भतिज मारेको आरोप खेप्दै भत्केको घरमा
योगेश ढकाल
१० बैसाख, काठमाडौं । गोरखाको फुजेलमा अवस्थित तस्वीरमा देखिएको यो घर काठमाडौंमा अनशनरत अधिकारी दम्पतीले गरेको अन्यायको कथासँग जोडिएको छ । अधिकारी पयिरवारले आफ्नी माइली भाइबुहारी सीतालाई अंश भाग लगाएको घर हो यो । घर पनि के भन्नु ? एउटा मचान, ओत लाग्ने । तैपनि यो घर न खुशी मनले गरीखा भनेर छाडिएको हो, न त नामसारी नै गरिएको । वर्षामा पानी छल्दैन, जाडोमा सिरेटो ।
यही घरमा एकल महिला सीता अधिकारीका झन्डै १० वटा वर्ष बितेका छन् । लालाबाला यही घरमा नांगो आङमै हुर्किए । ज्ञानको उज्यालो क्षितिजमा रम्न पाएनन् । उमेर छँदै श्रीमानको निधन भयो । अन्ततः उनले नन्दप्रसादको सगोल घरबाट निकालिनुपर्यो । र, अहिले घरेलु हिंसा र विभेदले थिल्थिलो बनेकी यी अवला आफ्नो भतिज मरेको ज्यान मुद्दाको आरोप खेपिरहेकी छन् । अंशमा पाएको घर भत्किएपछि गाउँलेले अधिकारी दम्पतीको दोस्रो घरमा ताला फोरेर सीताको परिवारलार्इ आश्रय दिएका छन् ।
राजधानीमा मनवअधिकारकर्मी र नागरिक अगुवाहरुले अधिकारी दम्पतीका पक्षमा सडक तताएको धेरै भैसक्यो, तर तिनै अधिकारी दम्पतीको घरेलु हिंसा र अन्यायबाट पीडित सीताको पक्षमा बोलिदिने मानवअधिकारवादी अहिलेसम्म निस्किएका छैनन् ।
सीता अधिकारी वीर अस्पतालमा अनशनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीकी माइली भाइबुहारी हुन् । नन्दप्रसाद अधिकारी लामो समयदेखि आफ्नो कान्छो छोरा कृष्णप्रसाद अधिकारीका हत्यारालाई कारबाही गर् भन्दै अनशनमा छन् । नातामा साख्खै भाइबुहारी भए पनि नन्दप्रसादले सीतासहित ११ जनालाई छोरा कृष्णप्रसादको हत्यारा भन्दै किटानी जाहेरी दिएका छन् ।
पतिको निधनपछि बज्रपात
फुजेल गाउँमा छिन् एकल महिला सीता । उनले पढेकी छैनन् । चाउरी पर्न थालेका गाला, मैलो लुंगी र बुच्चो नाक कान उनको गरिबीको पहिचान हो । घर उनको थप पहिचान हो ।
फुजेलकै तिवारी गाउँमा जन्मिएकी हुन् ४० बर्षीया सीता । नन्दप्रसादका माइला भाइ कर्णप्रसाद अधिकारीसँग सानैमा मागी विवाह भएको हो उनको । ०५६ सालसम्म सुरुमा सगोलमै थिए सासू ससुरा, जेठाजु नन्दप्रसाद, देवर ठाकुरप्रसाद । विधिको विडम्बना, सीताका श्रीमान् अर्थात नन्दप्रसादका माइला भाइ कर्णप्रसादको गाउँमै रुखबाट लडेर निधन भयो ।
घर नजिकैको रुखबाट लडेका कर्णप्रसादको मेरुदण्ड भाँचिएको थियो । ३ महिना उपचार गर्दा पनि ठीक भएन । ०५६ साल मंसिर ७ गते उनको निधन भयो । हो, त्यही दिनदेखि सीताको जीवनमा सूर्यग्रहण लाग्न थाल्यो । दुःखका पहाडहरुले थिच्न थाले । त्यतिले नपुगेर आफ्नै छोरो समानको भतिज मारेको अभियोग खेप्नु परिरहेको छ उनले ।
श्रीमान्को निधनपछि नन्दप्रसाद र सासू ससुराले सीतालाई घरबाट निकाले । सीताका काखमा ३ टुहुरा छोरीहरु थिए । घरबाट निकालिएपछि न खाने अन्न थियो, न ओत लाग्ने टहरो । गाउँले र छरछिमेकीले मूलघरको छेऊकै भत्केको मचानमा बस्ने वातावरण मिलाए ।
नन्दप्रसाद र उनका बाबु धनप्रसादले त अंश दिन मानेका थिएनन् । गाउँले दबावमा त्यस्तै ३ मुरीजति मकै फल्ने बारी र ४ मुरीजति धान फल्ने खेत अंशका नाममा दिन बाध्य भए । ०५६ सालको अन्त्यतिर उनले अंशको नाममा यति जग्गा त पाइन् तर अहिलेसम्म नामसारी भएको छैन । पाउनुपर्ने जति अंश पनि पाएकी छैनन् ।
सीतालाई घरबाट निकाल्नु अगाडि चितवनको जयमंगलामा जग्गा पनि किनेका थिए ससुराले । त्यसैगरी, काठमाडौमा घडेरी किन्ने भनेर ससुरा धनप्रसादले ६० हजार रुपैयां पनि लिएका थिए । त्यसलाई जीउनी बताइयो ।
सीताका अनुसार अंश दिने प्रसंग आउना साथ यी दुबै घटना गुपचुप राखिन्थ्यो । तर, जसरी पनि सीतालाई घरबाट निकाल्नुपर्छ भन्नेमा भने एकमत थिए परिवारका सबै सदस्य ।
नन्दप्रसादको सगोल परिवारले घरमुनिको जग्गा बेचे । गाउँकै रामप्रसाद अधिकारीले ४० हजार रुपैयाँमा खरिद गरे चर्को अंश विवादका वीचमा । खासमा सीताले पाउनुपर्ने अंश कति हो त ? अहिलेसम्म सीतालाई थाहा छैन । ‘तीन दाजुभाइलाई अंश लगाउँदा तीन भाग बराबर एक भाग पाउनुपर्ने हो, त्यति अंश पाएकी छैन । गाउँलेको सहयोगमा गरीखान थोरै जग्ग्गा दिएका छन्, अधिकार केही पनि पाएको छैन’ सीताले भनिन् ‘तीन छोरी पाल्नै गाह्रो भएकाले पढाउन पनि सकिँन ।’ बाबुको निधन हँुदा १४ बर्षकी जेठी छोरीको सानैमा विवाह भइसक्यो ।
सगोलमा हुँदा नै चितवनमा जग्गा किनेका हुन् अधिकारी परिवारले । चितवनको जयमंगलाको जग्गामा सासू र कान्छो देवर ठाकुरप्रसाद बस्दै आएका छन् । नन्दप्रसादले फुजेलको जग्गामध्ये कित्ता नम्बर ५३३ मा ५ रोपनी २ आना, १ पैसा २ दाम ,कित्ता नम्बर ९५५ मा २ रोपनी ११ आना १ पैसा ३ दाम, कित्ता नम्बर १०१४ मा २ रोपनी १० आना १ दाम र कित्ता नम्बर ६२४ मा १६ रोपनी १४ आना २ पैसा २ दाम जग्गा लिएका छन् । तर, सीतालाई केही पनि दिएका छैनन् ।
झन्डै दुई बर्ष पहिला नन्दप्रसादका बाबु अर्थात सीताका ससुरा धनप्रसाद अधिकारीको चितवनमा निधन भयो । सीता काजक्रियाका लागि चितवन झरिन् । तर, त्यहाँ सीतालाई काजक्रिया गर्न दिएनन् सासूदेखि देवरसम्मले । उनी काजक्रियामा एक्लै बसिन् । एक्लै पकाएर खाइन् । ०५६ सालबाट अंश नै नदिई घरबाट छुट्टभिन्न भएकी सीतालाई ०६१ सालमा कृष्णको हत्यामा संलग्न भएको आरोप नन्दप्रसाद र उनका छोरा नुरप्रसादले उजुरी दिएका छन् ।
शत्रु खोज्नु छ भने आफ्नै दाजुभाइलाई हेर्नु भन्छन् । सीताको जीवनमा त्यही आपत आइलाग्यो । फुजेलभन्दा परको भूगोल थाहा नपाएकी सीतालाई चितवनको बकुलहरको हत्या प्रकरणमा तानिएको छ । अंश माग्नुको परिणति पीडित एकल महिलाले यसरी भोगिरहेकी छिन् ।
छोराको हत्याबाट अधिकारी दम्पतीलाई पक्कै पीडा भएकै होला । तर, आफ्नो छोराजस्तै अवला र टुहुरा बनेका आफ्नै भाइका छोरी र विधवामाथि उनीहरुले गरेको अपमानका कारण सीता र तिनका छोरीहरु जिउँदै मरेतुल्य बनाइएका छन् । कम पीडादायी छैन अधिकारी दम्पतीले एउटी विधवा र टुहुराहरुमाथि गरेको हिंसा । आखिर हिंसा भनेको मान्छे मार्नु मात्रै पनि त हैन । घरेलु हिंसाको प्रमाण हुन् सीता ।
सीता आफ्नो मनको वह यसरी पोख्छिन्-

उहाँहरु तीन दाजुभाइ हो । श्रीमानको निधनपछि मलाई छुट्याइदिनुभयो । त्योभन्दा पहिला छुट्भिन्न भएका थिएनौं । जेठाजु नन्दप्रसादले केही जग्गा लिनुभएको थियो । तर मलाई अंश नदिई निकाल्नुभयो ।
कसरी नानी पाल्ने भन्ने गाहो भयो । त्यतिबेला गाउँले र छरछिमेकले अंश दिनुपर्छ भन्नुभयो । त्यही कारणले मलाई अहिले हत्याको आरोप लागेको हो ।
कृष्णप्रसादको हत्या भएको देखेको सुनेको केही होइन । मेरो घर उहाँको भन्दा तल छ । आउनेजाने थिएन र बोलचाल पनि राम्रो थिएन । मेरा दाइले बहिनीले अंश पाउनुपर्छ भनेर बोल्दिनाले दाइ विष्णु तिवारीलाई पनि ज्यान मुद्दा हालेका छन् । मलाई अंश दिनुपर्यो भनेर पुरै गाउँलेलाई ज्यान मुद्दा हालेका छन् ।
0 comments:
Post a Comment