Sunday, March 2, 2014

वीरअस्पतालको आकस्मिक कक्षमै छैनन् डाक्टर


१९ फागुन, काठमाडौं । अस्पतालको आकस्मिक कक्षमा चौबीसै घन्टा चिकित्सक हुनुपर्छ । तर, मुलुककै जेठो वीर अस्पतालको आकस्मिक कक्ष भने शनिबार राति करिब १२ घन्टा चिकित्सकविहीन हुनुप-यो ।
ड्युटीमा खटिनुपर्ने चिकित्सक र अस्पताल प्रशासनको चरम लापर्बाहीका कारण शनिबार राति ९ बजेदेखि आइतबार बिहान ९ बजेसम्म सो अस्पतालको आकस्मिक कक्षमा यो समस्या देखिएको हो ।
अस्पताल प्रशासन र चिकित्सकको चरम लापर्बाहीका कारण सो अस्पतालको आकस्मिक कक्षमा पुगेका बिरामीहरू अन्य अस्पताल जान बाध्य भएका थिए ।
वीरको आकस्मिक सेवामा कम्तीमा चारजना मेडिकल अधिकृत अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, जनशक्ति कम भएको भन्दै प्रशासनले सो समयमा दुईजनालाई मात्र खटाएको थियो । तर, खटाइएका ती दुवैजना पनि अनुपस्थित भएपछि आकस्मिक सेवा चिकित्सकविहीन बनेको हो ।
आकस्मिक सेवा विभागका प्रमुख डा. न्हुच्छेमान डंगोलले जनशक्ति अभावका कारण समस्या भएको बताए । उनका अनुसार सो समयमा एकजना मेडिकल अधिकृत र एकजना स्वयंसेवक चिकित्सकलाई सेवामा खटाइएको थियो ।
मेडिकल अधिकृत डा. दीपा खड्का आफैं बिरामी भएको भन्दै आकस्मिक कक्षको गेटबाटै फर्किएको बिरामीका आफन्तले बताए । स्वयंसेवक चिकित्सक डा. सन्दीपकुमार कर्ण भने आकस्मिक कक्षमा आउँदै आएनन् । डा. डंगोलले आकस्मिक सेवामा चिकित्सक नभएको भनेर राति अबेर मात्र थाहा पाएकाले अन्य व्यवस्था गर्न नसकेको बताए ।
‘डा. खड्काले आफू बिरामी भएकाले काम गर्न नसक्ने भनेर राति अबेर मात्र जानकारी गराउनुभयो,’ डा. डंगोलले भने, ‘स्वयंसेवकका रूपमा खटाइएका चिकित्सक आउँदै आउनुभएनछ ।’ सेवा अवधिका लागि तोकिएकी डा. खड्का करार चिकित्सक हुन् ।
दरबन्दीअनुसारको जनशक्ति नहुँदा आकस्मिक कक्षमा पटकपटक समस्या आएको उनले बताएको राजधानी दैनिकमा खबर छ । ‘यसअघि पनि यस्ता समस्या आउँथे, अन्य समयका सेवामा खटिएका चिकित्सकहरूलाई आग्रह गरेर समाधान गर्दै आएका थियौं,’ उनले भने, ‘हिजो रातिको कुरा प-यो मिलाउनै सकिएन ।’ पर्याप्त चिकित्सक नभएका कारण शनिबार अन्य सेवा समयमा पनि उपलब्ध चिकित्सकलाई थप समय सेवामा खटाएको उनले बताए ।
‘अन्य सिफ्टमा पनि समस्या भएको थियो, अनुरोध गरेर थप समय काममा लगाएर सेवा दिएका थियौं,’ उनले भने । डा. डंगोलले चार महिनाअगाडि नै अस्पताल प्रशासन र चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) लाई थप दरबन्दीका लागि टिप्पणी उठाएर पठाए पनि पूरा नभएको बताए ।

0 comments:

Post a Comment