१० फागुन, काठमाडौं । जिल्ला अदालत काभ्रेको फैसलाअनुसार उनी जीउ मास्ने बेच्ने अभियोगमा नौ वर्ष २७ दिनको कैद फैसला पाएका व्यक्ति हुन् । जिल्ला अदालत काभ्रेले २०४२ सालमै सजाय सुनाए पनि उनी भने घरपरिवार र समाजमा निर्धक्कसँग हिँडिरहेका थिए । कारण, उनीमाथि अदालतले सजाय सुनाएको कुरा उनीबाहेक कसैलाई थाहा थिएन ।
रबिओपी–८ का चन्द्रबहादुर मिजार (सार्की) करिब २९ वर्षसम्म घरपरिवार, छिमेकी, समाज, प्रहरी सबैको आँखामा छारो हाल्न सफल भए । तर, समय सधैं एकैनासको कहाँ हुँदो रहेछ र ? तिनै चन्द्रबहादुर जीउ मास्नेबेच्ने अभियोगमा अहिले पक्राउ परेका छन् । उनीमाथि २९ वर्षअघि नै अदालतले सजाय सुनाइसकेको कुरा सुन्दा अहिले उनलाई चिन्नेजान्ने सबै छक्क परेका छन् ।
जिल्ला अदालत काभ्रेले २०४२ साल वैशाखमा श्रीमतीलाई बेचेको भन्दै उनीमाथि जीउ मास्ने उद्योगमा फैसला सुनाएको थियो । तर, उनी जन्मस्थान बदली अर्कै ठाउँमा बस्दै आएका थिए ।
इलाका प्रहरी कार्यालय बनेपा काभ्रेले ‘क्रिमिनल सर्च’ अभियान बनाएर चन्द्रबहादुरसहित फरार २० अभियुक्तलाई नियन्त्रणमा लिएको हो । ‘२०४० सालमै मुद्दा दायर भएको रहेछ, गम्भीर अपराध भएकाले अलिक मेहेनत गर्दा पक्रन सफल भयौं,’ इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक अच्यूत चापागाईंले भने ।
बाटोमा हिँडिरहेका बेला रबिओपी–५ बाट पक्राउ परेका चन्द्रबहादुरमाथि २०४० सालमा गाउँकै एक युवतीलाई विवाह गर्ने भन्दै भारतमा लगेर बेचेको प्रहरीको आँकडामा उल्लेख छ । पछि तिनै युवतीले दिएको जाहेरीका आधारमा जिल्ला अदालतले उनलाई नौ वर्ष २७ दिन कैद सजाय सुनाएको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको तथ्यांकमा जिल्ला अदालतले फैसला गरेका १ हजार हाराहारीमा फरार अभियुक्तहरू रहेका छन् । तर, प्रहरीको सक्रियतामा चेलीबेटी बेचबिखनमा सजाय सुनाएर २९ वर्षसम्म लुक्न सफल व्यक्ति पक्राउ गरेको भने यो पहिलो घटना भएको राजधानी दैनिकमा खबर छ ।
इलाका प्रहरी कार्यालय काभ्रेले एक सातामा २० फरार अभियुक्त पक्राउ गरेर जिल्ला कारागार चलान गरेको हो । विशेष अदालतले भ्रष्टाचार गरेको भन्दै एक वर्ष ११ महिना १२ दिनको सजाय सुनाएका बनेपा–१० का केदारप्रसाद पलान्चोकेलाई १० वर्षपछि नियन्त्रणमा लिन पनि प्रहरी सफल भएको छ । २ चैत २०६० मा विशेष अदालत काठमाडौंले पलाञ्चोकेको स्रोत नखुलेको सम्पत्तिलाई भ्रष्टाचार ठहर गरेको थियो ।
प्रहरीले एक साताको विशेष अभियानमा सवारी ज्यानमा फैसला सुनाएका जनागाल–१ का भरतबहादुर थापालाई पनि पक्राउ गरेको छ । चितवनमा सवारी दुर्घटना गराई फरार रहेका नासिकास्थान–१ का लालबहादुर थापालाई एक वर्ष ११ महिना दुई दिनको फैसला गरेको र फरार अवस्थामा रहेकाले कारागार पठाएको हो ।
प्रहरीले वनदेखि फौजदारी अभियोग र देवानी मुद्दामा १ हजारभन्दा धेरै फरार रहेको उनीहरूलाई खोजी गर्दा पुराना मुद्दामा अभियुक्तलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बनेपाले एक सातामा फरार रहेका २० प्रतिवादीलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा पेस गरेको छ । प्रहरीको सक्रियतामा नियन्त्रणमा लिएका चारजनालाई कारागार चलान गर्दै प्रहरीले १३ वर्ष ११ महिना २६ दिन कैद तथा ३२ हजार ५ रुपैयाँ नगद असुली गर्न सफल भएको हो । सम्मानित जिल्ला अदालत काभ्रेले नौ वर्ष २७ दिन कैद भुक्तान गराउने अभियुक्त मात्रै नभएर २०६४ कात्तिक २७ मा जालसाजी मुद्दामा बनेपा–१० की रेजिना वैद्यलाई १० रुपैयाँ जरिवानासमेत भराएको छ । प्रहरीले पक्राउ गरेका नौ अभियुक्त देवानी मुद्दाका रहेका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
0 comments:
Post a Comment