२५ फागुन, काठमाडौं । तिब्बती शरणार्थीले कमान्डर तोकेर नेपालमा चीनविरोधी प्रदर्शन गर्ने भएपछि चिनियाँ दूतावासले उनीहरूलाई पक्राउ गर्न तीव्र दबाब दिएको छ। तिब्बतबाट दलाई लामालाई निष्कासित गरी चीनले त्यहाँको शासन नियन्त्रणमा लिएको ५५ वर्ष पूरा भएको दिन पारेर शरणार्थीले सोमबार राजधानीका आठ ठाउँमा कमान्डर तोकेर प्रदर्शन गर्ने तयारी गरेका छन्।
ती स्थान र कमान्डरबारे जानकारी पाएर पनि सरकारले उनीहरूलाई नियन्त्रणमा लिन सकेको छैन। सुरक्षा निकायले गृह मन्त्रालयलाई बुझाएको विशेष रिपोर्टमा चिनियाँ दूतावासले गत माघ २० गतेअघि नै चीनविरोधी गतिविधिमा लाग्ने र सहयोग गर्नेहरूको नामावली दिएको उल्लेख छ।
रिपोर्टमा पटकपटक यस्तो सूची दिए पनि सरकारले उनीहरूमाथि पर्याप्त निगरानी र नियन्त्रण गर्न नसकेको पनि उल्लेख छ। त्यसयताका सुरक्षा रिपोर्टमा पनि चीनले आन्दोलनकारी तिब्बतीलाई पक्राउ गर्न बारम्बार अनुरोध गर्दै आएको छ। गृह मन्त्रालय स्रोतका अनुसार सोमबार राजधानीका विभिन्न ठाउँमा प्रदर्शन हुने र यसका लागि ‘म तिब्बत चाहन्छु, चीनप्रति घृणा छ, टिम तिब्बत’ नारा तय भएको सूचना प्राप्त भएको छ।
शरणार्थीले जाउलाखेल, स्वयम्भू, फर्पिङ, बौद्ध, महाराजगन्ज, ठमेल र बूढानीलकण्ठ क्षेत्रलाई चीनविरोधी प्रदर्शनको क्षेत्र बनाउने जानकारी गृह मन्त्रालयलाई प्राप्त भएको छ। यसका लागि क्रमश: कर्मा डुक्पा, छेदेन नोर्बु, नवाङ थुप्टेन, लासे डुन्डुप, टासी लामा, आर्गेन लामा र सोमो डोमोलाई कमान्डर तोकिएका छन्। सुरक्षा निकायको सूचनामा नेपालमा चीनविरोधी प्रदर्शनका लागि चारजना तिब्बती नागरिक हवाई मार्गबाट यसै साता नेपाल आएको उल्लेख छ।
जसमा डोल्मा, कर्मा थुरु, छेदिङ तेन्जिङ र पेमा डोल्मा छन्। ‘कमान्डर र आन्दोलनकारी खोजी गरिरहेका छौं’, गृहका एक उच्च अधिकारीले भने, ‘सबै सुरक्षा निकाय परिचालित छन् तर पक्राउ गर्न सकेका छैनन्।’ सरकारले गत बुधबार तिब्बतियन युथ कांग्रेसले ह्यात होटेलमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम रोक्न निर्देशन दिएको अन्नपूर्ण पोस्टमा खबर छ ।
जिल्ला प्रशासन कार्यालयबाट तिब्बती नयाँ वर्ष मनाउन कार्यक्रमको स्वीकृति लिए पनि गृहमन्त्री वामदेव गौतमले अन्तिम समयमा कार्यक्रम रोक्न निर्देशन दिएको तिब्बतियन युथ कांग्रेसद्वारा जारी सूचनामा जनाइएको छ। नेपालस्थित पश्चिमा मुलुकका कूटनीतिक कार्यालयसमेतलाई दिइएको उक्त सूचनामा ‘विशेष परिस्थिति भन्दै माननीय वामदेव गौतमले गृह मन्त्रालयबाट रोक्न भनेकाले हामीले ल्होसार सांस्कृतिक कार्यक्रम गर्न सकेनौं’ भन्ने उल्लेख छ।
दूतावासका डीसीएमको गोप्य भ्रमण
नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर डीसीएम चेङ जी अनौपचारिक भन्दै नेपाल-चीन सीमा जोडिएको मुस्ताङको दुईदिने भ्रमण गरेर फर्किएका छन्।
तिब्बती शरणार्थी समर्थितहरूको स्थिति तथा अन्य मुलुकहरूको सहयोगमा त्यहाँ बनेका संरचना अध्ययनमा उनको टोलीले विशेष रुचि राखेको थियो। भ्रमण टोलीमा चाङ गुनलिङ नामका व्यक्ति र नेपालको गृह मन्त्रालयका पूर्वसहसचिव सुधीर शाहसमेत सहभागी थिए।
फागुन १० गते पोखराबाट पर्यटक बोक्ने ग१य ६१५ नम्बरको गाडीमा जोमसोम गएको टोलीले कोवाङ गाविस-९ मा रहेको मक्की लाथाङ गुम्बा हेरेको थियो भने मार्फा गाविसमा रहेको तिब्बती क्याम्पमा गई शरणार्थीलाई विभिन्न प्रश्न पनि गरेको थियो। टोलीले मुस्ताङका प्रमुख जिल्ला अधिकारीसँग पनि छलफल गरेको थियो।
0 comments:
Post a Comment