काठमाडौ, फाल्गुन १९ - काठमाडौं महानगरपालिका ११ स्थित १६९८ नम्बरको जग्गा कित्ताकाटका क्रममा क्षेत्रफल हेरफेर गरेको भेटियो । छानबिन हुँदा नापीका सर्भेक्षक पशुपतिनाथ भट्टराई र हरिबहादुर रायमाझी दोषी
ठहरिए । उनीहरूलाई दुईपटक तलब वृद्धि रोक्का हुनेगरी 'विभागीय कारबाही'को निर्णय भएको छ ।
ललितपुर १३ स्थित तिब्बती क्याम्प नजिकैको जग्गा व्यक्तीकरण गर्नका लागि चलखेल भएको भन्दै एकान्तकुना समाज सुधार समितिले उजुरी गर्यो । छानबिनपछि अख्तियारले 'पोखरी संरक्षणका लागि आवश्यक कारबाही गर्न' भूमिसुधार तथा मालपोत मन्त्रालयमार्फत निर्देशन दियो । उक्त प्रकरणमा पनि कर्मचारीहरूको मिलेमतो भेटिएको अख्तियार स्रोतको भनाइ छ ।
काठमाडौं खड्काभद्रकाली ३ को जोताहा महलमा दिलबहादुर खड्का नाम उल्लेख भएको जग्गालाई नापी गोश्वाराबाट दोहोर्याएर नापनक्सा गर्दा खड्काकी पत्नी सुन्तलीको नाममा श्रेस्ता पुर्जा तयार गरेको भेटियो । ०६७ पुस २० को निर्णयद्वारा मालपोतले जग्गामा नाम फेरबदल गरेको देखिएपछि अख्तियारले छानबिनका लागि भूमिसुधार मन्त्रालयमा निर्देशन दिएको छ । 'उक्त घटनामा पनि कर्मचारीहरूको मिलेमतो पुष्टि भएको छ, किनकि कर्मचारीको संलग्नताबिना नामसारी सम्भवै हँुदैन,' अख्तियार स्रोतले भन्यो ।
काठमाडौं उपत्यकाको जग्गामा हुने चलखेलका अधिकांश घटनामा मालपोत र नापी कार्यालयका कर्मचारीहरूको उल्लेख्य संलग्नता हुने गरेको भेटिएको छ । दलाल र जग्गा माफियालाई मुख्य जिम्मेवार ठानिए पनि कर्मचारीहरूको निर्णयबिना चलखेल सम्भव नहुने छानबिनले देखाएको छ । काठमाडौं उपत्यकाको जग्गा अनियमितताका अधिकांश मुद्दामा कर्मचारीहरू कारबाहीमा परेका छन् ।
काठमाडांै डााछी ३ मा एक रोपनी १२ आनाको जग्गा व्यक्तिको लगत भिडाई छुट दर्ता गरेको भेटियो । चावहिल मालपोतका कर्मचारीहरू नै मिलेर फिल्डबुकमा जग्गाधनी कुलबहादुर बाडाका नाममा दर्ता बाँकी उल्लेख गरेको देखियो । साथै आफू हकवाला भन्दै सुगत शाक्य समेतले जग्गा दर्ता गरिपाउन निवेदन दिए । तोकिएको समयमा अरूले कुनै प्रमाण पेस गर्न नसकेको भन्दै मालपोतका कर्मचारीले छुट दर्ता गरिदिए । 'लगत भिडाइएको' पुष्टि भएपछि अख्तियारले भूमिसुधारलाई छानबिनको निर्देशन दिएको छ ।
अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कोको नाममा दर्ता हुने र सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा कर्मचारीहरूको पनि भूमिका हुने भएकाले संलग्नहरूमाथि छानबिन थालिएको बताए । 'भूमि प्रशासनमा कर्मचारीहरूको निर्णयबाट मात्रै बेचबिखन र नामसारी सम्भव हुने भएकाले संलग्नहरू दोषी ठहरिनेछन्,' उनले भने ।
मालपोत कार्यालय, ललितपुरले ०६९ मा कित्ता नम्बर २०२ को जग्गा निजी गुठीका गुठियारका नाममा संयुक्त रूपमा दर्ता गरेको भेटियो । मुलुकी ऐन अपुतालीको महलमा जग्गाधनीको निधन भएको तीन महिनाभित्र मर्नेको हकवाला कोही आएन वा पत्ता नलागे अपुताली नेपाल सरकारको हुने व्यवस्था छ । व्यक्तिको नाममा दर्ता गर्ने प्रक्रिया कानुनसम्मत नभएको भन्दै अख्तियारले छानबिनको निर्देशन दिएको छ ।
बेखाबहादुर महर्जनको नाममा रहेको कीर्तिपुर ६ सामलटोलको जग्गामा नक्कली जोताहा कायम गरेको भेटियो । छानबिनका क्रममा नापीका कर्मचारीले गैरकानुनी रूपमा सिद्धिबहादुर महर्जन समेतको नाममा दर्ता गरेको भेटियो । नापी अधिकृत दुर्गा दास महर्जनलाई विभागीय कारबाही गर्न र जग्गा दर्ता बदर गर्न अख्तियारले निर्देशन दिएको छ । महर्जनलाई 'नसिहत' को कारबाही भएको अख्तियार स्रोतले जनायो ।
जग्गा चलखेलबाट दलाल र बदनियत राख्ने कर्मचारी दुवैलाई फाइदा हुने भएकाले उनीहरूको नाम मुछिने गरेको अख्तियारका प्रवक्ता घिमिरेले बताए । ६ महिनायता अख्तियारले जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा उपत्यकाका अधिकांश मालपोत कार्यालयका अधिकृतस्तरका कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । कर्मचारीबिना जग्गा दर्ता, नामसारी र कित्ताकाट सम्भव नहुने भएकाले दलालले उनीहरूलाई आर्थिक चलखेलमा पार्ने गरेको घिमिरेले बताए ।
0 comments:
Post a Comment