Thursday, March 20, 2014

आमा छोरी बेच्नेलाई ३० वर्ष जेल

चैत, काठमाडौं । जिल्ला अदालत नुवाकोटले दुई नाबालिका छोरीसहित आमालाई भारत लगेर बेच्ने तीनजनालाई ३० वर्ष कैदको फैसला सुनाएको छ । अदालतले मानव बेचबिखन गरेको प्रमाणित भएका तीनजनालाई जनही ३० वर्षको कैद सजाय सुनाएको हो । थानसिङ गाविसका उनीहरूलाई भारत लगेर बेच्नेविरुद्ध जिल्ला अदालतले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले उर्लेर्नी–९ का २५ वर्षीय मनोज परियार, शिखरबेसी–३ का २५ वर्षीय कान्छा भन्ने रवि नेपाली र सोही वडाका २४ वर्षीय वसन्त परियार नेपालीलाई कैदको सजाय सुनाएको हो । जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उनीहरूलाई कैदसँगै दुई लाख ५० हजार जरिवानाको फैसलासमेत गरेको छ । अदालतले पीडित युवतीलाई जनही एक लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला समेत गरेको अदालतका स्रेस्तेदार केशव पराजुलीले जानकारी दिए । फैसलापछि तीनैजनालाई जेल चलान गरिएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन–०६४ अनुसार सो फैसला भएको नयाँ पत्रिकामा खबर छ । उनीहरूले थानसिङ गाविसका ६ र आठ वर्षका दुई नाबालिका छोरीसहित एक २६ वर्षीया युवतीलाई १२ चैत ०६८ मा ललाइफकाई भारत पुर्‍याएर बिक्री गरेका थिए । युवती दलित समुदायकी हुन् । जागिर लगाइदिन्छु भनेर उनलाई भारत पुर्‍याएर बिक्री गरेको पीडितको भनाइ छ । आफ्नो श्रीमानले मदिरा सेवन गरेर दिने यातनाबाट मुक्ति दिलाउन भन्दै दलालले जागिर लगाइदिने आश्वसन दिएर भारत लगेको ती युवतीले बताइन् । बिक्री गरेपछि पीडित युवतीले भारतबाटै माइतीमा फोन गरी दलालहरूको विवरण दिएकी थिइन् । युवतीका दाजुले ९ भदौ ०६९ मा जाहेरी दर्ता गराएका थिए । सोही जाहेरीका आधारमा पीडकहरू पक्राउ परेका थिए । पीडित युवती कोठीबाट भाग्न सफल भई माघ ०६९ मा नेपाल आएकी थिइन् । उनले नेपाल आएर अदालतमा बयानसमेत दिएकी थिइन् ।

0 comments:

Post a Comment