
बाइजीस्थित तेल प्रशोधन केन्द्रमाथि नियन्त्रण कायम गर्न भीषण लडाईं भैरहेको बताइएको छ
उत्तरी इराकमा ठूलो भूभागमा नियन्त्रण जमाएका सुन्नी उग्रवादीहरु विरुद्ध शक्ति प्रदर्शन गर्ने उद्देश्यले हातहतियार बोकेका हजारौं शिया मिलिसियाहरुले राजधानी बगदाद तथा अन्य शहरहरुमा प्रदर्शन गरेका छन्।
चरमपन्थी शिया धर्मगुरु मोक्तदा अल सद्रका समर्थकहरुले उग्रवादीहरुसंग लडन अमेरिकी सैन्य बोलाउने प्रस्तावको भने विरोध गरेका छन्।
शक्तिशाली धर्मगुरु मोक्तदा अल सद्रका हजारौं सशस्त्र मिलिसियाहरुले राजधानी बगदादका सडकहरुमा परेड गर्दा भीडन्तहरु जारी रहेको इराकमा साम्प्रदायिक तनाव अरु बढेको छ।
उनको मेहदी सेनाले बर्षौंसम्म इराकस्थित अमेरिकी सेनासंग भीडन्त गरेको थियो।
सन्देश
"यो परेडको उद्देश्य इराकी जनताका शत्रु तथा आतँककारीहरुलाई इमाम अल महदी सेनाका हामी सदस्यहरुको तर्फबाट एक सन्देश पठाउने हो"
अकील अल बहादिली, बासरामा आयोजित -यालीका एकजना आयोजक
दक्षिणी शहर बासरामा आयोजित -यालीका एकजना आयोजक अकील अल बहादिलीले सो परेडको उद्देश्य, उनकै शब्दमा, इराकी जनताका शत्रु तथा आतँककारीहरुलाई इमाम अल महदी सेनाका हामी सदस्यहरुको तर्फबाट एक सन्देश पठाउने रहेको बताए।
किर्कुक शहरमा मोक्तदा अल सद्रका एकजना प्रतिनिधि राद अल साखरीले भने, "हामी महदी सेनाका तपाईं सबै सदस्यहरुलाई यो प्यारो मुलुकको रक्षा गर्नकालाथि आत्म बलिदान गर्न तयार रहन आग्रह गर्दछौं।"
उत्तरी इराकमा रहेको बीबीसीका जीम म्युर भन्छन्, उग्रवादीहरु विरुद्धको अभियानमा पुरै देशलाई एकजुट पार्न सरकारमाथि दबाब बढिरहेका बेला सैनिक पोशाकमा हातहतियार सहित गरिएको यस्तो प्रदर्शनले साम्प्रदायिक तनाव अरु बढाउन सक्छ।
यसैबीच उत्तरी इराकमा भीडन्त गरिरहेका सुन्नी जिहादीहरुले भनेका छन्, उनीहरुले सिरियाको सीमावर्ती शहर अल काइममाथि कब्जा जमाएका छन्।
अल काइम एउटा महत्वपूर्ण सीमा नाका हो, जहाँबाट आइएसआइएस लडाकुहरु उनीहरुको नियन्त्रणमा रहेको सिरिया तथा इराकी भूभागमा भारी हातहतियार ओसार पसार गर्न सक्छन्।
उक्त समूहले रावा नगरमाथि पनि नियन्त्रण जमाएको बताएको छ।
लडाईं
उसले इराकको सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र रहेकेा बाइजीमा भीषण लडाईं भैरहेको र आफुहरुले दुई वटा सरकारी हेलिकोप्टरलाई खसाली दिएको पनि जनाएको छ।
गत एघार दिनमा आइएसआइएस सम्बद्ध बन्दुकधारीहरुले इराकका मुख्य शहरहरुमा नियन्त्रण जमाएका छन्।
दक्षिण इराकका हजारौं शिया धर्मावलम्वीहहरु इराकको राष्ट्रिय सेनालाई सहयोग पुराउन स्वंयसेवक बनेका छन्।
शिया लडाकुहरुलाई अहिले युद्धमैदान बनिरहेको दियाला प्रान्तको राजधानीको सुरक्षाका लागि र समर्रा शहर नजिकै रहेको एउटा मुख्य शिया धार्मिक स्थल संरक्षणका लागि पठाइएको बताइएको छ।
संयुक्त राष्ट्र संघले इराकमा जारी हिंसाका कारण देशभित्रै झण्डै दशलाख मानिसहरु विस्थापित भएको अनुमान गरेको छ।
इस्लामवादी आइएसआइएस लडाकुहरुले गत साता नियन्त्रणमा लिएको इराकको दोश्रो ठूलो शहर मोसुलबाट मात्रै झण्डै पाँचलाख मानिसहरु विस्थापित भएको बताइएको छ।
0 comments:
Post a Comment