Thursday, February 27, 2014

एमाओवादीमा अन्तरघात, आठ लाख लिएर मत बिक्री

Nepal-Election-12013-onlinekhabar१६ फागुन, काठमाडौं ।दोस्रो संविधानसभा निर्वाचनमा एमाओवादीकी उम्मेदवार सन्तोषी पाण्डेयले आफ्ना मतदाताको भोट आठ लाख रुपैयाँ लिएर कांग्रेस उम्मेदवार सुरेन्द्र आचार्यलाई बेचिन्। आचार्य सात हजार नौ सय मत ल्याएर विजयी भए भने पाण्डेयले एक हजार पनि कटाइनन्। संविधानसभा निर्वाचनमा भएको अन्तर्घात छानबिन गर्न पार्टीद्वारा गठित समितिमा पाण्डेयउपर यस्तो उजुरी परेको छ।
एमाओवादीको अबध राज्य समितिकी सदस्य पाण्डेय र कांग्रेसका आचार्य दुवै कपिलवस्तु ४ का उम्मेदवार थिए। सात सय ८६ मत पाएर पराजय भोगेको नतिजा सार्वजनिक भएपछि ४४ वर्षीया पाण्डेयले खसी काटेर आफ्ना नेता र कार्यकर्तालाई भोजसमेत खुवाइन्। कपिलवस्तुमा समानुपातिकतर्फ खसेको ४५ हजार नौ सय ५४ मतमध्ये एमाओवादीले पाँच हजार दुई सय १४ मतमात्र प्राप्त गरेको थियो।
अन्तर्घातका यस्ता प्रकृतिका अन्य उजुरी पनि समितिमा परेका छन्। समितिले बिहीबारदेखि केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमाथि अध्ययन थालेको छ। तोकिएको अन्तिम दिन बिहीबारसम्म परेका उजुरीका आधारमा अन्तरघात छानबिन समितिले घात गर्नेलाई कारबाहीको सिफारिस गर्नेछ। उजुरी केलाउन बसेको समितिको बैठकमा सहभागी नेता आफैं आश्चर्यचकित भएका छन्।
‘पैसा खाएको र पैसा लिएको देखेको जस्ता गम्भीर प्रकृतिका उजुरी परेका छन्’, समितिका संयोजक हरिबोल गजुरेलले अन्नपूर्णसँग भने, ‘गर्नै नहुने खालका अन्तरघातका उजुरी पनि छन्।’ निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई पराजित गराउन विपक्षी राजनीतिक दलबाट पैसा लिएर अन्तरघात गरेका उजुरीलाई एमाओवादीले छानबिन दायरामा ल्याएको अन्नपूर्ण पोस्टमा खबर छ ।
निर्वाचनमा उम्मेदवारी दिने बेलादेखिका असन्तुष्टिका कारण गरिएका अन्तरघात र बिनाकारण अन्तरघात गरिएको आधारमा उजुरी वर्गीकरण गरिने गजुरेलले बताए। उनले भने, ‘प्राथमिकताका आधारमा अन्तरघातको प्रकृति वर्गीकरण गरेर छानबिन अघि बढाउँछौं।’
उनका अनुसार उम्मेदवार मात्रै होइन, उम्मेदवार सिफारिस गर्ने निकाय पनि त्यत्तिकै भ्रष्ट देखिएको उजुरी पनि परेका छन्। तराई मधेसमा उम्मेदवारी आफ्नो पक्षमा पार्न सिफारिस गर्ने जिल्ला र राज्यका नेतालाई पैसा दिएका र मोटरसाइकल किनिदिएका उजुरी पनि एमाओवादी मुख्यालयमा परेका छन्। ‘तराई मधेसमा बढी अन्तरघात भएका उजुरी आएका छन्’, गजुरेलले भने, ‘ती उजुरीलाई हामीले गम्भीर रूपमा लिएका छौं।’
स्रोतका अनुसार कपिलवस्तु ५ बाट उम्मेदवार बनेका ४५ वर्षीय जावेदआलम खाँले उम्मेदवारी सिफारिस गर्ने नेतालाई मोटरसाइकल र पैसा उपलब्ध गराएको उजुरी पनि परेको छ। खाँले एक हजार तीन सय २२ मत प्राप्त गरेका थिए।

0 comments:

Post a Comment