काठमाडौं, चैत्र २७ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सामान विमानसम्म लैजाने लोडरले लगेज फोरेर विदेशी मुद्रा चोरी गरेका छन् । एयर अरेबियाको उडानबाट शारजहा जान लागेका नेपाली यात्रु विश्वचन्द्र वादे श्रेष्ठको लगेज फोरेर ३ हजार २ सय ६० अमेरिकी डलर र दुई सय युरो चोरी भएको हो ।
उनले गन्तव्यमा पुगेपछि मात्र चोरीबारे थाहा पाएका थिए । त्यहाँबाटै उनले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धानका क्रममा उदयपुरका १९ वर्षीय रमेश मिरिनचिङ्गलाई पक्रेको छ । आजाद निर्माण सेवाबाट खटिएका उनले जहासम्म सामान पुर्याउने क्रममा बीचमै लगेज फोरेका थिए । विमानस्थल सुरक्षा प्रमुख नायब महानिरीक्षक (डीआईजीपी) यादव अधिकारीका अनुसार सीसीटीभी फुटेजमा पनि उनले चोरी गरेको दृश्य कैद छ । उनको साथबाट प्रहरीले चोरी भएको डलर र युरो बरामद गरेको छ । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ ।
0 comments:
Post a Comment