२९ फागुन, काठमाडौं । हस्तलिखित पासपोर्ट मात्र होइन, मेसिन रिडेबल पासपोर्ट (एमआरपी) नै नक्कली भेटिन थालेका छन् । नक्कली एमआरपी लिएर नेपाल आउने विदेशीहरू बारम्बार पक्राउ पर्न थालेपछि यो तथ्य सार्वजनिक भएको हो । नक्कली एमआरपीसहित नेपाल भित्रिने विदेशीलार्इ पक्राउ गरेर अध्यागमन विभागले विमानस्थलस्थित अध्यागमन कर्मचारीलाई सतर्क गराउँदै आएको छ ।

नक्कली एमआरपी लिएर नेपाल आएका इरानी नागरिक एलिरेजा एभार यतिबेला अध्यागमन विभागको हिरासतमा छन् । इजरायलको नक्कली पासपोर्ट लिएर उनी नेपाल हुँदै जापान जान खोजेका थिए । उनी येल डाफु नामक व्यक्तिको पासपोर्टमा आफ्नो फोटो राखी नेपाल आएका थिए । अध्यागमनका कर्मचारीले उनको पासपोर्ट शंका लागी चेक गर्दा नक्कली भएको पुष्टि भएको हो ।
टर्कीको राजधानी इस्तानबुलमा दुई हजार अमेरिकी डलरमा नक्कली एमआरपी पासपोर्ट खरिद गरेको उनले बयानमा बताएका छन् । यसअघि पनि पटक–पटक नक्कली पासपोर्ट प्रयोग गरी विभिन्न देशका व्यक्ति आवतजावत गर्दा पनि अध्यागमनका कर्मचारीलाई थाहै पाउँदैनथिए ।
सम्बन्धित देशले उनीहरूलाई फर्काएपछि मात्र नक्कली पासपोर्ट भएको पत्ता लाग्थ्यो । तर, पछिल्लो समय नक्कली एमआरपी पासपोर्ट बोक्नेहरू पनि पक्राउ पर्ने क्रम बढेपछि यसको दुरूपयोग बढ्दै गएको खुलेको हो ।
0 comments:
Post a Comment