पिसाब फेर्न नपाउँदा पथ्थरीबाट पीडित
थापाथली ट्राफिक प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक -असई) राधिका विकका अनुसार सडकमा सवारी व्यवस्थापना गर्न छ-सात घन्टा उभिनुपर्दा पहिलो समस्या भनेको शौचालय जाने नै हुन्छ । शौचालय जान नपाएर छटपटिँदै ड्युटीमा खट्दा उनलाई पत्थरीको समस्या भइरहेको छ ।
‘उभिएर हिलो, धुलो र पानीमा ड्युटी गर्नुपर्ने अनि पिसाब र दिसा लाग्दा पनि शौचालय जान नपाउँदा ठूलो पीडा भइरहन्छ,’ असई विकले भनिन्, ‘उपत्यकामा बढेको सहरीकरण र सडक भत्काउने तथा बनाउने क्रममा पुरुषभन्दा महिला ट्राफिक प्रहरी बढी समस्या भोग्न बाध्य भइरहेका छन् ।’
पुरुष ट्राफिकलाई भने सडकमा खट्दा आसपासका पसल, होटलमा गएर शौचालय प्रयोग गर्न समस्या नहुने महिला ट्राफिकको भनाइ छ । महिला ट्राफिकलाई महिनावारी भएको समयमा पनि कुनै सुविधा छैन । उनीहरूले दैनिक ड्युटी गर्नैपर्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा कार्यरत ट्राफिक प्रहरी निरीक्षक -इन्स्पेक्टर) चञ्चल श्रेष्ठ भन्छिन्, ‘महिलालाई घरमै शौचालय जान त पालो पर्खनुपर्छ भने सडकमा सहजैरूपमा शौचालय प्रयोग गर्न सक्ने अवस्था नै रहन्न ।’ उनले महिला ट्राफिकले समयमा शौचालय जान नपाएका कारण केहीलाई पत्थरी भएको बताइन् ।
प्रहरी अस्पतालमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक डा. आशा सिंहका अनुसार महिलाले लामो समय पिसाब नफेर्दा इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ । पिसाब क्लियर नभएकै कारण पछि किड्नी फेल हुने, पत्थरीजस्ता रोग लाग्न सक्ने डा. सिंहको भनाइ छ ।
महाशाखामा निरीक्षकदेखि परिचरसम्म मात्रै महिला छन् । इन्स्पेक्टर श्रेष्ठले आफूभन्दा तल्लो दर्जाका महिला ट्राफिकलाई पर्ने समस्या उनीहरूले राखेको समयमा माथिल्लो दर्जाका अधिकृतसम्म पुर्याउने र सेवा तथा सुविधा दिने गरेको बताइन् ।
महिलालाई सुत्केरी हुँदा दुई महिना बिदाको सुविधा हुन्छ । त्यसबाहेक उनीहरुलाई कुनै सुविधा छैन । पुरुष र महिलाका सेवा र सुविधा समान भएकाले ड्युटी पनि समान नै गर्नुपर्ने हुन्छ । शारीरिक अशक्तता भएमा मात्र उनीहरूलाई थप सुविधा दिने गरेको महाशाखा जनाउँछ ।
यातायात व्यवस्था विभागका अनुसार उपत्यकामा सात लाखको हाराहारीमा सवारीसाधन गुड्छन् । ती सवारीसाधन व्यवस्थित सञ्चालन गर्न एक हजार एक सयको सङ्ख्यामा ट्राफिक प्रहरी कार्यरत छन् । तीमध्ये पुग-नपुग एक सयको सङ्ख्यामा महिला ट्राफिक छन् ।
कुल दरबन्दीको १० प्रतिशत बिदामा बस्ने, तालिममा जाने र सरुवा तथा काजका कारण महाशाखामा दैनिक झन्डै आठ सयको सङ्ख्यामा मात्र ट्राफिक कार्यरत रहन्छन् ।
ठूलो सङ्ख्यामा चल्ने सवारीसाधनलई व्यवस्थित सञ्चालन, नियमन र नियन्त्रण गर्न सीमित ट्राफिक भएका कारण महिलालाई पनि चाहेर कुनै सुविधा दिन नसकेको महाशाखाका अधिकृतहरूको भनाइ छ ।
थापाथलीको ट्राफिक प्रभाग महिला मात्रले सञ्चालन गरेका छन् । उनीहरूको कामको चौतर्फी प्रशंसा हुने गरेको छ । नियमविपरीत सवारी चलाउनेलाई पुरुष ट्राफिकले छुट दिने गरे पनि महिलाले नदिने गरेकाले उनीहरूको कामप्रति महाशाखाले प्रशंसा गर्दै आएको छ । कामप्रतिको जिम्मेवारीबोधका कारण महिला ट्राफिक बढी सचेत हुने गरेको ट्राफिकका उच्च अधिकारीको बुझाइ छ ।
सडकमा महिला उभिएर सवारीसाधन व्यवस्थित गर्दा केही पुरुष चालकले भने महिला भएकै कारण जिस्क्याउने गरेको भए पनि अहिले कम भएको एक ट्राफिक बताउँछिन् । ‘जिस्क्याउने चलन विगतमा थियो, अहिले त्यस्तो छैन ।’ ती महिला ट्राफिकका अनुसार बरु कुनै न कुनै समयमा कारबाहीमा परिने भयले पुरुष चालकहरु महिला ट्राफिकमाथि अभद्र व्यवहार गर्न सक्दैनन् । महिला प्रहरीले पुरुष ट्राफिकको जस्तो अभद्र शब्द नबोल्ने र चालकप्रति उचित एवं नम्र भाषामा आफ्ना कुरा राख्ने गरेको महिला ट्राफिक प्रहरीको दाबी छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीमा ६७ हजार दुई सय ८७ जनशक्ति छ । त्योमध्ये चार हजार एक सय ३२ महिला प्रहरी छन् । वरिष्ठ उपरीक्षक चार, उपरीक्षक तीन, नायव उपरीक्षक १४, निरीक्षक ४६, नायव निरीक्षक एक सय ५७, सहायक निरीक्षक दुई सय ४३, हवल्दार ६ सय २५, जवान दुई हजार आठ सय ४८ र परिचर एक सय ८३ महिला छन् ।
देशभर ट्राफिकमा प्रहरी उपरीक्षक एक, प्रहरी निरीक्षक एक, प्रहरी नायव निरीक्षक दुई, प्रहरी सहायक निरीक्षक आठ, प्रहरी हवल्दार १४, प्रहरी जवान एक सय २७ र प्रहरी परिचर दुईजना गरी एक सय ५५ जना छन् । काठमाडौं उपत्यकामा प्रहरी निरीक्षक एक, प्रहरी नायव निरीक्षक एक, प्रहरी सहायक निरीक्षक ६, प्रहरी हवल्दार नौ, प्रहरी जवान ७२ र परिचर एक गरी ९० जना छन् ।
महिला भएकै कारण ड्युटी समय कम गर्न नमिल्ने भन्दै ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक -एसपी) वसन्त पन्त सेवा र सुविधा समान भएका कारण काम पनि समान गर्नुपर्ने बताउँछन् । उनले भने, ‘महिलालाई काम कम लगाउने हो भने पुरुष ट्राफिकबाट विरोध आउँछ, त्यसैले मानवीय संवेदना भएर पनि आफूहरूले असमान व्यवहार गर्न मिल्दैन ।’
शारीरिक अक्षमता, बिरामी, सुत्केरीको समयमा भने सकेसम्म सडकको ड्युटीलाई टेबुलवर्कमा ल्याउने गरेको पन्त बताउँछन् ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक -एसएसपी) गणेश केसीका अनुसार जनसङ्ख्या वृद्धिको तुलनामा दरबन्दी थप गर्न नसक्नु नै समस्या भइरहेको छ । ट्राफिकमा सवारीको चाप वृद्धिअनुसार दरबन्दी थप गर्न सकेमा महिला ट्राफिकलाई केही सहजता दिन सकिने प्रवक्ता एसपी केसीको भनाइ छ ।






0 comments:
Post a Comment