पर्सा, फाल्गुन २० - जिल्लाको सुदूरपश्चिम नाका ठोरीबाट ६ महिनायता भारत लग्दै गरिएका ३० चेलीको उद्धार गरिएको छ । भारत तथा भारतीय भूमि हुँदै तेस्रो मुलुकतर्फ बेचबिखनका लागि लग्दै गरिएका चेलीलाई त्यहाँस्थित माइती नेपाल शाखाले उद्धार गरेको हो ।
चेलीबेटीलाई भारत तथा भारत हुँदै तेस्रो मुलुकसम्म पनि यो नाका प्रयोग गरी लग्ने गरिएको घटना बढी प्रकाशमा आउन थालेपछि माइती नेपालले ६ महिनाअघि त्यहाँ आफ्नो शाखा स्थापना गरी निगरानी बढाएको हो । माइती नेपाल वीरगन्ज शाखा प्रमुख संगीता पुरीले सन् २०१३ को अन्तिम ४ महिनामा २४ र २०१४ को पहिलो २ महिनामा ६ गरी ३० चेलीलाई स्वदेश फर्काउन सफल भएको
बताइन् । 'चेलीबेटी बेचबिखनमा संलग्न व्यक्ति तथा गिरोहले यो नाका प्रयोग गर्दै आएको आशंका र त्यस्ता घटना विस्तारै सार्वजनिकसमेत हुन थालेपछि हामीले यो निर्णय लिएका हौं,' पुरीले भनिन्, 'यति अवधिमै ३० चेलीको उद्धार गरिएपछि त्यो आशंका पनि पुष्टि भएको छ ।' वीरगन्ज तथा अन्य मुख्य सहरी नाकामा माइती नेपाल र सुरक्षाकर्मीको निगरानी बढी हुने भएकाले चेलीबेटीलाई भारत लान यो नाकाको प्रयोग भएको प्रमाणित भएकाले थप सतर्कता बढाएको उनले जानकारी दिइन् ।
हाल ठोरी शाखामा ४ कर्मचारी रहेको र सीमामा दैनिक निगरानी गर्ने गरेको उनले बताइन् । ठोरीसम्म सदरमुकाम वीरगन्ज र चितवनदेखि पनि नियमित बस सेवा सञ्चालनमा रहेकाले चेलीबेटीलाई भारत लग्न सहज हुने गरेको थियो । ठोरीसँग टाँसिएकै रहेको भारतीय बजार भिखनाठोरी भारतीय रेलको सञ्जालसँग जोडिएको छ । त्यहाँबाट नरकटियागन्जसम्म सोझो रेल सेवा सञ्चालनमा रहेको र रक्सोलको तुलनामा यो नाकाबाट चेलीबेटीलाई भारत लग्न सहज हुने गरेको थियो ।
0 comments:
Post a Comment