२३ फागुन, काठमाडौं । झन्डै दोब्बर लागत पुगिसकेको निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनामा अझै लागत बढाएर आर्थिक अपचलन गर्न जानाजान पहिरो झारिएको खुलासा भएको छ। पहिरोका कारण परियोजनाको म्याद थप गर्नुपर्ने बाध्यता आइलाग्ने र यसले लागत बढाउँदा ठेकेदारसहितलाई धेरै आर्थिक लाभ हुने भएको छ।
मुख्य सुरुङबाट विद्युत्गृहतर्फ पानी झार्ने सय मिटर ‘इन्क्लाइन्ड टनेल’ (ओरालो सुरुङ) मध्ये १० मिटरखण्डमा सुरुङ खन्दा अपनाउनुपर्ने विधि र प्रक्रिया जानाजान बेवास्ता गरी पहिरो झर्न दिएको पुष्टि भएको छ। आयोजनामा कार्यरत एक इन्जिनियरका अनुसार सुरुङ खन्ने क्रममा ढुंगामाटो कस्तो हुन्छ भन्ने पहिले नै थाहा हुन्छ।
त्यसअनुसार विस्फोट गर्दै ढुंगामाटो निकाल्दै, सपोर्ट दिँदै जानुपर्नेमा अत्यधिक विस्फोट गरी ढुंगामाटो निकालेर धेरै बेरसम्म छाड्दा यस्तो समस्या आएको ती इन्जिनियरले बताए। ती इन्जिनियरले भने, ‘साइटमा रहेको रेकर्ड हेर्दा यसबारे सबै छर्लंग हुन्छ।’
आयोजना प्रमुख मधुसूदनप्रताप मल्लले विशेषज्ञ अभावमा पहिरो गएको स्वीकार गरे। उनले भने, ‘इन्क्लाइन्ड टनेलमा दुलो खनिसकेको र त्यसलाई ठूलो बनाउने क्रममा विशेषज्ञताको विकास नहुँदा पहिरो गएको हो।’
पहिरो रोकथाम गरी काम सञ्चालन गर्न केकति समय लाग्छ भनी ठेकेदार र परामर्शदातासँग प्रस्ताव माग गरिएको पनि मल्लले बताए। गत साता चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मुख्यालयबाट एकजना इन्जिनियर पहिरो गएको भागको निरीक्षण गर्न पठाएको थियो। उसले पनि ठोस समाधान दिनसकेको छैन। ‘हामी छलफल गरिरहेका छौं’, मल्लले बिहीबार भने।
सुरुङभित्रको ढुंगामाटोको प्रकृतिअनुसार प्वाल पार्ने, त्यसभित्र विस्फोटक पदार्थ घुसाई विस्फोट गराउने, मकिङ निकाल्ने, सुरुङलाई सपोर्ट दिने गर्दै जाँदा जस्तोसुकै कमजोर भौगोलिक अवस्थाको सुरुङ पनि सजिलै खन्न सकिने यसअघि कुलेखानी तेस्रोकै घटनाले पुष्टि गरेको अन्नपूर्ण पोस्टमा खबर छ।
यसअघि यही सुरुङ प्रवेश मार्ग (अडिट-३) खन्ने क्रममा पनि यस्तै पहिरो जाँदा नौ महिना काम अवरुद्ध भएको थियो। त्यतिबेलाको परामर्शदाता डब्लूआरसी-सिल्टले उक्त समस्या समाधान गर्न सकेको थिएन। त्यसबेला ठूलै रकम खर्च गरी भारतीय भूगर्भविद् बोलाएर निरीक्षण गराउँदा पनि सकिएको थिएन। पहिलोपटक आयोजनाको म्याद ३० महिना थप गरेर नियुक्त भएका प्राधिकरणकै पूर्वइन्जिनियर नियाज अहमदले यो समस्या सजिलै समाधान गरेका थिए।
‘गत महिना इन्क्लाइन्ड टनेलमा ब्लास्टिङ गरेर धेरै बेर छाडिएपछि यस्तो समस्या आयो’, ती इन्जिनियरले भने, ‘पहिरो आउने कुरा परामर्शदाता, आयोजना र ठेकेदारका इन्जिनियरलाई थाहा हुँदाहुँदै किन सपोर्ट गरिएन?’
ती इन्जिनियरका अनुसार आयोजनाले मासिक आठ हजार पाँच सय अमेरिकी डलर (करिब साढे आठ लाख रुपैयाँ) तिरेर नियुक्त गरेका भारतीय इन्जिनियर, आयोजनामै खटिएका प्राधिकरणका इन्जिनियर र ठेकेदारले परिचालन गरेका इन्जिनियर गरी १८ जना साइटमा रहँदारहँदै पनि यति सामान्य अवस्थामा ठूलो हौवा खडा गरिएको छ।
पहिरो नियन्त्रण गर्नुपर्ने देखाएर आयोजनाको म्याद कम्तीमा ६ महिना बढाउने र लागत ६ करोड थप गर्न यस्तो चलखेल भइरहेको पनि ती इन्जिनियरले बताए। यसअघि ठेकेदारले आयोजनाको म्याद सन् २०१६ जनवरीसम्म बढाउनुपर्ने कार्यसूची प्राधिकरणलाई दिइसकेको छ।
१४ मेगावाट क्षमताको यो आयोजना सन् २००८ मार्चदेखि सुरु भएको हो। विभिन्न बहानामा लागत दोब्बर पुगिसकेको छ भने आयोजना कहिले पूरा हुन्छ, अझै टुंगो छैन।






0 comments:
Post a Comment