Monday, March 3, 2014

डाक्टरलाई नै थाहा छैन, गम्भीर बिरामी आए के गर्ने


२० फागुन, काठमाडौं । ‘जटिल खालको प्रसूति व्यथा लागेको बिरामी आए के गर्नु हुन्छ ? ‘रेफर’
‘ऐपेन्डिक्सका बिरामी आए के गर्नु हुन्छ ?’ ‘रेफर’
‘फोक्सो बाहिर हावा भरिएको बिरामी आए के गर्नु हुन्छ ?’ ‘रेफर’
‘टाइफाइडका बिरामी आए नि ?’ ‘रेफर’
थाइल्यान्डको महिडोल युनिभर्सिटीका प्रेसिडेन्ट, फ्याकल्टी अफ मेडिसिनका डिन, फ्याकल्टी अफ पब्लिक हेल्थका सहायक डिन र फ्याकल्टी अफ एजुकेसनको सहायक डिनसहितको टोलीलाई सन् २००९ मा मेलम्ची हेल्थ सेन्टरमा खटिएका मेडिकल अधिकृत (डाक्टर) र त्यहाँ खटिएका नर्स र उनीहरूको टोलीले दिएको जवाफ हो, यो । हेल्थ सेन्टरमा खटिएका मेडिकल अधिकृत र उनको टोलीले दिएको जवाफ थाइल्यान्डको महिडोल युनिभर्सिटीका प्रेसिडेन्टले जस्ताको तस्तै तत्कालीन स्वास्थ्य सचिव डा.दीर्घसिंह बमलाई राखेका थिए । उनले सचिवसमक्ष मेडिकल हेल्थ र पब्लिक हेल्थमा असाध्यै कमजोर रहेको र उनीहरूमा आत्मविश्वासको कमी भएको भन्दै त्यसलाई सुधार्न सल्लाह दिएको मन्त्रालयका उपसचिव डा.बाबुराम मरासिनी बताउँछन् ।
त्यस्तै, सोही समयमा जुम्ला अस्पतालमा ल्याइएका तीनजना सुत्केरीको मृत्यु भएको थियो । दुईजनाको अस्पतालमै र एकजनाको नेपालगन्ज लाने क्रममा एयरपोर्टमा मृत्यु भएपछि मन्त्रालयले त्यहाँ कार्यरत चिकित्सकलाई स्पष्टीकरण सोधेको थियो । उनले स्पष्टीकरणमा आफूलाई त्यस विषयमा पढाउँदै नपढाएको जिकिर प्रस्तुत गरेको डा. मरासिनीको भनाइ छ । माथिका दुई घटनाले नेपालको स्वास्थ्य क्षेत्रमा उत्पादन भएको जनशक्तिको आत्मविश्वास कुन स्तरको छ भन्ने कुरा स्पष्ट भएको उनका भनाइ छ । चार वर्षअगाडिका यी दुई प्रतिनिधिमूलक घटना जस्तै हालै गरिएको एक सर्वेक्षणले पनि अझै स्वास्थ्यकर्मीहरूमा आत्मविश्वास नभएको देखाएको राजधानी दैनिकमा खबर छ ।
सो सर्वेक्षणमा ग्रामीण क्षेत्रमा काम गरिरहेका १० प्रतिशत र सहरी क्षेत्रमा काम गर्ने २३ प्रतिशत स्वास्थ्यकर्मीले मात्र आफूहरूले दिने सेवामा पूर्ण आत्मविश्वास भएको बताएका छन् । देशभरका ७ सय ४७ स्वास्थ्यकर्मीलाई प्रत्यक्ष रूपमा सहभागी गराएर गरिएको सो सर्वेक्षणले आफूले बिरामीलाई दिने सेवाले बिरामीहरू सन्तुष्ट हुनेमा धेरै स्वास्थ्यकर्मीहरू विश्वस्त हुन सकेको देखिँदैन ।

0 comments:

Post a Comment