Wednesday, March 19, 2014

देशभर एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूर

 

५ चैत, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोथिमि भक्तपुरले भोलिदेखि देशभर एकैसाथ सुरु हुनेे एसएलसी परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ ।परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुबहादुर द्वारेले परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । परीक्षा शान्तिपूर्ण एवम् कुनै पनि परीक्षा केन्द्रमा बाधा व्यवधानबिना नै सम्पन्न गर्ने व्यवस्था मिलाइएको उनको भनाई छ ।
परीक्षामा परीक्षार्थीले चिट चोरेको वा कुनैपनि अनियमितता हुने कार्य गरेको पाइएमा तत्काल त्यस्ता परीक्षार्थीको परीक्षा रद्द गरी कारबाही गर्न सबै जिल्लाका जिल्ला शिक्षा समितिलाई निर्देशन दिएको उनले वताए । यस्ता परीक्षार्थीको तत्काल परीक्षा रद्द गरी आगामी वर्षसमेत परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गर्ने व्यवस्था गरेको र यसका लागि समितिलाई अधिकारसहित निर्देशन दिइएको उनले जानकारी दिए । त्यसैगरी परीक्षा केन्द्रमा कुनै पनि कर्मचारीले अनियमितता गरेको पाइएमा र परीक्षा केन्द्रमा जबर्जस्ती प्रवेश गर्न खोज्ने र अशान्ति फैलाउनेलाई तत्काल नियन्त्रणमा लिएर रु एक लाख जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।
परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र, उत्तरपुस्तिका, परीक्षा सञ्चालनसम्बन्धी निर्देशिका, केन्द्राध्यक्ष निर्देशन पुस्तिका, अन्य सम्पूर्ण सामग्री र खर्चको अख्तियारीसमेत सबै जिल्लामा पुगिसकेको छ । परीक्षाका लागि तालिम प्राप्त कर्मचारी तैनाथ गरिएको छ । कार्यालयले परीक्षाका लागि गत वर्षभन्दा ५० वटा परीक्षा केन्द्र थप गर्दै देशभर एक हजार ८३६ वटा परीक्षा केन्द्र कायम गरेको छ । यस वर्षदेखि देशभरबाट होमसेन्टर हटाइएको छ ।
परीक्षार्थीलाई अनिवार्य रुपमा आफ्नो विद्यालय पोसाक लगाएर मात्र परीक्षामा सहभागी हुन निर्देशन दिएको छ ।परीक्षामा नियमित र एक्जाम्टेड गरी पाँच लाख ६६ हजार ८५ विद्यार्थीले परीक्षा दिन आवेदन फारम भरेका छन् । जसमा नियमिततर्फ चार लाख १९ हजार ३५२ र एक्जाम्टेडमा एक लाख ४६ हजार ७३३ जना छन् । गत वर्षर् पाँच लाख ४७ हजार १६५ विद्यार्थीले परीक्षा दिएका थिए ।
कार्यालयका उपनियन्त्रक प्रहृलाद अर्यालले परीक्षाको आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै परीक्षा सञ्चालनका लागि देशभर ५३ हजार ७६ जनशक्ति र सुरक्षाका लागि देशभर १८ हजार ३६० प्रहरीलाई खटाइएको जानकारी दिए । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ भने भोलि पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । परीक्षा आगामी चैत १४ गते सम्पन्न हुनेछ ।

0 comments:

Post a Comment