Monday, March 3, 2014

ओबामा-पुटिन फोन वार्ता


obama
काठमाडौ, फाल्गुन १९ - मस्को (एएफपी) अमेरिकी राष्ट्रपति बाराक ओबामा र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच युक्रेन संकटबारे फोनवार्ता भएको छ ।
९० मिनेटको वार्तामा युक्रेनमा सैनिक पठाएकामा पुटिनसँग ओबामाले असन्तुष्टि जनाएका थिए । रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेको ओबामाको आरोप थियो । युक्रेनमा सेना पठाउनु गलत कदम भएको उनको भनाइ थियो । कानुन विरोधी कामका कारण रुस विश्व राजनीतिबाटै अलग्गिने चेतावनीसमेत ओबामाले दिए । दुई नेताबीच फोनमा चर्काचर्की परेको थियो । अमेरिका र रुसी नेताबीच शीतयुद्धपछि पहिलो पटक यस्तो चर्काचर्की परेको हो ।
युक्रेनको क्रिमिया प्रायद्वीपमा हालै हतियारधारीहरूले विमानस्थल नियन्त्रणमा लिएका छन् । त्यसयता उक्त प्रायद्वीपमा रुसको प्रत्यक्ष चासो देखिएको छ । रुसले क्रिमियामा ६ हजार सेना पठाउने तयारी गरिरहेको छ । त्यसलगत्तै युक्रेनमा सेनालाई उच्च सतर्क राखिएको छ । अधिकारीहरूले युद्धको सम्भावना औंल्याएका छन् । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) ले पनि सदस्य देशका राजदूतहरूसँग आइतबारै वार्ता गरेको छ । नेटोमा २८ देश सदस्य छन् ।
रुसी समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार युक्रेनी विदेश मन्त्रीले आफ्नो राष्ट्रियता र अखण्डता रक्षाका लागि नेटोलाई आग्रह गरेका छन् । क्रिमिया क्षेत्रलाई बचाउन रुसी संसद्ले राष्ट्रपति पुटिनलाई शनिबारै जस्तोसुकै उपाय अवलम्बन गर्न अधिकार दिइसकेको छ । संसद्को तल्लो सदनले पुटिनलाई यस्तो अधिकार दिएको हो ।
युक्रेनी राष्ट्रपति भिक्टर यानुकोभिचलाई अपदस्थपछिको नयाँ सत्तालाई रुसले मान्यता दिएको छैन । अमेरिकालगायत पश्चिमी देशले भने सहयोगको बचन दिएका छन् ।

0 comments:

Post a Comment