भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेको ठिक दुई महिनापछि उनका वरिष्ठ कुटनीतिज्ञले शुक्रबारदेखि तीनदिन नेपाल भ्रमण गर्दैछिन्।
गत २३ वर्षयता पहिलोपटक हुन लागेको दुई देशको परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन विदेश मन्त्री सुष्मा स्वराज शुक्रबार सांझ काठमाण्डौं आइपुग्दैछिन्।
उनको भ्रमणको दश दिनपछि मोदीकोपनि भ्रमण हुने तय भएको अधिकारीहरुले बताएका छन्।
शुक्रबार बेलुकी काठमाण्डौं ओर्लिने मन्त्री स्वराजले आईतबार स्वदेश फर्कनु अघि निकै व्यस्ततापूर्ण समय विताउनु पर्नेछ।
संयुक्त आयोग
शनिबार 'जोइन्ट कमिशन' भनिने संयुक्त आयोगको बैठक बस्नेछ।
जसको जिम्मामा नेपाल र भारतबीच रहेका लगभग, लगभग सबै पाटोको छलफल गर्नु रहेको छ।
दिल्लीमा पत्रकारहरुलाई भ्रमणबारे जानकारी गराउने क्रममा भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैयद अकबरुद्दिनले यो भ्रमणले भारतको नयाँ सरकारले छरछिमेकलाई प्राथमिकता दिएको रुपमा बुझ्नुपर्ने बताएका छन्।
उनी भन्छन्, "विदेशमन्त्रीको स्तरमा मन्त्री स्वराजको यो दोस्रो भ्रमण हो छिमेकमा। यसभन्दा ठिक एक महिना अघि उनी बंग्लादेश गएकी थिइन्। भारतले आफ्नो छिमेकमा कति महत्व दिएको छ भन्ने यसले तपाईंहरुलाई पक्कै केही संकेत दिनेछ।"
"विदेशमन्त्रीको स्तरमा मन्त्री स्वराजको यो दोस्रो भ्रमण हो छिमेकमा। यसभन्दा ठिक एक महिना अघि उनी बंग्लादेश गएकी थिइन्। भारतले आफ्नो छिमेकमा कति महत्व दिएको छ भन्ने यसले तपाईंहरुलाई पक्कै केही संकेत दिनेछ"
सैयद अकबरुद्धिन, प्रवक्ता, भारतीय विदेश मन्त्रालय
संयुक्त आयोगमा हुने छलफललाई पाँचवटा क्लष्टर वा खण्डमा छुट्ट्याई त्यसै अनुसार बैठक गरिने बताइएको छ।
ठोस उपलब्धी
पहिलो खण्ड अन्तर्गत राजनीति, सुरक्षा र सीमाका विषयमा छलफल गरिनेछन्। दोस्रो अन्तर्गत आर्थिक सहयोग र संरचना विकास। तेस्रोमा व्यापार र पारवहन। चौथोमा उर्जा तथा जलस्रोत अनि पाँचौंमा संस्कृति, शिक्षा र मिडियाका विषयमा कुराकानी गरिनेछन्।
सुष्मा स्वराजको भ्रमणताका ठोस उपलब्धि हुने दुवै देशका अधिकारीहरुले बताएका छन्। तर त्यसबारे कसैले प्रष्ट बताएका भने छैनन्।
परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले छलफल खासगरी विगतमा सहमति भइसकेका आयोजनाहरुको कार्यान्वयनमा केन्द्रित हुने तर छलफलका दौरान कुनै नयाँ सहमतिमा हस्ताक्षर हुनपनि सक्ने बताएका छन्।
संयुक्त आयोगको बैठकका अतिरिक्त मन्त्री स्वराजले काठमाण्डौंमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री देखि लिएर सबै मुख्य दलका वरिष्ठ नेताहरुसंग भेट्ने कार्यक्रम छ।
0 comments:
Post a Comment