न्यायाधीश र वकिलसहित कम्तीमा ११ को मृत्यु
इस्लामावाद (एएफपी/बीबीसी), फाल्गुन २० - पाकिस्तानको राजधानी इस्लामावादस्थित जिल्ला अदालतमा सोमबार बिहान आत्मघाती बम आक्रमण भएको छ । आक्रमणमा एक न्यायाधीश र थुप्रै अधिवक्तासहित कम्तीमा ११ को ज्यान गएको छ । करिब २४ व्यक्ति घाइते भएका छन् ।
घरेलु बम र गोली प्रहारमा इस्लामावादको सेक्टर एफ-८ स्थित अदालतका एडिसनल सेसन जन रफाकत अवान गम्भीर घाइते भएका थिए । उनको पछि मृत्यु भएको थियो । बिहानको व्यस्त एवं भीडभाडको समयमा सुरुमा कम्तीमा दुई आत्मघातीले विस्फोट गराएका थिए ।
यसको लगत्तै तीव्र गतिका साथ अदालत परिसरमा प्रवेश गरेका सशस्त्र व्यक्तिहरूले झन्डै १५ मिनेटसम्म अन्धाधुन्ध गोली प्रहार गरेका थिए । प्रहरीका अनुसार गि्रनेड र एके-४७ सहित आएका हतियारधारी समूहले न्यायाधीशको कक्ष र वकिल कार्यालयहरू भएको क्षेत्रमा आतंक मच्चाएका थिए । यसपछि अदालतको सम्पूर्ण सुनुवाइ र कानुनी प्रक्रिया स्थगित गरिएको थियो ।
तत्कालै घटनास्थलमा पुगेका प्रहरीको घेरामा परेपछि दुई आतंकवादीले आफंैलाई बमले उडाएका थिए । शक्तिशाली विस्फोटले उक्त क्षेत्रका घरका भित्ता र ढोकाहरू टाढाटाढासम्म उछिट्टएिका थिए । अदालतमा उपस्थित गराउन ल्याइएको एक अभियुक्तलाई मित्रहरूले बलजफ्ती छुटाएर लाने क्रममा यो घटना भएको थियो । गृहमन्त्री चौधरी निसार अली खानले इस्लामावादलाई सुरक्षित सहर भनेको केही दिनपछि यो अप्रत्यासित घटना भएको हो ।
त्यहाँ अदालतमा नै यस्तो आक्रमण भएको पहिलोपटक हो । कडा सुरक्षा व्यवस्था कायम हुँदाहुँदै पनि यस्तो घटना हुनुलाई खतरनाक अवस्थाका रूपमा लिइएको छ । सन् २००७ देखि त्यहाँ तालिवान आतंकवादीले हिंसा जारी राखेको छ । तर, उनीहरूले राजधानी इस्लामावादलाई लक्षित गर्ने हिम्मत गर्न सकेका थिएनन् । २००८ मा त्यहाँको मेरियट होटलमा ४० को ज्यान लिने गरी भएको आक्रमणपछिको यो पहिलो ठूलो घटना हो । यो आक्रमणमा तालिवानहरूले आफ्नो संलग्नता नरहेको बताएका छन् । तालिवानहरूले दुई दिन अघिमात्र एकतर्फी यद्धविरामको घोषणा गरेका थिए । उनीहरूले सरकारसँग वार्ताका लागि युद्धविराम गरेको बताएका थिए । युद्धविरामको दुई दिनपछि मात्र यो घटना भएको छ । प्रहरीले तालिवानमाथि आरोप लगाए पनि उनीहरूले खण्डन गरेका छन् ।
0 comments:
Post a Comment