Thursday, March 6, 2014

‘बीस वर्ष पार अनि घरबार’


२२ फागुन, तुलसीपुर । बालविवाह रोक्ने अभियानका सिलसिलामा यहाँको एक वडाका बालबालिकाले बीस वर्ष उमेर पार भएपछि मात्र घरबार गर्न पाउने सन्देशसहित तीन बुँदे घोषणापत्र जारी गरेका छन् ।
तुलसीपुर नगरपालिका वडा नं ८ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने भन्दै केटीको उमेर १८ वर्ष र केटाको उमेर २१ वर्ष नपुग्दासम्म विवाह गर्न नदिने निर्णय उनीहरुले गरेका छन् । उनीहरुले अनमेल विवाहलाई समेत रोक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
यसैबीच बालविवाह गर्नेहरुलाई विवाह दर्तामा रोक लगाइएको वडा सचिव यमनारायण रेग्मीले जानकारी दिए । वडा सचिव रेग्मीले भनेे, “सानै उमेरमा बालविवाह गर्ने प्रथालाई अन्त्य गर्ने उद्देश्यले बीस पार अनि घरबारको नीतिलाई लागू गर्न थालेका छौँ ।”
उनले वडालाई बालविवाह मुक्त वडा घोषणा गर्ने पनि बताए । रेग्मीका अनुसार वडामा ५/६ जनाको विवाह दर्ता नै रोकिएको छ । हालै बालमैत्री शासन वडास्तरीय बाल भेलामा उनीहरुले यस्तो घोषणापत्र जारी गरेका हुन् । सो भेलाले यशोदा सेन्चुरीको अध्यक्षतामा सात सदस्यीय बाल क्लब गठन गरेको छ ।

0 comments:

Post a Comment