१९ फागुन, काठमाडौं । १० मार्चलाई लक्षित गरेर भारतको धर्मशालाबाट सडकमार्ग हुँदै तिब्बती शरणार्थीहरू काठमाडौं प्रवेश गरेका छन् । तिब्बतबाट दलाई लामा निर्वासनमा गएको १० मार्चलाई लक्षित गरी नेपालमा विभिन्न भागमा आन्दोलन गर्न दलाई लामाको समर्थनमा सो समूह नेपाल प्रवेश गरेको स्रोतले दाबी गरेको छ ।
भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका दलाई लामाले यस पटक नेपालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले १५ जनाको समूहलाई काठमाडौं पठाएको पनि स्रोतले जनाएको हो । भारतबाट नेपाल प्रवेश गरेका ती १५ जनाको समूहलाई विश्वको ध्यानाकर्षण गराउन आत्मदाह गर्नु परे पनि तयारी हालतमा रहन भन्दै नेपाल पठाएपछि नेपाल प्रहरीले ‘स्पेसल टाक्र्र्स फोर्स’ नै गठन गरेर खोजी गर्न थालेको छ ।
नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाइरहेका बेला तिब्बती शरणार्थीहरूले नेपालमै विभिन्न खाले गतिविधि गर्न थालेका छन् । गृह मन्त्रालयको टोली यतिबेला चीन भ्रमणमै रहेको छ । सो टोलीले नेपाल एक चीन नीतिमा सहमत रहेको र चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धतासमेत जनाइसकेको छ ।
भारतको धर्मशालाबाट नेपाल छिरेको सो समूह कहाँ र कुन शरणार्थी शिविरमा रहेका छन् भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार नेपाल छिरेका शरणार्थीहरू दीर्घरोगी रहेको र उनीहरूलाई चीन सरकारको विरोधका लागि आत्मदाह गर्नसमेत तयारी अवस्थामा रहन भन्दै नेपाल पठाएका कारण उनीहरूको खोजी तीव्र पारिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।
चीनले यस पटक नेपालको भूमि प्रयोग गरेर भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बतीहरूले कुनै पनि विरोधका कार्यक्रम सञ्चालन गरे चीन चुप लागेर नबस्ने चेतावनी नेपाल सरकारलाई दिएपछि सरकारले नेपालभित्रैका शरणार्थीहरूको जुनसुकै हालतमा पनि पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको ती अधिकारीले जानकारी दिए । स्वतन्त्र तिब्बतको माग गर्दै संसारभर रहेका तिब्बती शरणार्थीहरूले मार्च महिनाभर विश्वमा नै विरोध गर्ने गरेको राजधानी दैनिकमा खबर छ ।
तिब्बती शरणार्थीहरू बौद्ध, स्वयम्भू, जावलाखेललगायतका क्षेत्रमा लुकेको आशंकामा प्रहरीले ती क्षेत्रमा निगरानी बढाएको छ । यसका साथै राजधानीका सबै सुरक्षा युनिटका प्रहरी प्रमुखलाई चनाखो रहन निर्देशन दिइसकेको छ । ‘नेपालको भूमिमा छिमेकी राष्ट्रको विरुद्धमा कुनै पनि गतिविधि हुन्न दिन्नौं, यसतर्फ नेपाल प्रहरी सचेत छ,’ प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गणेश केसीले भने, ‘नेपालको भूमिमा शरणार्थीलाई कानुनत बस्ने अधिकार छ, आन्दोलन गर्ने अधिकार छैन ।’
0 comments:
Post a Comment