Saturday, March 8, 2014

नेपालको विश्वकप यात्रा

cricked
काठमाडौ, फाल्गुन २४ - नेपाली क्रिकेट अहिले ऐतिहासिक क्षणमा छ । अर्को सातादेखि बंगलादेशमा हुने आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकपमा नेपाली खेलाडी मैदानमा ओर्लंदा उनीहरू मात्र हुने छैनन् । साथमा सिंगो नेपाल र नेपाली हुनेछन् । पहिलोपटक नेपाली झन्डाले विश्वकपमा प्रवेश पाउनेछ । अनि नेपाली खेलकुदले पाएको अहिलेसम्मकै गर्वयोग्य सफलतालाई आत्मसात् गर्नेछ ।
नेपालले पहिलोपटक विश्वकप खेल्न लागेको हो । नेपाली क्रिकेटले सधैं छोइरहने तर पार गर्न नसकेको रेखा नाघ्दै बंगलादेशको यात्रा तय गरेको थियो । यूएईमा भएको ट्वान्टी-ट्वान्टी छनोटको क्वाटरफाइनल मानिएको खेलमा हङकङलाई पाँच विकेटले पराजित गर्दै नेपाली क्रिकेटले ठूलो फड्को मारेको थियो । नेपालले छनोट प्रतियोगिता हङकङलाई पराजित गर्दै तेस्रो स्थानमा टुंग्याएको थियो ।
टेस्ट र वान-डेपछि ट्वान्टी-ट्वान्टी क्रिकेटको नयाँ संस्करण हो । यसको सुरुआतको एक दशक पनि पूरा भएको छैन । टेस्ट क्रिकेटको ऐतिहासिक आधार मानिन्छ भने ट्वान्टी-ट्वान्टीलाई भविष्यको आशाका रूपमा लिने गरिन्छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाल जस्तै क्रिकेटको विकासोन्मुख देशका लागि ट्वान्टी-ट्वान्टी संस्करण उपयुक्त मान्ने गरेको छ ।
यसै अनुसारका कार्यक्रम सार्वजनिक गर्ने गरेको छ । नेपालले एक महिनाअघि आईसीसी वान-डे विश्वकप छनोट खेल्दा न्युजिल्यान्डमा पाएको असफलताको पीडालाई चैत २ गते बंगलादेशको चटगाउँमा हङकङसँगको खेलमा उत्रँदा बिर्सने मौका हुनेछ । नेपाल र हङकङबीचको खेल आफैंमा नौलो होइन । एसियाका टेस्ट नखेल्ने राष्ट्रबीचको प्रतिस्पर्धामा दुवै परम्परागत प्रतिद्वन्द्वी नै हुन् ।
तर, चटगाउँको त्यो खेल आफैंमा विशेष हुनेछ । त्यसले आफ्नो छुट्टै स्तर राखेको छ । नेपालको समूहमा बंगलादेश र अफगानिस्तान पनि छन् । पहिलो चरणमा नेपालले सफलता हासिल गरेमा वा शीर्षस्थान हासिल गरेमा सुपर १० चरणमा पुग्नेछ । त्यसमा टेस्ट वरीयताका आठ र पहिलो चरणमा शीर्ष स्थानमा रहेका दुई देश रहनेछन् ।  
विश्वकप यात्रालाई नेपाली खेलकुदको सबैभन्दा ठूलो सफलता मान्न सकिन्छ । नेपाली क्रिकेटको इतिहास खोज्ने हो भने राणाकालभन्दा अघि जान सकिंदैन । उनीहरूले नै नेपालमा क्रिकेटलाई भित्र्याएका हुन् । भारतमा अंग्रेज साम्राज्य रहेको अवस्थामै नेपालमा क्रिकेटको प्रभाव परिसकेको थियो । आजभन्दा ८६ वर्षअघि सन् १९२८ मा यहाँ क्रिकेटको सुरुआत भएको इतिहास पाइन्छ ।
त्यसबेला नेपालको शासन व्यवस्थामा हालिमुहाली चलाउनेहरू नै यसमा सामेल थिए । जनरल ब्रह्म शमशेरको बबरमहल र जनरल नरशमशेरको जावलाखेल टिमलाई पहिलो मानिन्छ । तात्कालिक समयमा सिंहदरबारबाट सुरु भएको नेपाली क्रिकेट धेरै चुनौती र अप्ठ्यारा पार गर्दै विश्वकपसम्मको यात्रामा पुगेको छ । घरेलु भूमिका क्रिकेट खेल्न सुरु गरेको २६ वर्षपछि नेपाली टिमले पहिलोपल्ट भारतमा गई क्रिकेट खेलेको थियो ।
नरशमशेरको नेतृत्वमा नेपाली टिमले पहिले पटना र त्यसपछि कोलकातामा प्रतिस्पर्धा गरेको थियो । अहिले नेपाली क्रिकेटले धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छ । नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय सम्बन्ध पनि धेरै लामो छैन । नेपालले क्रिकेट खेल्न थालेको लामो समयपछि मात्र आधिकारिक संस्थासँगको सम्बन्ध विस्तारमा जोड दिएको थियो । सन् १९९४ मा एसियन क्रिकेट काउन्सिलको सदस्यता लिएको नेपालले त्यसको दुई वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको एसोसिएट्स सदस्यको हैसियत प्राप्त गर्‍यो ।
एसोसिएट्स भएकै वर्ष नेपालले मलेसियामा सम्पन्न पहिलो एसीसी ट्रफीमा पनि सहभागिता जनायो । पहिलो अन्तर्राष्ट्रिय सहभागितासँगै नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्‍यो । पहिलो सहभागितापछि सन् १९९८ मा नेपालले एसियालीस्तरको प्रतियोगिता आयोजना गर्दै आफू अरूभन्दा कमजोर नरहेको सन्देश दियो । नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय सहभागिता जनाउन सुरु गरेको १८ वर्ष मात्र भएको छ ।
त्यसको सुरुआती दिनमै नेपाली क्रिकेटले सफलता पाउने विश्वास गरिएको थियो । त्यसमा नेपाल सफल पनि भयो । खेलकुदमा सफलता र असफलताबीच झीनो अन्तर मात्र हुन्छ । त्यही अन्तरलाई पार गर्न वर्षौं लाग्छ र मिहिनेत पनि धेरै लाग्छ । नेपाली खेलाडीको लामो परीक्षण र प्रशिक्षकको कुशल रणनीतिको फल अहिले देखिएको छ । अब नेपाल अन्तर्राष्ट्रिय क्रिकेटको प्रतिस्पर्धामा ओर्लिदा पुरानो टिम जस्तो रहने छैन ।
टिम उही, खेलाडी उनै, तर विश्वकप खेल्दाको अनुभवले खेलाडीलाई आत्मविश्वासी बनाउनेछ र चुनौतीलाई पूरा गर्न उनीहरू सक्षम हुनेछन् । अबदेखि नेपाली क्रिकेटलाई हेर्ने प्रतिद्वन्द्वी टिमको नजर फरक पर्ने पक्का छ । अब प्रतिद्वन्द्वीले नेपाललाई कमजोर आँक्ने छैनन् र विशेष रणनीति तयार गरेर मात्र मैदानमा ओर्लनेछन् ।

0 comments:

Post a Comment