Thursday, March 6, 2014

ओम अस्पताल एमाओवादी र नेकपा-माओवादीको वार्तास्थल !


२३ फागुन, काठमाडौं । राजधानीको चावहिलस्थित ओम नर्सिङ होम एन्ड रिसर्च सेन्टरमा दैनिकजसो माओवादी नेताहरूको भीडभाड बढ्न थालेको छ ।
एकीकृत माओवादी नेताहरू मात्रै होइन, एमाओवादीबाट विभाजित नेकपा–माओवादी नेताहरू पनि दैनिकजसो अस्पताल पुग्ने गरेपछि दुई माओवादी नेतृत्वको वार्तास्थल बन्न पुगेको हो ।
अस्पतालमा दुवै पार्टीका शीर्ष नेतादेखि अन्य तहका नेता–कार्यकर्ताको पनि आ–आफ्नै तहमा छलफल हुने गरेको छ । छलफलको त्यो कुनै पूर्वनिर्धारित कार्यक्रम भने होइन । दुवै पार्टीका नेतालाई भेटघाटको संयोग जुराउने काम भने एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसी बनिरहेकी छन् ।
दाहाल पुत्री ज्ञानु यतिबेला अस्वस्थ रहेका कारण ओम अस्पतालमा उपचार गराइरहेकी छन् । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेकी केसीलाई भेट्न जाने क्रममा माओवादीका नेताहरूको भेटघाट हुन थालेको हो ।
२० महिनाअघि विभाजित दुवै माओवादी नेताका लागि ज्ञानुको अस्पताल भर्ना पुनर्मिलनको माध्यम बनिरहेको छ । भावनात्मक रूपमा दुवै माओवादी नेताहरूका लागि ज्ञानु परिचित अनुहार हुन् ।
बिरामीलाई भेट्ने र त्यही मेसोमा दुवै पार्टीका नेताहरूबीच सम्भव भएसम्म राजनीतिक र भावनात्मक कुराकानी गर्ने उपयुक्त थलो यतिखेर सो अस्पताल बन्न पुगेको हो ।
छोरी ज्ञानुलाई भेट्न हरेक दिनजसो एमाओवादी अध्यक्ष दाहाल अस्पताल पुग्ने गरेका छन् । दाहालले अस्पतालमा दैनिक कम्तीमा एक घन्टा बिताउने गरेका छन् । दाहाल अस्पताल पुग्दा नेकपा–माओवादीका कुनै न कुनै तहका नेता पनि अस्पताल पुग्ने र त्यहाँ राजनीतिक छलफल गर्ने गरेको अस्पताल स्रोतले बतायो ।
अहिलेसम्म अस्पतालमै अध्यक्ष दाहालसँग नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्ददेखि केन्द्रीय तहका थुप्रै नेताले भेटघाट गरी छलफल गरेको लाजिम्पाट स्रोतले बतायो । ‘अध्यक्षसँग अस्पतालमा वैद्य माओवादीका सचिव विप्लवदेखि कतिपय नेताहरूले घेटघाट गरिसकेका छन्,’ स्रोतले भन्यो, ‘अन्य शीर्ष नेताहरू पनि बिमारी भेट्न आउने र अध्यक्षसँग पनि भेटघाट गर्ने काम भइरहेको छ ।’
दुवै पार्टीका नेताहरूबीचको भेटघाटमा क्रान्तिकारी कम्युनिस्टहरूको केन्द्र निर्माण गरेर जानेसम्मका विषयमा छलफल हुने गरेको राजधानी दैनिकमा खबर छ । ‘दाहालले पार्टी एक बनाएर लैजान नसक्नु, राष्ट्रियताको मुद्दामा अडान लिन नसक्नु आफ्नो तर्फबाट कमजोरी भएको नेकपा–माओवादीका नेताहरूसँगको भेटमा बताएका छन्, उहाँहरूले पनि पार्टी अलिक छिटो विभाजन गर्यौं कि भन्ने कुराकानी गरेका छन्,’ एमाओवादीका एक शीर्ष नेताले भने, ‘दुवै पार्टीका नेतालाई पार्टी विभाजन गर्नु गल्ती भएको महसुस भएको छ, दुवै पक्षबाट आत्मालोचना पनि भइरहेको छ ।’
संविधानसभा निर्वाचनपछि एमाओवादी कमजोर बनेको छ भने नेकपा–माओवादी प्रक्रियाबाटै बाहिर छ । संविधानसभामा कांग्रेस–एमालेको बलियो उपस्थितिलाई दुवै माओवादीले यथास्थितिवादी हावी भएको भन्दै रुचाएका छैनन् ।

0 comments:

Post a Comment