि आश्चर्य मान्नुनपर्ने सर्वेक्षक संस्थाको दावी छ । एक दशकदेखि ४० प्रतिशतले भएको मुद्राको विनिमय दर एवं मूल्यवृद्धि र दोब्बर मुद्रास्फितिले यहाँको महंगी बढेको बताइएको छ ।
उदाहरणका रुपमा, पछिल्लो १० वर्षमा एक बोतल वाइनको मूल्य १३.२५ अमेरिकी डलरबाट २५.०४ पुगेको छ । यो ८९ प्रतिशतले वृद्धि हो । बे्रडको मूल्य १ सय ५० प्रतिशतले वृद्धि भई ०.६९ डलरबाट १.७३ पुगेको छ ।
गाडी झन् महुँगो
सिंगापुरमा गाडी सञ्चालन निकै महुँगो बनेको छ । गाडी किनेपछि गर्नुपर्ने दर्ता प्रक्रिया र मर्मत सम्भार, पार्टपूर्जा पनि खर्चिलो छ यहाँ । जुन न्युयोर्कको तुलनामा ३ गुणा बढी हो ।
त्यस्तै, सिंगापुरमा विश्वस्तरका महंगा फेसन सामाग्री आयात हुने गरेको छ । यहाँका उपभोक्ता फेसनमा निकै खर्चिला छन् । स्थानीय सपिङ मल र बुटिकहरुमा युरोपियन ब्राण्डका महंगा कपडाहरु पाइन्छन् ।
एसियाली सहरः महँगो र सस्तो दुबै
top-ten-most-expensive-cities-एसियामा विश्वकै सर्वाधिक महँगो र सस्तो दुबै वर्गका सहर छन् । पाकिस्तान, भारत र नेपालका सहर सस्तो वर्गमा रहेको प्रतिवेदनका सम्पादक जोन कपस्टेक बताउँछन् । उपभोग्य मूल्यको उतारचढावको कारण एसियाली सहरको महंगी बढ्ने गरेको उनको विश्लेषण छ ।
मुम्बइ, कराँची, नयाँ दिल्ली, दमास्कस, काठमाण्डौ, अल्जियर्स, बुचरेष्ट, पनामा सिटी, जेदाह र रियाद सस्ता १० सहरमा पर्छन् । महंगी विश्लेषणमा यिनीहरु १ सय २२ देखि एक सय ३१ नम्बरमा परेका छन् ।
बढ्दो जनसंख्याको चाप भएर पनि भारतमा महंगी खासै नभएको सर्वेक्षणमा देखिएको छ । भारतको मुम्बई र नयाँ दिल्ली विश्वको सस्तो सहरको कोटीमा परेका छन् । भारतमा श्रमज्याला दर कम भएपनि राज्यले दिने सहुलियतको कारण उपभोक्ताले सस्तो जीवनयापन गर्न पाएका छन् । महंगीको मार कम खेप्नुपरेको सर्वेक्षणमा देखिएको छ ।
एसियाली सहरहरुमा उपभोग्य सामाग्रीहरुको मूल्य बढी भएको सहरमा भने टोकियो परेको छ । मनोरञ्जन सामाग्रीको मूल्यमा बढी खर्च गर्नेमा युरोपेली मुलुकका उपभोक्ता छन् । उनीहरुको आम्दानी स्तर बढी भएको हुँदा मनोरञ्जनमा खर्चालु भएका हुन् ।

0 comments:

Post a Comment