Monday, March 3, 2014

निराशाको सिकार बन्दै एमाओवादी कार्यकर्ता


२० फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा कार्यकर्तामा उत्साह निकै घट्दै गएको पाइएको छ । निर्वाचनमा अप्रत्यासित पराजय बेहोरेपछि निराश बनेका नेता तथा कार्यकर्ताहरू पार्टीले संगठनात्मक सम्मेलनको तयारीका क्रममा गैरभौगोलिक राज्य र जिल्ला समिति विघटन गरिदिएपछि झनै निराश बनेका हुन् ।
निराशाबीच कतिपय नेता तथा कार्यकर्ताहरू आफ्नो पार्टी कमिटीको खोजीमा समेत लागेका छैनन् । विगतमा एउटा कमिटीबाट अर्को कमिटीमा स्थानान्तरण या कमिटी गुमेको अवस्थामा आफ्नो पार्टी सदस्यता खोजी हिँड्ने कार्यकर्ताको निकै ठूलो भीड एमाओवादीमा लाग्ने गर्दथ्यो । पार्टीका कार्यक्रमदेखि भेला, सम्मेलन र बैठकमा समेत नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता रहने गरेको थियो । तर, अहिले त्यो वातावरण देखिन्न । धेरैजसो नेता तथा कार्यकर्ता नै पार्टी कमिटीदेखि अन्य विषयमा समेत बेखबर बन्न थालेका छन् ।
निर्वाचन परिणामपछि कतिपय आफ्नै पेसा व्यवसायमा लाग्न थालेका छन् भने कतिपय अब के गर्ने भन्ने मनस्थितिमा भेटिन्छन् । पार्टीप्रति शुभेच्छा राखे पनि अब जीवन त्यसरी नचल्ने भन्दै उनीहरू आफ्नै पेसा व्यवसायमा लाग्ने प्रतिक्रिया दिन थालेको राजधानी दैनिकमा खबर छ।
एमाओवादीको सबैभन्दा बढी संगठित सदस्य रहेको जनवर्गीय संगठन अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय समितिको बैठकमा नै अधिकांश नेताहरूको अनुपस्थितिलाई त्यसैको परिणाम मान्न सकिने अखिल नेपाल ट्रेड युनियन महासंघका एक नेताले बताए । ‘पार्टीप्रति पहिलेजस्तो उत्साह नेतादेखि कार्यकर्तासम्मै पनि देखिन्न,’ ती नेताले भने, ‘पार्टीका संगठित सदस्यहरू नै अहिले पार्टी काममा भन्दा पनि अन्य पेसा व्यवसायमा रमाउन थालेका छन् ।’
पार्टी कार्यकर्ताहरूमा आएको निराशाप्रति इंगित गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले निराशामा नअल्झिन अचेल पार्टीका हरेकजसो आन्तरिक भेला, प्रशिक्षणहरूमा निर्देशन दिन थालेका छन् । १६ फागुनमा सम्पन्न ट्रेड युनियनको केन्द्रीय समिति बैठकमा पनि अध्यक्ष दाहालले आफ्नो सम्बोधनको अधिकांश समय त्यसरी नै खर्चेको टे«ड युनियनका अर्का नेताले जानकारी दिए ।
दाहालले सो बैठकमा आफूलाई नयाँ गरिरहनुपर्ने भन्दै कार्यकर्ताहरूलाई निराशाको व्यापार नगर्न आग्रह गरेका थिए ।

0 comments:

Post a Comment