Saturday, March 8, 2014

कसले बुझिदिने सीताको दुःख ?

photo
जनकपुर, फाल्गुन २४ - एघार वर्षदेखि घर नफर्केका पति अढाई वर्षदेखि साउदीको जेलमा छन् । कैद भुक्तान भएर पनि जरिवाना बुझाउन नसक्दा उनी छुटेनन् । कहिले छुट्ने, केही पत्तो छैन ।
धनुषा गोविन्दपुर ६, मंगलपुर निवासी सीताकुमारी यादवले ऋणधन गरेर बल्लतल्ल जेठी र माइली छोरीको विवाह गरिन् । २० वषर्ीया जेठी रीनाको 'रहस्यमय मृत्यु' ले उनका सारा खुसी खोसिए । पीडा लुकाउन खोज्दा पनि उनको गहमा आँसु लुक्दैन । साइली छोरी १० कक्षा पढ्दापढ्दै विद्यालय छुटाइन् । उनी आमालाई घरधन्दामा सघाउँछिन् । कान्छी ३ र एक छोरा २ कक्षा पढ्दैछन् ।
अधिकारका लागि यति बेला विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस धुमधामसाथ मनाइँदैछ । तर ३८ वषर्ीया सीताको घरअँागनमा कहिल्यै यो दिवस भित्रिएन । 'के हो र नारी दिवस, मलाई केही थाहा छैन,' पीडाको भुँमरीमा डुबेकी सीताले सुनाइन्,' श्रीमान्लाई फिर्ता, छोरी मार्नेलाई दण्ड, ऋण तिर्ने र छोराछोरी पढाउने भन्नेबाहेक मैले अरू बुझ्न सकेकी छैन ।'
परिवारको पालनपोषण र छोराछोरीको पढाइ अनि विवाहका लागि सजिलो होला भन्दै रामअयोधी यादव ११ वर्षअघि साउदी अरब हानिएका थिए । केही वर्ष दुःखसुख गर्दै अलिअलि पैसा पनि घर पठाए । साढे २ वर्षदेखि ग्यास सिलिनडर चोरी आरोपमा थुना परेपछि समस्या चुलिएको हो । 'छोराको छटियार -न्वारन) गरेर २५ दिनमा जानु भएको हो, अहिले जेलमा हुनुहन्छ, कहिले आउने पत्ता छैन,' सीताले सुनाइन्, 'अर्कै मान्छेले चोरीको आरोप लगाएर फसाइदियो, झिकाउन २ पटक काठमाडौं धाएँ तर केही उपाय लागेन ।'
साउदीको राजधानी रियादबाट करिब एक हजार किमि टाढा अल जोफा दोमा जेलमा रहेका उनी १५ हजार रियाल -करिब ३ लाख ९० हजार रुपैयाँ) जरिवाना तिर्न नसकेर अडि्कएका छन् । '५ कठ्ठा खेत बेचेको पैसा लिएर काठमान्डू गएँ तर जसरीतसरी पैसा पठाउँदा डुब्ला भनेपछि फर्किएँ, उनले भनिन्, 'त्यो पैसा छोरीहरूको विवाहको ऋण तिरेँ, अब ३ कठ्ठा खेत छ, त्यत्रो पैसा पैसा जुटाउँ ?'
जनकपुरबाट १५ किमि उत्तरपश्चिम धनुषाधामनजिकै मंगलपुरको सानो तरकारी पसलको आम्दानीबाट उनले परिवारको खर्च जुटाउँदै आएकी छन् । 'यो परिवारको पीडा भनिसक्नु छैन,' छिमेकी विन्देश्वर साहले भने, 'कसैको सहयोग पाए, कति खुसी हुन्थेँ होला । सीताको पीडा सुनेका कतारका पूर्व राजदूत सूर्यनाथ मिश्रले पनि सहयोग जुटाइदिन आग्रह गरे । पीडित परिवार र तिनका आफन्तले परराष्ट्र, कन्सुलर विभाग, वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड र विभागमा सम्पर्क गर्दा पनि कतैबाट केही नभएको उनले बताए । बोर्डका एक अधिकारीले परिवार गम्भीर समस्या भए पनि साउदीको मुद्दा प्रकृतिअनुसार रकम पठाउन नसकेको जनाए । ती अधिकारीको भनाइ छ, 'बरु दूतावासले कूटनीतिक पहल गरे सजिलो हुन्थ्यो ।'
यही क्षेत्रका सभासद आनन्दप्रसाद ढुंगानाले साउदी दूतावासका कर्मचारीले हुन्डी गरेर पैसा पठाइदिन भनेकाले पीडित परिवारलाई रोकेको बताए ।
'यसै त ठगिएर गएका छन्, हुन्डी गरेर पठाउँदा डुब्छ भनेर रोक्न लगायौं,' ढुंगानाले भने, 'पहिलादेखिको केस हो, अहिलेसम्म कतैबाट उद्धार नहुनु दुःखको कुरा भयो ।' साउदी अदालतले रामअयोधीलाई जेल सजायसहित २५ हजार ३ सय रियाल (करिब ६ लाख ५८ हजार) जरिवाना तोकेको थियो । जेल सजाय कति हो यकिन नभए पनि त्यो भुक्तान भइसकेको स्वयं रामअयोधी र रियादस्थित नेपाली दूतावासले जनाए । 'मेरो जेल त सकियो तर साहुलाई पैसा तिर्न नसकेर कुरिरहेको छु,' जेलबाट कान्तिपुरसँग उनले भने, 'साउदी आएदेखि घर जान पाएको छैन, के दशा लायो र यस्तोमा फसियो ।' अदालतले तोकेको जेल र जरिवानासहित दूतावासले रमादानको बेला त्यहाँका अमिरलाई पत्र पठाएको थियो । 'साहुले २५ हजार ३ सय रियाल जरिवानामा १० हजार ३ सय छुट गरे तर अमिरबाट आममाफीमा नपरेकाले उनी छुट्न सकेनन्,' राजदूत उदयराज पाण्डेले भने ।

0 comments:

Post a Comment