गुलरिया, फाल्गुन १९ - नेपाल-भारत छुट्टयाउने ५४ सीमा स्तम्भ हराएको वर्षौ भइसक्दा पनि खोजीमा तदारुकता नदेखाउँदा भेटिएका छैनन् ।
ठूलो संख्यामा स्तम्भ गायब हुँदा पनि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले खासै चासो देखाएको छैन । तर सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर रजाली मगरले एउटा मुख्य सीमा स्तम्भ फेला परेको दाबी गरेका छन् ।
कुन ठाउँमा कति नम्बरको सीमा स्तम्भ फेला परेको हो भन्ने बारेमा उनले खुलाएनन् । पटकपटक जानकारी माग्दा मातहतका प्रहरीसँग सोधेर जानकारी दिने बताए । अन्तर्राष्ट्रिय सीमाअन्तर्गत गायब भएका मुख्य १, सहायक ११ र सानो सीमा स्तम्भ ४२ हराएको स्थानीय प्रशासनले जनायो । बर्दियासँग जोडिएको नेपाल-भारत सीमा अन्तर्गत २ सय ४५ मुख्य, सहायक र सानो सीमा स्तम्भ रहेका छन् ।
हराएका मुख्य सीमा स्तम्भ फेला परेको दाबी सशस्त्रले गरे पनि अन्यको जगसमेत नदेखिने गरी गायब भएको स्रोतले बतायो । स्तम्भ कसरी गायब भयो भन्ने बारे अनुसन्धान भइरहेको सशस्त्र प्रहरीको भनाइ छ । अहिले दसगजा अतिक्रमणको चपेटामा परेको छ । स्तम्भ गायब भएपछि अन्तर्राष्ट्रिय सीमा मिचिँदै गएको स्थानीयबासी बताउँछन् । नदीले दुई मुख्य, सहायक दुई र तीन वटा सीमा स्तम्भ बगाएको भनेको वर्षौ बितिसकेको छ । त्यसको खोजी भए पनि मर्मत कार्य भने हुन सकेको छैन । ०४० मा कर्णाली नदीको भंगालो गेरुवाले ६८१ नम्बरको मुख्य सीमा स्तम्भ बगाएको थियो । बगाएको तीन दशक भइसक्दा पनि सरकारले कुनै चासो नदेखाएकाले सिमाना छुट्याउन समस्या छ ।
कर्णाली नदीको भंगालो गेरुवामा ६९३ (८७) र बबई नदीको सीमावर्तीको मुख्य सीमा स्तम्भ बगाएको दुई दशक भइसक्दा मर्मत सम्भार हुन सकेको छैन ।
गत साउन ३ र ४ गते आएको बाढीले गुलरिया नगरपालिका-१३ मजदिया स्थित ६७०/७ र गुनपा-१० मा रहेको ६७०/१० सीमा स्तम्भ बगाएको थियो ।
मुख्य र सहायक सीमा स्तम्भमध्ये ४९ मर्मत गर्नुपर्ने अवस्थामा छन् । त्यसैगरी मुख्य सीमा स्तम्भ ६९८/९६ भिम्मापुर स्थित सीमावर्ती शंकरनगर र जमुनी ३ र ४ मा रहेको ६६२
(४९) र ६६१ (४७) मर्मत गर्नुपर्ने स्थित रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । सहायक सीमा स्तम्भको १० मर्मत र १ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छ ।
0 comments:
Post a Comment